कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

 टोकियो ओलम्पिकले चुनौती नल्याउने वाचा

‘जापानी जनता र हामी सबैले कोरोना भाइरसविरूद्धको युद्धमा योगदान गर्ने प्रतिबद्धताअनुसार शक्ति लगाउने छौं’
एएफपी

टोकियो — अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) प्रमुख थोमस बाचले टोकियो ओलम्पिक सुरु हुनु एक साताअघि बुधबार गेम्समार्फत् जापानमा कुनै पनि चुनौती नल्याउने बताएका छन् ।

 टोकियो ओलम्पिकले चुनौती नल्याउने वाचा

राजधानी टोकियोमा समर्थकलाई ओलम्पिक स्पर्धामा प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ । आपतकाल घोषणा गरेपछि पनि संक्रमितको संख्या बढिरहेको छ । गत जनवरीयताकै सबैभन्दा बढी संक्रमित संख्या बुधबार पाइएको छ । धेरै खेलाडी जापान आइरहेका छन् । उनीहरू ओलम्पिक भिलेजमा प्रवेश गरिरहेका छन्, जसलाई सुरक्षित गृष्मकालीन ओलम्पिक बनाउने प्रतिवद्धता अध्यक्ष बाचले गरेका छन् ।

‘जापानी जनता र हामी सबैले यो भाइरसविरुद्धको युद्धमा योगदान गर्ने प्रतिवद्धताअनुसार शक्ति लगाउने छौं र जापानी नागरिकलाई कुनै चुनौतीमा ल्याउने छैनौं,’ जापानी प्रधानमन्त्री योसिहिदे सुगासँगको बैठकपछि अध्यक्ष बाचले भने, ‘ओलम्पिक भिलेजका ८५ प्रतिशत बासिन्दा र लगभग शतप्रतिशत आईओसी सदस्य र कर्मचारीहरू खोप लगाएर टोकियो आइपुग्दैछन् । त्यसैले जापानी नागरिकहरूसँग विश्वभरिबाट आउने खेलाडीहरूलाई न्यानो स्वागत गर्न विनम्रपूर्वक आग्रह गर्दछु । उनीहरूलाई पनि जापानी नागरिकलाई जस्तै धेरै खालको चुनौती छ ।’

जापान अरूभन्दा कोभिड–१९ महामारीको कम प्रभाव भएको देश हो, जहाँ करिब १५ हजारको मृत्यु भएको छ । तर, विज्ञहरूले कोभिड–१९ को नयाँ भेरियन्टसँगै अर्को लहर आउने चेतावनी दिइसकेका छन् । करिब २० प्रतिशत जनसंख्याले पूर्ण खोप लगाइसकेका छन् । टोकियोमा आपतकालले मुख्यतः अल्कोहल बिक्री र रेस्टुराँको खुला हुने समयमा सीमितता ल्याउने छ । टोकियोमा बुधबार १,१४९ संक्रमित पुष्टि भएको छ, जुन २२ जनवरी यताकै सबैभन्दा बढी संख्या हो । जापानीहरूले टोकियो २०२० प्रति लगातार आशंका गरिरहेका छन् । महामारीको कारण एक वर्ष ढिला गरी हुन लागेको यो ओलम्पिक अन्ततः जुलाई २३ मा सुरु हुँदै छ ।

अमेरिकाको ठूलो टिम

लस एन्जल्स– अमेरिकाले टोकियो ओलम्पिकमा इतिहासकै दोस्रो ठूलो टिम पठाउने भएको छ । गृष्मकालीन खेलकुदमा लगातार तेस्रोपल्ट महिला खेलाडीको संख्या आधाभन्दा धेरै हुने अमेरिकी ओलम्पिक तथा पारा ओलम्पिक कमिटीले मंगलबार जनाएको छ । कोभिड–१९ महामारीको कारण एक वर्ष सारिएपछि जुलाई २३ मा टोकियोमा सुरु हुने ओलम्पिकमा कमिटीका अनुसार ६१३ खेलाडी सहभागी हुनेछन् । सन् १९९६ मा अमेरिकी ओलम्पिक टिम ६४८ सदस्यीय थियो, जुन ओलम्पिक घरेलु भूमिमा आयोजना गरिएको थियो । यसपालि महिला खेलाडीको संख्या ३२९ रहेको छ । तेस्रोपल्ट गृष्मकालीन ओलम्पिकमा अमेरिकाको पुरुषभन्दा बढी महिला खेलाडी सहभागी हुन लागेको हो ।

ओलम्पिक खेल्ने अमेरिकी पौडी टोलीका खेलाडी बुधबार जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा । तस्बिर : एएफपी

