कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युरोका राम्रा अनि नराम्रा पल

एपी

लन्डन — अन्ततः युरो २०२० टुंगिएको छ । च्याम्पियनमा पाएको छ इटाली । वेम्बलीमा भएको फाइनलमा इटालीले इंग्ल्यान्डलाई टाइब्रेकरमा ३–२ ले हराएको हो ।

युरोका राम्रा अनि नराम्रा पल

प्रतियोगिताको समाप्तिसँगै अमेरिकी समाचार संस्था एपीले प्रतियोगिताका केही राम्रा अनि नराम्रा पक्षको विश्लेषण गर्ने प्रयास गरेको छ । के के हुन त यी ? सायद यी विश्लेषण प्राविधिक कम, भावनात्मक बढी छन् । आखिरमा फुटबल कोरा खेलमात्र होइन, यो त मावनीय भावना पनि हो ।

क्रिस्टियन एरिक्सन

सुरुमा यो हृदयविदारक क्षण रह्यो । पछि जे जति भए, ती सुन्दर क्षण थिए । मनै छुने र जो कसैलाई पनि खुसी पार्ने । पार्केन स्टेडियममा जतिबेला डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन हृदयाघात भएर ढले, समर्थक जति सबै स्तब्ध थिए । खेल फिनल्यान्डविरुद्ध थियो । तिनका समर्थकलाई पनि के गर्ने, कसो गर्ने नाजुक स्थिति बनेको थियो । ती फिनल्यान्डका समर्थक मनका धनी नै थिए । सबै मिलेर एकजुट भएर नारा लगाए, ‘एरिक्सन एरिक्सन’ ।

फिनल्यान्डका समर्थकले यस्तो के मात्र भनेका थिए, डेनमार्कका समर्थक चुप लागेर बस्न सकेनन् । उनीहरूले पनि एकै स्वरमा भने, ‘एरिक्सन एरिक्सन’ । जतिबेला एरिक्सनको स्वास्थ्य स्थिति ठीक छ भनेर स्टेडियममै घोषणा गरियो, दुवै देशका समर्थकले जोसिएर त्यसको समर्थन गरे । खुसीको हुँकार भरे । फुटबल इतिहासमै एरिक्सन यसरी हृदयाघात भएर ढल्नु निकै दुःखद परिस्थिति रह्यो । जतिबेला तय भयो, एरिक्सनलाई अझ गाह्रो हुने छैन, सबैले राहत महसुस गरे ।

नेतृत्व होस् त केएरको जस्तो

इटालीका गोलरक्षक जियानलुइजी डोनारुमा प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए । नहोस् पनि किन ? उनले फाइनल खेल टाइब्रेकर पुग्दा निर्णायक बचाउ गरे । त्यसैले उनी युरोपेली फुटबल महासंघको नजरमा प्रतियोगिताकै उत्कृष्ट खेलाडी भए । सायद उनीभन्दा पनि उत्कृष्ट खेलाडी डेनमार्कका कप्तान सिमोन केएर थिए कि ? डोनारुमाले आफ्नो टिमलाई जित दिलाए, केएरले त कसैको ज्यान नै बचाए । भन्न कर लाग्छ, नेतृत्व होस् त केएरको जस्तो ।

केएर नै ती पहिलो व्यक्ति थिए, जसले मैदानमा ढलिरहेका एरिक्सनको घाँटी र टाउकोको स्थिति ठीक पारे । यसले श्वासप्रश्वासमा सजिलो भएको थियो । लगत्तै उनले एरिक्सनको छाती थिचेर उपचार सुरु गरे, जतिबेलासम्म विशेषज्ञ चिकित्सकहरू मैदानमा आएनन् । तुरुन्तै केएरको नेतृत्वमा डेनमार्कका खेलाडी त्यस्तो मानवीय वृत्ति बनाए, जसले एरिक्सनको उपचारमाथि सबैको नजर परेन । लगत्तै उनले एरिक्सनको स्तब्ध महिला साथीलाई पनि सम्हाले ।

केएरको यो नेतृत्व एउटा फुटबलका कप्तानको जस्तो मात्र रहेन । उनी न पक्कापक्की मानवीय रूपमा नेतृत्व सम्हाल्न सक्ने व्यक्ति पो रहेनछन् । पछि उनले भावनात्मक रूपमा कमजोर आफ्ना खेलाडीलाई मात्र सम्हालेनन्, टिमलाई सेमिफाइनलसम्म पुर्‍याए, जहाँ डेनमार्क इंग्ल्यान्डको हातबाट रोकियो । भलै इंग्ल्यान्डविरुद्ध त्यस खेलमा उनले आत्मघाती गोल गरे, तर कोही कसैले यसलाई कसरी खराब भन्न सक्छ र ? क्याबात भन्नैपर्छ, यी केएरलाई ।

