कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतको विश्वकप सफलताका सूत्रधार

शर्मालाई भारतीय टिमसम्म पुर्‍याउन कसैले सबैभन्दा ठूलो सहयोगी भूमिका खेलेका थिए भने ती सदाबहार नायक दिलीप कुमार थिए ।
हिमेश

काठमाडौँ — भारतले सन् १९८३ को विश्वकप क्रिकेट के जित्यो, त्यसको प्रभाव अनगिन्ती रहे । भारतमै त्यसअगाडि क्रिकेटको व्यावसायिक जग बसेको थिएन । त्यसैले भन्ने गरिन्छ, अहिलेको भारतीय क्रिकेट जे जस्तो छ, त्यही सफलतामा टिकेको छ ।

भारतको विश्वकप सफलताका सूत्रधार

भारतीय क्रिकेटको समर्थक हुनका लागि पनि त्यो एउटा विश्वकप पर्याप्त हुन सक्छ । धेरैले त्यो विश्वकप प्रत्यक्ष हेर्न नपाएका हुन सक्छन्, तर त्यसका किस्सा–कहानी सुनेर धेरै भारतीय क्रिकेटको प्रशंसक बने ।

त्यही विश्वकप विजयी भारतीय टिमका एक सदस्य यशपाल शर्माको हालै निधन भएको छ । त्यस विजयी भारतीय टिमका सदस्यहरूको आफ्नै अलग ह्वाट्सएप समूह रहेको छ । त्यसमा कीर्ति आजादले मंगलबार शर्माको निधन भएको सूचना पहिलोपल्ट हाले । लगभग दुई घण्टासम्म कसैले प्रतिक्रिया दिन सकेनन् । सबै स्तब्ध थिए । मर्निङवाकबाट फर्केयता उनलाई हृदयाघात भएको थियो । उनी ६६ वर्षका थिए ।

तथ्यांकको जालो बुन्ने हो भने उनले ३७ टेस्ट खेले अनि ४२ एकदिवसीय अन्तर्राष्ट्रिय । पछि उनी भारतीय टिमको छनोटकर्ता बने । उनकै कमिटीले सन् २०११ को विश्वकप विजयी भारतीय टिम छनोट गरेको थियो । तर उनलाई सबैले सम्झने भनेको त्यही १९८३ को विश्वकपमा भारतलाई उपाधि दिलाउन खेलेको सूत्रधारको रूपमै हो । उनले इंग्ल्यान्डविरुद्धको सेमिफाइनलमा निर्णायक सावित ६१ रनको इनिङ्स खेलेका थिए, जसलाई भारतीय एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट इतिहासको उत्कृष्ट प्रदर्शनमध्ये एक मानिन्छ ।

उक्त विश्वकप सफलतापछि एक–एक खेलाडी सबैको मुखमा झुन्डिएको नाम भएको थियो । त्यसले भौगोलिक सीमा तोड्न धेरै मिहिनेत गर्नुपरेन । नेपालमै पनि सन् ८० पछि जति क्रिकेट खेलका पारखी भए, ती सबैले कुनै न कुनै मोडमा शर्माबारे पक्कै धेरै सुनेको हुनुपर्छ । अधिकांश समय मन्द मुस्कानमा रहने शर्मा आफैं आफ्नो समयको क्रिकेटबारे मज्जाले सुनाउने दखलता राख्थे । त्यसैले पनि १९८३ को विश्वकपमा भारतीय टिमको यात्राबारे धेरैले उनकै मुखबाट सुनेको हुनुपर्छ ।

अझ भनौं, हामीले त्यस विश्वकपबारे जे जति सुनेका छौं, त्यसमध्ये अधिकांश शर्माले भनेका हुन् । पछिल्लो जुन अन्त्यतिर मात्रै उक्त विश्वकप विजयी टिमका कप्तान कपिल देवले नयाँदिल्लीमा एक ‘जमघट’ आयोजना गरेको थियो । विश्वकप सफलता सम्झेर खुसियाली मनाउने अवसर थियो । त्यो टिमका कसैले पनि त्यो अवसर छुटाएनन् । सबै खुसीसाथ सहभागी थिए । यिनै खेलाडीमध्ये सबैभन्दा फिट र युवा देखिन्थे शर्मा ।