‘टिम अमेरिका तयार छ । हाम्रो टिममा ६१३ उत्कृष्ट खेलाडी समावेश छन् । यो अहिलेसम्मकै एक ठूलो टिम हो । यसमा सबै खेलाडी छनोट भएर आएका हुन्,’ अमेरिकी ओलम्पिक कमिटीका प्रमुख कार्यकारी साराह हिर्सल्यान्डले भने, ‘यो विशेष समयमा यी खेलाडीहरूले लगनशीलता, समर्पण र एकाग्रताले हामी सबैलाई प्रेरणा दिएको छ । यो आकर्षक समयमा हामी उनीहरूलाई खेलकुद करिअरकै सपना पूरा गर्ने सबैभन्दा ठूलो तहको प्रतियोगितामा समर्थन गर्दछौं ।’

अमेरिकी टिमका १९३ खेलाडी फेरि ओलम्पिकमा फर्किएका हुन् । इक्वेस्ट्रियन फिलिप डटन सातपल्टका ओलम्पियन हुन् । अरू आठ खेलाडी पाँचपल्ट ओलम्पिकमा सहभागी भइसकेका छन् । पन्ध्र खेलाडी चौथोपल्ट ओलम्पिकमा प्रतिस्पर्धा गर्दैछन् । तेस्रोपल्ट ओलम्पिकमा आएका ३९ खेलाडी छन् । नौ पदक जितेका ट्र्याक एन्ड फिल्ड स्टार एलिसन फेलिक्स, पौडीमा आठ पदक जितेका एलिसन स्मित, पौडीमै ६ पदक हात पारेकी केटी लेडेस्की र जिम्न्यास्ट सिमोन बाइल्स (५ पदक जितेकी) पनि छन् ।

खेलाडी आफैंले पदक लगाउने

टोकियो (एपी)– कोरोना भाइरसको संक्रमणबाट बच्न टोकियो ओलम्पिकमा खेलाडीहरू आफैंले पदक लगाउनुपर्ने भएको छ ।परम्परागत पदक समारोहलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले यसपालि हुने ३३९ स्पर्धामा परिवर्तन गरेको हो । अध्यक्ष थोमस बाचले यसको घोषणा गरेका हुन् । ‘कुनै अतिथिबाट पदक घाँटीमा पहिर्‍याएर प्रदान गरिने छैन,’ बाचले भने, ‘खेलाडीलाई प्रदान गरिने पदक उनीहरू आफैले लगाउनुपर्नेछ । त्यो पदक खेलाडीसम्म पुर्‍याउने व्यक्तिले पनि डिस्इन्फेक्टेड ग्लोभ्स लगाउनेछन्, जसले खेलाडीसम्म पुग्नुअघि पदक कसैले नछुने निश्चित हुनेछ ।’


ओलम्पिकको व्यवस्था फरक हो । युरोपको फुटबलमा यूईएफएका अध्यक्ष एलेक्जान्डर सेफरिनले हालैमात्र व्यक्तिगत रूपमै खेलाडीसँग अँगालो हालेका थिए । आइतबार लन्डनमा सेफरिनले इटालीका उत्कृष्ट गोलकिपर जियानलुइजी डोनारुमासँग हात मिलाउँदै युरो २०२० को पदक र ट्रफी प्रदान गरेका थिए । पेनाल्टी सुटआउटमा डोनारुमाको बचाउका कारण इटालीले फाइनलमा इंग्ल्यान्डलाई हराएर उपाधि जितेको थियो । आईओसी अध्यक्ष बाचले टोकियोमा समारोहमा हात मिलाउन र अँगालो हाल्न नपाउने पनि बताए ।

चार सयभन्दा बढी चिनियाँ

बेइजिङ– चीनले ४३१ खेलाडीसहित ७७७ सदस्यीय ओलम्पिक टिम टोकियो पठाउने भएको छ । चीनले चीनबाहिर भएको ओलम्पिकमा हालसम्मकै सबैभन्दा ठूलो टिम पठाउन लागेको सिन्ह्वा समाचार एजेन्सीले बुधबार जनाएको छ ।

चिनियाँ टिममा २९८ महिला खेलाडी हुनेछन्, जुन पुरुष (१३३) भन्दा दोब्बर हो । यसमा महिला डाइभिङकी १४ वर्षीया क्वान होङछ्वानदेखि पुरुष इक्वेस्ट्रियनका ५२ वर्षीय ली झेनक्वीङसम्म छन् । ‘चीनले विदेशमा पठाएको यो नै सबैभन्दा ठूला ओलम्पिक टिम हो,’ चीनको राज्य खेलकुद प्रशासनका उपनिर्देशक गाओ झिदङले भनेका छन् । बेइजिङ ओलम्पिक २००८ मा चीनको सबैभन्दा ठूलो टिम सहभागी भएको थियो, जसमा ६३९ खेलाडीसहित १०९९ सहभागी थिए । चीनले टेबलटेनिस, ब्याडमिन्टन, जिम्न्यास्टिक, भारोत्तोलन, सुटिङ र डाइभिङमा स्वर्णपदक जित्ने अपेक्षा गरिएको सिन्ह्वाले जनाएको छ ।

प्रकाशित : असार ३१, २०७८ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?