कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सन् २०३२ को ओलम्पिक ब्रिसवेनमा

एएफपी

टोकियो — सन् २०३२ को ओलम्पिक अस्ट्रेलियाली सहर ब्रिसवेनमा हुने भएको छ । मेलबर्न र सिड्नीपछि ग्रीष्मकालीन ओलम्पिक आयोजना गर्ने अस्ट्रेलियाको ब्रिसवेन तेस्रो सहर हुनेछ ।

सन् २०३२ को ओलम्पिक ब्रिसवेनमा

यसको घोषणालगत्तै सहरले आतिसबाजी गरेर खुसीयाली मनाएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाखले ब्रिसवेनको पक्षमा भएको निर्णय सुनाएका थिए । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको विशेष अधिवेशनमा भएको मतदानले यो निर्णय गरेको थियो ।

ब्रिसवेन नै ओलम्पिक आयोजना गर्ने सहरको होडमा एक्लै सबैभन्दा अगाडि थियो र उसको पक्षमा आएको निर्णय अपेक्षित मानिएको छ । बाखले भनेका छन्, ‘३५ औं गृष्मकालीन ओलम्पिक ब्रिसवेनमा हुने घोषणा गर्दा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी गर्व महसुस गर्छ ।’ यस घोषणालगत्तै टोकियोमा रहेका ब्रिसवेनका प्रतिनिधिले तत्काल खुसीयाली मनाए । टोकियोबाट हजारौं माइल टाढा रहेको सहर ब्रिसवेनमा पनि खुसीयाली छाएको थियो ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको १५ सदस्यीय कार्यकारी समितिले ब्रिसवेनलाई एकमात्र प्रत्याशीका रूपमा अगाडि सारेको थियो । अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले यसलाई ऐतिहासिक उपलब्धि भएको दाबी गरेका छन् । उनले भनेका छन्, ‘यो ब्रिसवेन र क्विन्सल्यान्डका लागि मात्र होइन, पूरा अस्ट्रेलियाका लागि खुसीको उपलब्धि हो । विश्वका उन्नत सहरले मात्र ओलम्पिक आयोजना गर्ने अवसर प्राप्त गर्ने गर्छ । ब्रिसवेन यस्तै विकसित सहर हो र यसले ओलम्पिक आयोजना गर्ने क्रममा आफ्नो वास्तविक परिचय प्रस्तुत गर्नेछ ।’

अस्ट्रेलियाले यसअघि दुईपल्ट ओलम्पक आयोजना गरिसकेको छ । सन् १९५६ मा मेलबर्न र २००० मा सिड्नीले ओलम्पिक आयोजना गरेका थिए । त्यसमध्ये सिड्नी ओलम्पिकलाई यसको इतिहासकै सबैभन्दा सफल प्रतियोगितामध्ये एक मानिन्छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको घोषणा सुन्न ब्रिसवेनको साउथब्यान्क रिभरसाइडमा हजारौं खेलप्रेमीको उपस्थिति थियो ।

प्रकाशित : श्रावण ७, २०७८ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?