टोकियो ओलम्पिक : मीराबाई चानूले दिलाइन् भारतलाई पहिलो पदक
काठमाडौँ — मीराबाई चानूले भारतलाई टोकियो ओलम्पिक–२०२० मा पहिलो पदक दिलाएकी छिन् । भारोत्तोलनको ४९ किलोग्रामतर्फको स्पर्धामा चानूले भारतलाई रजत पदक जिताएकी हुन् ।
भारतले ओलम्पिकमा भारोत्तोलनमा पहिलो पटक रजत पदक जितेको हो । यस स्पर्धामा चीनकी होउ जुहईले स्वर्ण र इन्डोनेसियाकी विन्डी असाहले कांस्य पदक जितिन् ।
तस्बिर : रोयटर्स
चानूले २०२ किलोग्राम तौल उठाएर भारतलाई रजत पदक दिलाएकी हुन् । स्वर्ण पदक विजो जुहईले २१० किलोग्राम तौल उचालेकी थिइन् । भारतलाई टोकियो ओलम्पिक–२०२० मा पहिलो पदक दिलाउन सफल चानूलाई भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् ।
त्यस्तै इरानका सुटर जवाद फोरोघीले १० मिटर एअर पिस्तोलमा स्वर्ण पदक जिताएका छन् । ४१ वर्षीय फोरोघी इरानका लागि ओलम्पिकमा पदक दिलाउने सबैभन्दा बढी उमेरमा खेलाडी हुन् । यसअघि सन् १९५६ मा मेलबर्नमा भएको खेलमा ३८ वर्षीय महमुद नाम्जौले कांस्य पदक दिलाएका थिए ।
जारी ओलम्पिकमा अहिलेसम्म २ स्वर्ण र १ कांस्यसहित चीन पहिलो स्थानमा छ ।
प्रकाशित : श्रावण ९, २०७८ १३:४०