मेसी बार्सिलोनामै रहन सहमत

एजेन्सी

बार्सिलोना‍ — लियोनल मेसीले बार्सिलोनासँग थप अनुबन्ध गर्न सहमति दिइसकेका छन् । बार्सिलोनाले कुनै पनि बेला यो समाचारको औपचारिक रूपमा पुष्टि गर्नेछ । अनुबन्ध कस्तो हुनेछ, त्यसबारे औपचारिक रूपमा त्यो तय भइसकेको छ ।

यसै महिनाको सुरुमा मेसी कुनै पनि अनुबन्धबाट स्वतन्त्र भएका थिए । बार्सिलोनासँग यसअघिको अनुबन्ध टुंगिएपछि अर्जेन्टिनी खेलाडी ‘फ्री ट्रान्सफर’ का लागि उपलब्ध भएका थिए । यसअघि उनी अन्यत्र जानसक्ने सम्भावना थियो ।

म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मेसीमा रुचि देखाएको थियो । बार्सिलोनाको आर्थिक स्थिति कमजोर रहेको हुनाले क्लबले मेसीसँग नयाँ अनुबन्ध गर्नेमा शंका थियो । क्याटलन क्लब खेलाडीको पारिश्रमिक मापदण्डको नियम उल्लंघनमा फस्नसक्ने डर थियो । बार्सिलोनाले यसअघि नै मेम्फिस डिपे, एरिक गार्सिया, सर्जियो अगुइरो र एमरसनलाई अनुबन्ध गरिसकेको छ । पारिश्रमिककै नियमका कारण बार्सिलोनाले मेसीसँगको अनुबन्धबारे अहिले नै आधिकारिक केही भनिरहेको छैन ।

कानुनी र सरकारी औपचारिकता पूरा भएपछि मात्र बार्सिलोनाले मेसीसँगको अनुबन्धबारे प्रस्ट पार्नेछ । मेसीले आफ्नो यसअघिको पारिश्रकिममा ५० प्रतिशत कम थाप्न तयार भएको हुनाले पनि यो बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाका लागि ठूलो जितका रूपमा हेरिएको छ । बार्सिलोना क्लब स्रोतका अनुसार ३४ वर्षीय मेसी आधा तलबमा ५ वर्षका लागि अनुबन्ध गर्न तयार भएका हुन् । मार्काले मेसी पाँचैवर्ष बार्सिलोनामा नरहने बताएको छ । मार्काका अनुसार सन् २०२३/०२४ को सिजनमा मेसीले अमेरिकाको मेजर लिग सकर (एमएलएस) मा खेल्नेछन् । गत साता अर्जेन्टिनाले कोपा अमेरिका जितेपछि मेसीसँगको अनुबन्धबारे घोषणा गर्न ढिलाइ भएको हो । यसबीच लापोर्टाले भने आफ्ना समर्थकलाई यसै साता केही सुखद समाचार सुनाउने बताएका थिए । अहिले यो मेसीसँगको अपेक्षित अनुबन्धका रूपमा अगाडि आएको छ । लापोर्टाले भनेका थिए, ‘सबै बार्सिलोना र क्याटलनहरू मेसीले कोपा जितेकामा खुसी छन् ।’

उनले थपेका छन्, ‘हामीमात्र होइन, पूरा विश्व फुटबल अहिले मेसीका लागि खुसी छ । विश्व फुटबलका सबैभन्दा उत्कृष्ट खेलाडी स्वयं उपाधि जित्न सकेकामा उत्तिकै खुसी छन् । यो तथ्यले हामीलाई पनि प्रसन्न पार्ने गर्छ । अर्जेन्टिना कोपा उपाधिका लागि पूर्ण हकदार थियो । बार्सिलोना अगुइरोका लागि खुसी छ । हामी किन खुसी छौं भने बार्सिलोना मेसीसँगै जोडिएको छ र यो क्रम टुट्ने छैन । सम्बन्ध अटुट रहनेछ ।’

