कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अजितको उत्साह

कुशल तिमल्सिना

काठमाडौँ — कीर्तिमानी युवा धावक अजितकुमार यादव अन्तर्राष्ट्रिय ट्य्राकमा फर्कने तयारीमा जुटेका छन् । उनले प्राणघातक हेपाटाइटिस ‘बी’ रोगविरुद्धको लडाइँ जितेर ट्य्राकमा फर्किएका हुन् ।

अजितको उत्साह

उनले हङकङमा सम्पन्न एसियन जुनियर एथलेटिक्स च्याम्पियनसिपमा ३ हजार मिटर दौडमा स्वर्ण जितेर कीर्तिमान रचेका थिए । त्यसपछि हेपाटाइटिस ‘बी’ को संक्रमण हुँदा अजितले आफ्नै भूमिमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) नै गुमाउनुपर्‍यो ।

साग छनोटका क्रममा अजितलाई हेपाटाइटिस ‘बी’ समस्या देखिएको थियो । ‘तीन महिना त मैले पूर्ण आराम गर्नुपर्‍यो । त्यसयता रोग बल्झिएको छैन । डाक्टरले पनि अब दोहोरिएर देखिँदैन भन्नुभएको छ,’ उनले कान्तिपुरसँग भने, ‘रोगलाई जितेर मैले पाँचवटा प्रतियोगिता जितिसकेको छु । पहिलोपल्ट अब अन्तर्राष्ट्रिय प्रतियोगितालाई तयारी गर्दै छु ।’

भारतको चण्डीगढमा जुलाई ३१ देखि १९ औं फेडेरेसन कप जुनियर (यू–२०) एथलेटिक्स आयोजना हुँदै छ । त्यसमा अजितले १५ सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् । यो केन्यामा अगस्टमा हुने विश्व एथलेटिक्स यू–२० च्याम्पियनसिपको छनोट प्रतियोगिता हो । तर जुनियरतर्फ एसियाली च्याम्पियन भएका नाताले अजित ३ हजार मिटर दौडमा सिधै छनोट भएका छन् ।

‘खासमा मलाई १५ सय मिटरमै खेल्न सहज लाग्छ । तर एसियन च्याम्पियन भएको नाताले म ३ हजार मिटरमा सोझै छनोट भएँ,’ अजितले भने, ‘भारतमा हुने प्रतियोगितालाई मैले केन्याको तयारीका रूपमा लिएको छु । राष्ट्रिय कीर्तिमान कायम गर्ने लक्ष्य हुनेछु ।’ १५ सय मिटरतर्फ अजितको ४ मिनेट २ सेकेन्डको व्यक्तिगत उच्च प्रदर्शन छ ।

२०७५ को चैतमा हङकङमा सम्पन्न एसियन जुनियर एथलेटिक्समा यू–१८ तर्फ राष्ट्रलाई पहिलो एसियाली पदक दिलाएयता अजितले अभूतपूर्व चर्चा पाए । लगत्तै गम्भीर बिरामी परेपछि छायाँमा परेका अजितले घरेलु प्रतियोगितामा भने पुनरागमन गरिसकेका छन् । गत मंसिर ५ मा नेपालगन्ज म्याराथनबाट उनी घरेलु प्रतियोगितामा फर्किएका हुन् । १० किलोमिटर स्पर्धामा च्याम्पियन बनेका उनी त्यसयता चार महिनाबीचमा हेटौंडा रोड रेस १० किमि, बन्दिपुर मिनी म्याराथन १० किमि, काठमाडौं म्याराथन ५ किमि र मदन भण्डारी रोड रेस ५ किमिमा च्याम्पियन बने ।

मध्यम दूरीको दौडमा प्रचुर सम्भावना बोकेका खेलाडीका रूपमा अजितलाई लिइएको छ । तर अन्तर्राष्ट्रिय प्रतियोगिताअगाडि उनले अभ्यासका लागि रंगशालाको ट्र्याक भने प्रयोग गर्न पाएका छैनन् । अहिले उनलाई सबैभन्दा ठूलो गुनासो यही रहेको छ । सोमबार बिदाइका समयमा पनि उनी एथलेटिक्सका पदाधिकारीसँग रंगशालामा सहज प्रशिक्षणको व्यवस्था मिलाइदिन अनुरोध गरिरहेका थिए ।

कोरोना भाइरस महामारीका कारण सार्वजनिक खेलस्थल बन्द गरिएको छ । राखेप र एथलेटिक्स संघबीच राम्रो समन्वय हुँदा यो ठूलो समस्या हुने थिएन । सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि रंगशालाका सुरक्षागार्डले आफूलाई प्रवेशमा अवरोध कायमै राखेको उनले गुनासो गरे । ‘पत्र लिएर आऊ भन्नुहुन्छ । कहाँबाट पत्र लिने भन्ने थाहा भएन । तर, संघ र राखेपलाई भनेको छु,’ अजितले भने ।

रंगशालामा प्रवेश नपाएपछि अजितले सडकमै प्रशिक्षण गरिरहेका छन् । आफू बस्ने पिनाकल कलेजको होस्टेलबाट निस्केर महालक्ष्मीस्थान, सातदोबाटो, लगनखेल हुँदै पुनः कलेज फर्किने गरेका छन् । ‘सडकमा मान्छे र गाडीको चहलपहल धेरै हुन्छ । सडकमा प्रशिक्षण गर्नु सुरक्षित त होइन, तर के गर्नु ? जसरी पनि दौडिनु त पर्‍यो । रंगशालामा अभ्यास गर्न पाइनँ भनेर प्रतियोगिता छाड्नु पनि भएन,’ अजितले आफ्नो बाध्यता सुनाए । फेडेरेसन कपका लागि नेपाली टोली बुधबार धनगढी हुँदै चण्डीगढ जानेछ । अजितका नियमित प्रशिक्षक धनीराम चौधरीलाई सन्चो नभएपछि उनीसँगै प्रशिक्षक तेजेन्द्र थापा जाँदैछन् ।

प्रकाशित : श्रावण १२, २०७८ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?