उनी आफ्नो स्वास्थ्य, खानपिनलाई लिएर खुबै होसियार रहन्थे । उनमा कुनै प्रकारको खराब बानी थिएन । तर दुर्भाग्य सबैभन्दा पहिला उनकै निधन भयो । शर्मालाई लिएर प्रायः चर्चा हुने दुई घटना छन् । जुन भारतीय क्रिकेटबारे सामान्य जानकारी राख्ने नयाँ नहुन सक्छ । यी यस्ता दुई घटना हुन्, जसको फेरि फेरि दोहोर्‍याएर चर्चा गर्दा यसको रोमाञ्च फिटिक्कै कम हुने गर्दैन । अझ मज्जा आउने गर्छ ।

जस्तो, पहिलो घटना । शर्मा आफैं के स्विकार्थे भने उनलाई भारतीय टिमसम्म पुर्‍याउन कसैले सबैभन्दा ठूलो सहभागी भूमिका निभाएका थिए भने ती सदावहार नायक दिलीप कुमार थिए । संयोग, उनको पनि केही दिनअगाडि मात्र निधन भएको थियो । भएको के थियो भन्दा अन्य सयौं भारतीय क्रिकेट खेलाडीले जस्तै सन् ८० तिर शर्माले पनि रणजी ट्रफी खेल्थे । उनी पन्जाबका खेलाडी थिए । उत्तर प्रदेशविरुद्धको एउटा खेल त्यो बेला मुम्बईमा चलिरहेको थियो ।

त्यो खेललाई हेर्न दिलीप कुमार मैदानसम्म पुगेका थिए । त्यही खेलको दुवै इनिङ्समा शर्माले शतक बनाएका थिए । उनको खेलबाट दिलीप कुमार खुबै प्रभावित भए । त्यतिबेला भारतीय क्रिकेट भन्नु नै एक प्रकारले मुम्बईको क्रिकेट थियो । सिनेमाकर्मीहरूको मुम्बई क्रिकेटवृत्तसँग राम्रो गहिरो सम्बन्ध थियो । दिलीप कुमारले भारतीय क्रिकेट बोर्डलाई सिफारिस गरेछन् । शर्मा राम्रा खेलाडी हुन्, उनलाई भारतीय टिममा राख्नुपर्छ । त्यसको केही वर्षमै उनी साँच्चै भारतीय टिममा परे नै ।

अब दोस्रो घटना । सन् १९८४ मा भारतमा शिखविरुद्ध ठूलो दंगाफसाद चलेको थियो । पुनामा हुनुपर्ने खेल रद्द भएपछि नर्थ जोनका केही खेलाडी दिल्लीसम्म चार दिन लगाएर ट्रेनमा फर्किरहेका थिए । त्यही बेला केही प्रदर्शनकारीले त्यस टिमका तीन शिख खेलाडीलाई पनि आक्रमण गर्ने प्रयास गरे । त्यो समय नै निकै भयावह थियो । जताततै काटमार चलिरहेको थियो । साँच्चै बीभत्स स्थिति थियो । यही बेला शर्माले चेतन चौहानसँग मिलेर टिममा रहेका तीन शिख खेलाडीको बचाउ गरे । शर्मा कतिसम्म निडर थिए भने उनले आफ्ना शिख साथीको बचाउ गर्न भीडसँगै विवाद पनि गरे । यसरी उनीहरूले बचाएका एक शिख खेलाडीमा नवोजित सिद्दु पनि पर्छन् । स्थिति निकै नाजुक भएपछि शर्माले ती शिख खेलाडीलाई आफ्नो कम्पार्टमेन्टमा लुकाएर राखेका थिए । जतिबेलासम्म ती खेलाडी सुरक्षित दिल्ली पुगेनन्, शर्माले राहत महसुस गरेनन् ।

प्रकाशित : श्रावण ४, २०७८ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?