मेसीलाई क्लबमा फर्काउने वाचासहित उनी बार्सिलोनाको अध्यक्ष पदमा विजयी भएका थिए । उनले आर्थिक पक्ष नै मेसीलाई अनुबन्ध गर्नमा बाधक नरहेको दाबी गर्दै आएका थिए । कोपा अमेरिकाको समाप्तिमा अर्जेन्टिनाकै केही पूर्वखेलाडीले मेसीले बार्सिलोना छाडेर अन्यत्र जाने सम्भावना नै रहेको बताएका थिए । कोपा जितपछि मेसीका लागि बार्सिलोनामै रहनु उपयुक्त स्थिति तयार भएको थियो । यसले कतारमा हुने विश्वकपका लागि उपयुक्त वातावरण तयार हुन सक्थ्यो ।

बार्सिलोनामा रहेर मेसीले कीर्तिमान ६ सय ७२ गोल गरिसकेका छन् । यसक्रममा १० ला लिगा, ४ युरोपेली च्याम्पियन्स लिग र ७ कोपा डेल रे उपाधि जितेका छन् । उनले कीर्तिमान छपल्ट बालोन डी’अर पनि जितिसकेका छन् । त्यसैले उनलाई बार्सिलोनाको इतिहासकै सर्वकालीन महान खेलाडी मानिन्छ । कोपामा अर्जेन्टिनाको जित र त्यसमा मेसीको उत्कृष्ट प्रदर्शनका कारण उनी फेरि एकपल्ट बालोन डी’अर उपाधिलाई बलियो प्रत्याशी भएका छन् ।

प्रकाशित : असार ३१, २०७८ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्

सत्तारूढ दलनिकट विद्यार्थी संगठनले गरे इन्धन ढुवानीमा अवरोध

बुधबार १० बजे नै थानकोट डिपो पुगेका विद्यार्थी संगठनका प्रतिनिधिद्वारा ६ घण्टा धर्ना/सभा
राजु चौधरी

काठमाडौँ — पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै सत्तारूढ दलनिकट विद्यार्थी संगठनले इन्धन ढुवानी र बिक्रीवितरणमा अवरोध गरेका छन् । नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु समाजवादी, विद्यार्थी युनियन र अखिल छैटौंका अध्यक्षले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै इन्धनमा भएको मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन गर्ने जनाएका छन् ।

उनीहरूले बुधबार आयल निगमको थानकोट डिपोमा ६ घण्टा धर्ना/सभा गरे । करिब २५ जनाको संख्यामा रहेका विद्यार्थी संगठनका प्रतिनिधि बुधबार १० बजे नै थानकोट डिपो पुगेका थिए ।

थानकोट डिपोसँगै दाङ, चारआली, भैरहवालगायतका डिपोमा पनि उनीहरू पुगेका थिए । उनीहरूले इन्धन बिक्रीको बिलिङसमेत गर्न नदिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । ‘इन्धनमा भएको मूल्यवृद्धिबारे सोमबार छलफल भएको थियो । निगमको समस्या बताएका थियौं, विद्यार्थीहरूको माग मूल्यवृद्धि फिर्ता नै हो,’ उपाध्यायले भने ।

अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ र अत्यावश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन, २०१७ अनुसार ढुवानीमा अवरोध, बन्दहडताल गर्न पाइँदैन । ऐनविपरीत काम गर्ने कुनै पनि व्यक्ति, व्यवसाय र उद्योगलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गर्ने अधिकार दिएको छ । तर भर्खरै सत्तारोहण गरिसकेको नेपाली कांग्रेस, माओवादीनिकट विद्यार्थी संगठनले अत्यावश्यक मानिने इन्धनको ढुवानीमा अवरोध गरे ।

‘सभा गरिरहँदा विद्यार्थीहरूले भारतबाट आएका ट्यांकर खाली गर्न दिए,’ निगमका थानकोट डिपो प्रमुख अभिषेक ठाकुरले भने, ‘तर इन्धन लोड भएका सवारी बाहिर जान दिएनन् ।’ उनीहरूको सभा सकिएपछि भने इन्धन लोडिङ निरन्तर भएको ठाकुरले जानकारी दिए । ‘कोणसभापछि पेट्रोल ६ सय ४ किलोलिटर र डिजेल ४ सय ६ किलोलिटर बिक्री गरेका छौं,’ उनले भने, ‘बेलुका भए पनि डिपो खोल्न दिए, त्यही राम्रो भयो ।’ इन्धनमा भएको पटकपटकको मूल्यवृद्धिले बजारभाउ बढ्ने, सर्वसाधारणलाई समस्या हुने भन्दै ५ विद्यार्थी संगठन आन्दोलित छन् । निगमले असार २२ मा खाना पकाउने एलपी ग्याससहित सबै इन्धनको मूल्य बढाउने निर्णय गरेपछि उनीहरू आन्दोलित भएका हुन् ।

