२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

डेढ वर्षपछि सम्मान

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल एथलेटिक्स संघले प्रतियोगिता सकिएको डेढ वर्षपछि १३ औं दक्षिण एसियाली खेलकुदका पदक विजेता आफ्ना ८ खेलाडीलाई नगदसहित सम्मान गरेको छ । साग सकिएलगत्तै संघले खेलाडीलाई नगद पुरस्कार घोषणा गरेको थियो ।

डेढ वर्षपछि सम्मान

सागमा एथलेटिक्सले ३ स्वर्ण, १ रजत र ४ कांस्य जितेको थियो । संघले स्वर्ण विजेतालाई जनही ३ लाख, रजत विजेतालाई ३५ हजार र कांस्य विजेतालाई जनही २० हजार नगदसहित सम्मान गरेको हो । स्वर्ण विजेतालाई अध्यक्ष राजीवविक्रम शाहको तर्फबाट र अन्यलाई संघको तर्फबाट सम्मान गरिएको हो । शाहले सागअघि नै एथलेटिक्स खेलाडीले स्वर्ण जितेमा १ लाख प्रोत्साहन पुरस्कार दिने घोषणा गरेका थिए ।

सागमा गोपीचन्द्र पार्कीले ५ हजार मिटर, सन्तोषी श्रेष्ठले १० हजार मिटर र किरणसिंह बोगटीले पुरुष म्याराथनमा स्वर्ण जितेका थिए । महिला म्याराथनमा पुष्पा भण्डारीले रजत जितेकी थिइन् । सोमबहादुर कुमालले ८ सय मिटर, हरिकुमार रिमालले ५ हजार मिटर, दीपक अधिकारीले १० हजार मिटर र टंक कार्कीले १५ सय मिटर दौडमा कांस्य पदक जितेका थिए ।

एथलेटिक्सका अध्यक्ष शाह, राष्ट्रिय खेलकुद परिषद (राखेप) निमित्त सदस्यसचिव एकेन्द्र कुँवर, वाग्मती प्रदेश सदस्यसचिव सूर्य भण्डारीलगायतले खेलाडीलाई पुरस्कार वितरण गरे । कार्यक्रममा भारतमा हुने १९ औं फेडेरेसन कप जुनियर (यू–२०) एथलेटिक्सका प्रतिस्पर्धा धावक अजितकुमार यादवलाई बिदाइ गरिएको थियो ।

प्रकाशित : श्रावण १२, २०७८ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?