सिकको अविश्वसनीय गोल

यो फुटबलको आम प्रहार थिएन, यसलाई गल्फमा गरिएको प्रहारभन्दा हुन्छ । स्कटल्यान्डको आधा मैदानमा बल हल्का बेफिक्री घुमिरहेको थियो, चेक गणतन्त्रका फरवार्ड प्याट्रिक सिकले यसलाई नियन्त्रणमा लिए । पोस्टबाट उनी अझै ४९.७ मिटर टाढा थिए । सिकले यसलाई यसरी प्रहार गरे कि बल जादुयी रूपमा घुमेर नाच्दै अगाडि बढ्यो । बल मस्त उचाइमा थियो अनि यसले बायाँबाट दायाँ घुमाउरो बाटो तय गरेको थियो ।

स्कटल्यान्डका गोलरक्षक डेविड मार्सलले केही गर्न सकेनन् । भलै उनले बचाउको प्रयास गरे । भन्दा हुन्छ, यी गोलरक्षक हेरेको हेर्‍यै भए । यो वास्तवमै उत्कृष्ट गोल थियो । अझ यसलाई अविश्वसनीय गोल पनि भन्ने कि ? युरो इतिहासमै यति धेरै लामो दूरीबाट गोल भएको यो नै कीर्तिमानी रह्यो । पछि गोलबारे प्रतिक्रिया दिँदै सिकले भने कि उनले विपक्षी गोलरक्षक पोस्ट छाडेर अगाडि आएकोसम्म देखेका थिए । त्यसैले यो अवसरको फाइदा लिने प्रयास गरे । आखिरमा यो विश्व फुटबलकै महानतम गोल साबित भयो ।

एमबाप्पेका लागि बिर्सनलायक

फ्रान्सका केलियन एमबाप्पेले जतिबेला पेनाल्टी प्रहार गर्न खोजे, स्विट्जरल्यान्डका गोलरक्षक यान सोमरले त्यसमा निर्णायक बचाउ गरे । नतिजा विश्वकप च्याम्पियन फ्रान्स युरोको अन्तिम १६ बाट नै बाहिरियो । यो फ्रान्सका लागि प्रतियोगिताबाट चाँडै बाहिरिएको क्षण रह्यो । अझ भनौं, निकै खराब स्थितिबाट फ्रान्सले प्रतियोगिताबाट बिदा लियो । तर योभन्दा पनि खराब एक व्यक्तिगत खेलाडीका रूपमा प्रदर्शन एमबाप्पकै रह्यो भन्दा केही खराब नहोला ।

आखिरमा उनलाई विश्व फुटबलका नयाँ सुपर स्टार मानिएको छ । तिनै फरवार्डले युरो २०२० मा एकै गोल गर्न सकेनन् । उनी जत्तिको एक खेलाडीको यो बिजोगको प्रदर्शन नै हो । फ्रान्सले यसपल्टको प्रतियोगितामा चार खेल खेलेको थियो, त्यसमा एमबाप्पे एकै गोल गर्न पनि असफल रहे । उनी सन् २०१८ को विश्वकपका एक स्टार खेलाडी थिए । यस प्रतियोगिताबाट उनको उदय भएको थियो । उनले बिर्सेर पनि युरोमा आफूले किन खेल्न सकेनन् भनेर भन्न सक्ने छैनन् ।

सबैभन्दा ठूलो आश्चर्य

युरो २०२० मा डेनमार्कको सेमिफाइनल यात्रा कस्तो रह्यो त ? यसबारे विश्लेषण गर्ने कोण धेरै हुनेछ । खासमा यो बढी भावनात्मक छ । तर टिमले प्रतियोगितामा जसरी सुरुआत लिएको थियो, त्यही टिमले अन्ततः सेमिफाइनल खेल्नेछ भनेर सोच्न भने सकिन्थ्यो । आखिरमा डेनमार्कले लिग चरणका सुरुआती दुई खेल गुमाएको थियो । युरो इतिहासमा कोही पनि टिम यसरी सुरुआती दुई खेल गुमाएर नकआउट चरण पुगेको इतिहास छैन ।

डेनमार्कले यस्तै इतिहास बनायो । जतिबेला डेनमार्क अन्तिम १६ को चरणमा पुग्यो, धेरै फुटबल समर्थकका लागि यो आफूले समर्थन गरेको तटस्थ टिम बन्यो । यसैक्रममा टोलीले वेल्समाथि ४–० जितमात्र निकालेन, चेक गणतन्त्रमाथि उत्तिकै स्वादिलो २–१ जित हात पार्न सफल रह्यो । सन् १९९२ को च्याम्पियन डेनमार्कले त्यतिबेला युगोस्लाभियालाई प्रतिबन्ध लागेपछि मात्र अन्तिम समयमा प्रतियोगिता खेल्न पाएको थियो । यसपल्टको उसको यात्रा पनि कम्तीको रहेन ।

प्रकाशित : असार २९, २०७८ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?