निगमले प्रतिसिलिन्डर ग्यासमा २५ रुपैयाँ बढाएर १४ सय २५, पेट्रोलमा २ रुपैयाँ वृद्धि गरेर १ सय २९, डिजेल र मट्टीतेलमा २/२ रुपैयाँ बढाएर १ सय १२ रुपैयाँ कायम गरिएको थियो । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँ बढाएर ८४ रुपैयाँ, अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १९ डलरले वृद्धि गरेर ७ सय ५४ रुपैयाँ कायम गरिएको थियो ।

मूल्य समायोजनपछि पनि पाक्षिक घाटा ९१ करोडभन्दा बढी हुने निगमको दाबी छ । यही कारण मूल्य बढाइरहनुपरेको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए । ‘अन्तर्राष्ट्रिय बजारमा मूल्य उकालो लागिरहेको छ । मूल्य समायोजन नहुँदा निगम धराशायी हुन्छ ।’ उपत्यकामा बुधबार करिब ५० प्रतिशत पम्प बन्द रहेको पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले बताए । केही क्षेत्रमा विद्यार्थी नेता आउँदा बन्द गरियो । गएपछि पुनः खोलियो । एसोसिएसनका अनुसार मुलुकभर करिब १५ सय पम्प छन् । यसमध्ये सबैभन्दा बढी उपत्यकामा नै प्रभाव परेको जनाइएको छ ।

अहिले अन्तर्राष्ट्रिय बजारमा भइरहेको इन्धनको मूल्यवृद्धि, बलियो बनेको डलर र सरकारको कर नीतिलगायत सबैको भार उपभोक्तामा परेको छ । रक्सौलमा ६७.७७ रुपैयाँमा किनिएको पेट्रोलमा ५६.६१ रुपैयाँ कर थोपरिएको छ । डिजेलमा भने ३९ रुपैयाँ २८ पैसा कर लगाइएको छ । विभिन्न शीर्षकमा लगाइएको कर पुनरावलोकन भए निगमको घाटा कम हुने र उपभोक्तालाई समेत सस्तोमा इन्धन बिक्री गर्न सकिने निगमको भनाइ छ । संयुक्त विद्यार्थी संगठनले नेपाल पेट्रोलियम डिलर्स एसोसिएनलाई ध्यानाकर्षणसमेत गराएका थिए । उनीहरूले पठाएको पत्रमा भनिएको छ, ‘जनताको डाढ सेक्ने गरी भएको मूल्यवृद्धि फिर्ता गर्न गरिएको आन्दोलनमा एसोसिएसन मातहतका सम्पूर्ण पम्प र ढुवानी ट्यांकर बन्द गरी आन्दोलनमा सहयोग गरिदिन ध्यानकर्षण गर्दछौं । ध्यानकर्षण अवज्ञा गरिए त्यसबाट उत्पन्न हुने परिस्थितिको सबै जिम्मेबारी व्यवसायी र एसोसिएसन आफै हुने जानकारी गराउँछौं ।’

आन्दोलनपछि १ रुपैयाँ घट्यो मूल्य

यसैबीच विद्यार्थीहरूको आन्दोलनपछि निगमले इन्धनको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा मूल्य घटाउने निर्णय गरेको हो ।

‘आन्दोलनरत संयुक्त विद्यार्थी संगठनको मागलाई मध्यनगर गर्दै पेट्रोल, डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय भएको छ,’ निगमका प्रवक्ता उपाध्यायले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नयाँ खुद्रा बिक्री मूल्य पेट्रोल प्रतिलिटर १ सय २८ र डिजेल/मट्टीतेल प्रतिलिटिर १ सय ११ कायम गरिएको छ ।’

प्रकाशित : असार ३१, २०७८ ०७:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×