कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०८

आफ्नै टोलमा ओलम्पिक च्याम्पियन

ओलम्पिकमा पहिलोपल्ट समावेश स्केटबोर्डिङमा युतो होरिगोमेलाई स्वर्ण । जुडोका हिफुमी र उता व्यक्तिगत स्पर्धामा ओलम्पिक इतिहासमै एकै दिन स्वर्ण जित्ने पहिलो दाजु–बहिनी ।
राजु घिसिङ

टोकियो — नेपाली किशोरकिशोरीमा पनि लोकप्रिय भइरहेको खेल हो स्केटबोर्डिङ । पोखरास्थित रंगशाला परिसरमा स्केट पार्क नै बनाइएको थियो । तर, यो पार्क रंगशालाका विकासको नाममा डोजर लगाएर भत्काइएको छ । सडकमा स्केटिबोर्डिङ गर्नेलाई पनि सजिलो छैन, नेपाल प्रहरीले समातेर लगिहाल्छ ।

आफ्नै टोलमा ओलम्पिक च्याम्पियन

त्यसैले नेपालका स्केटबोर्डहरू सुनसान सडक (जहाँ प्रहरीको नजर खासै पर्दैन) तिरै भेटिन्छन् । अर्थात् लुकेरै स्केटबोर्डिङ गर्नुपर्ने अवस्था छ । यही खेलमा जापानले भने ३२ औं ओलम्पिकको दोस्रो दिन आइतबार ऐतिहासिक स्वर्णपदक कब्जा गर्यो ।

टोकियोमा गर्मी चर्किंदै थियो । सात हजार दर्शक अटाउने अरियके स्पोर्ट्स पार्क खालि नै थियो । जहाँ ग्रिष्मकालीन ओलम्पिकको १२५ वर्षे इतिहासमै पहिलोपल्ट स्केटबोर्डरहरू खेलकुदको महाकुम्भमा अद्वितीय सफलता रच्न आतुर थिए । र, यसमा बाजी मार्ने काम गरे युतो होरिगोमेले । ओलम्पिक खेलकुदमा स्केटबोर्डिङले डेब्यू गर्दा पहिलो स्वर्ण नै उनले कब्जा गरेका हुन् । त्यो पनि आफ्नै टोल र वडामा ।

संयोग भन्ने कि भाग्य ! युतो यस्ता खेलाडी बने कि जसले आफ्नै टोल वा चोकमा विश्व खेलकुदकै सबभन्दा प्रतिष्ठित प्रतियोगिताको उपाधि हासिल गरे । टोकियो महानगरमा २३ वटा वडा छन् । यहाँ वडाको नाम अंकमा होइन, अक्षर राखिन्छ । कोतो वडामा जन्मिएका युतो यहीकै सडकमा स्केटबोर्डिङ गर्दै हुर्किएका हुन् । जापानी राजधानीले ५७ वर्षपछि ओलम्पिक आयोजना गर्दा यो खेल समावेश गरियो र यसैमा उनले ऐतिहासिक सफलता हात पारेका हुन् । २२ वर्षीय उनले चार स्पर्धा समावेश गरिएको स्केटबोर्डिङको ‘मेन्स स्ट्रिट’ स्पर्धाको स्वर्ण कब्जा गरेका हुन् । यसरी आफ्नै टोलमा ओलम्पिक च्याम्पियन बन्ने अवसर दुर्लभै मिल्छ ।

गत महिना रोममा भएको वर्ल्ड च्याम्पियनसिप पनि जितेका युतोले विभिन्न अवरोधसहितको र्याम्प र बेन्चमा ४५ सेकेन्डसम्म स्केटबोर्ड हुइँक्याउन पाइने पाँच चरणको प्रतिस्पर्धामा ३७.१८ अंक जोड्दै स्वर्ण हात पारेका हुन् । ब्राजिलका केल्भिन होपलर (३६.१५) ले रजत र अमेरिकी ज्यागर एटन (३५.३५) कांस्य प्राप्त गरे । युतोे स्वर्ण जितेपछि पदक भिरेर स्केटबोर्डमै ओलम्पिक भिलेजमा बनाइएको स्टुडियोमा अन्तर्वार्ता दिन पुगेका थिए ।

