कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिलो स्पर्धामै कल्पना

टोकियो ओलम्पिक २०२० मा नेपाली खेलाडीद्वय सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले शनिबार प्रतिस्पर्धा गर्दै छन्
राजु घिसिङ

टोकियो — टोकियो ओलम्पिक २०२० मा पहिलो स्वर्ण पदकको प्रतिस्पर्धा सुटिङको महिला १० मिटर एयर राइफलमा शनिबार हुँदै छ । यसै स्पर्धामा नेपालकी कल्पना परियारले चुनौती पेस गर्दैछिन् । असाका सुटिङ रेन्जमा बिहानै सुरु हुने स्पर्धामा कल्पनाले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

पहिलो स्पर्धामै कल्पना

आर्मीकी २६ वर्षीया खेलाडीले आमन्त्रण कोटामा ओलम्पिक खेल्ने अवसर पाएकी हुन् । उनले ओलम्पिक छनोटको रूपमा रहेको एसियन सुटिङ च्याम्पियनसिप २०१९ (दोहा) मा ६१३.५ स्कोर गर्दै टोकियो ओलम्पिकको ढोका खोलेकी थिइन् । उनीसँगै सुस्मिता नेपालले ओलम्पिक छात्रवृत्तिमा दुई वर्ष तयारी गर्ने अवसर पाएका थिए । सुस्मिताले भने टोकियो यात्राको अवसर पाइनन् ।

आठ वर्षअघि नेपाली सेनामा भर्ती भएपछि राइफल र पेस्तोल चलाउन थालेकी कल्पनाले भनिन्, ‘अविश्वसनीय रूपमा यसैपालि ओलम्पिक खेल्ने सपना पूरा गर्ने अवसर पाएकी छु । यसलाई उत्कृष्ट प्रदर्शन गर्दै सार्थक तुल्याउने प्रयास गर्नेछु ।’ नेपालले आयोजना गरेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वदेशीमध्ये सर्वाधिक ६१४.५ स्कोर गरेकी उनीसँग वर्ल्डकप २०१९ (दिल्ली) र एसियाली खेलकुद २०१८ (जाकार्ता–पालेम्बाङ) को अनुभव पनि छ । आमन्त्रण कोटामा अवसर पाएका भुटान र श्रीलंकाली सुटरले पनि महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्दैछन् । उनीहरूलाई उछिन्नुपर्ने चुनौती छ कल्पनालाई । यो स्पर्धामा ५६ खेलाडी सहभागी छन् ।

इरिनाविरुद्ध सोनिया

जुडोकी सोनिया भट्ट महिला ४८ केजीमुनिको स्पर्धामा पनि शनिबार नै रुसकी इरिना डोल्गोभाविरुद्ध भिड्दैछिन् । जुडोमा यसअघि ओलम्प्कि खेलेका चार नेपालीको चुनौती पहिलो चरणमै समाप्त भएको थियो । त्यसैले पहिलो चरणमा सफलता हासिल गर्दै अगाडि बढ्ने उनको चाहना छ ।

रुसकी इरिना डोल्गोभा र सोनिया भट्ट ।

आमन्त्रण कोटामै ओलम्पियन बन्ने अवसर पाएकी १९ वर्षीया सोनियाले निप्पोन बुदोकानमा हुने अन्तिम ३२ को प्रतिस्पर्धामा जित हात पार्ने लक्ष्य बनाएकी छन् । तर, उनलाई सजिलो भने छैन । विश्व वरीयतामा नवौं स्थानकी इरिना यसपालि पदककी दाबेदार हुन् । रियो ओलम्पिक २०१६ मा पनि प्रतिस्पर्धा गरेकी २५ वर्षीया इरिनाले ग्रान्ड स्लाम, युरोपियन च्याम्पियनसिपलगायत अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा १७ पदक जितेकी छन् । यो स्पर्धामा २८ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

‘सुरुमा तौल घटाउन मिहिनेत गर्नुपरे पनि तयारी राम्रै भएको छ । त्यसैले सोनियाबाट राम्रो प्रदर्शन गर्ने आस गरेको छु,’ प्रशिक्षक सूर्यनारायण श्रेष्ठले भने । वास्तविकता हेर्ने हो भने सोनियाले इरिनाविरुद्ध चार मिनेट टिक्न पनि संघर्ष गर्नुपर्ने देखिन्छ । १३ औं सागमा कांस्य हात पारेकी सोनियाले वर्ल्ड जुनियर जुडो च्याम्पियनसिप २०१९ (मोरक्को) सहित जुनियरका तीन अन्तर्राष्ट्रिय प्रतियागितामा एक–एक खेल जितेकी छन् । उनले युथ ओलम्पिक २०१९ (ब्युनस आयर्स) मा पनि प्रतिस्पर्धा गरेकी थिइन् ।

शनिबार बिहानै प्रतिस्पर्धा गर्नुपर्ने भएकाले कल्पना र सोनिया ओलम्पिक रंगशालामा आयोजित उद्घाटन समारोहमा सहभागी भएनन् । त्यसैले मार्चपासमा नेपालमा दुई खेलाडी (पौडीका गौरिका सिंह र एलेक्स शाह) सहित पदाधिकारीमात्रै सहभागी भएका थिए । एथलेटिक्सकी सरस्वती चौधरी शनिबार काठमाडौंबाट टोकियो आउनेछिन् । यिनै पाँच खेलाडीले यसपालिको ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्दैछन् ।

प्रकाशित : श्रावण ९, २०७८ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?