दाजु–बहिनीको रेकर्ड

निप्पोन बुदोकानमा अघिल्लो दिन नेपाली खेलाडी सोनिया भट्टलई महिला ४८ केजीमुनिको स्पर्धाको पहिलो चरणमै रुसकी इरिनाले नकआउट (इप्पोन) गरेकी थिइन् । त्यही हलमा आइतबार दाजु–बहिनीले स्वर्णपदक जितेर इतिहास रचेका छन् । आबे परिवारका हिफुमी र उता व्यक्तिगत स्पर्धामा ओलम्पिक इतिहासमै एकैदिन स्वर्णपदक जित्ने पहिलो दाजु–बहिनी बनेका हुन् ।

जुडोमा स्वर्ण जितेका दाजु-बहिनी आबे उता र हिफुमी

विश्व जुडो च्याम्पियनसिप २०१८ मा स्वर्ण जितेपछि हिफुमीले क्योदो (समाचार संस्था) लाई दिएको अन्तर्वार्तामा भनेका रहेछन्, ‘मेरो लक्ष्य लगातार उपाधि जित्नुभन्दा बढी हो । दाजु–बहिनीको रुपमा स्वर्णपदक जित्न चाहन्थे । बहिनीले स्वर्ण जितेपछि म ढुक्कसाथ फाइनलमा गएँ ।’ त्यस बेला बाकु (अजरबौजान) मा भएको उक्त प्रतियोगितामा बहिनी उताले स्वर्ण चुमेपछि हिफुमी पनि विश्व च्याम्पियन भएका थिए । यी आबे दाजु–बहिनीले उस्तै कथा टोकियोमा पनि दोहोर्याए । उनीहरूसँग ओलम्पिकमा यस्तै उपलब्धिको अपेक्षा पनि गरिएको थियो ।

२१ वर्षीया उताले महिला ५२ केजीमुनिको स्पर्धाको फाइनलमा चार मिनेटको बारबरीपछि गोल्डेन स्कोरमा फ्रान्सकी अमादिनी बुचार्डलाई हराएर स्वर्ण हात पारिन् । त्यसको २० मिनेटभित्रै दाजु हिफुमीले पुरुष ६६ केजीमुनिको फाइनलमा भाजा मार्वेलाभ्स्वीलाई वाजरी (अंकको आधारमा) पराजित गर्दै कोबेका आबे परिवारलाई ओलम्पिक स्वर्णमय बनाइदिए । उनी फाइनलमा ढुक्क पनि देखिए । उपाधि जितेपछि त्यो सफलता पहिला नै तय भइसकेजस्तै उनको अनुहारको भावमा खासै परिवर्तन देखिएन । उनीभन्दा बढी खुसीयाली बहिनी उतामा देखियो, उनी दुवै हात उठाउँदै उफ्रिरहेकी थिइन् ।

अनि २३ वर्षीय हिफुमीले भने, ‘अब औपचारिक रुपमै म भन्न सक्छु कि ओलम्पिकमा बहिनीसँगै स्वर्णपदक चाहिरहेको छु । उनको दाइको रुपमा म हार खेप्न सक्दिनँ ।’

ओलम्पिक भिलेजमा कोभिड–१९ को संक्रमण बढिरहेको अवस्थामा दोस्रो दिन घरेलु खेलाडीको लागि उत्कृष्ट रह्यो, जहाँ जापानले एकै दिन चार स्वर्ण जित्यो । दिनको अर्को स्वर्ण पौडीकी युई ओहासीले ४ सय मिटर इन्डिभिज्युअल मिड्लेमा दिलाएकी हुन् । उनी ६ वर्षअघि एनिमियाको उपचार गराएपछि स्विमिङ पुलमा फर्किएकी हुन् ।

तस्बिरहरू : टोकियो ओलम्पिक्स

प्रकाशित : श्रावण ११, २०७८ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×