कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोपा अमेरिका : खल्लो सुरुआत, हेर्नलायक फाइनल

एपी

रियो दी जेनेरियो — यसपल्टको कोपा धेरै खल्लो रह्यो । धेरैको विरोधपछि यो प्रतियोगिता भएको थियो । धेरैले प्रतियोगिताको समय र परिस्थितिलाई निको मानेनन् । तर यही कोपाले त्यस्तो फाइनल साइत जुराएको छ, जसको खेल हेर्न सबै लालयित हुने गर्छन् ।

कोपा अमेरिका : खल्लो सुरुआत, हेर्नलायक फाइनल

फाइनल आफैंमा हेर्नलायक हुनेछ । शनिबार (नेपाली समयअनुसार आइतबार बिहान) ब्राजिल र अर्जेन्टिनाबीच फाइनल हुनेछ । यसको नतिजाले दक्षिण अमेरिकी च्याम्पियन दिनेछ । फेरि फाइनल त्यहाँ भइरहेको छ, जहाँ विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित स्थल मानिन्छ ।

त्यो भनेको ऐतिहासिक माराकाना स्टेडियम हो । उपाधिका लागि ब्राजिल र अर्जेन्टिना भिड्ने भएपछि त यसपल्ट कोपाले सुखद अन्त्य नै पाएको छ । नत्र प्रतियोगिता सुरु हुन केही दिनअगाडिसम्म यसबारे व्यापक अन्यौल थियो । अन्तिम क्षणमा यो ब्राजिलमा हुने तय भएको थियो, जुन देशलाई कोरोना भाइरस संक्रमणको महामारीले सबैभन्दा बढी पिरोलेको छ । अझै पनि ब्राजिलमा महामारी आक्रान्त उस्तै छ, हराएको छैन ।

युवा स्टार नेयमरको ब्राजिल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन पनि हो । उसलाई फेरि उपाधि जित्नबाट छेक्ने काम लियोनल मेसीको अर्जेन्टिनाले गर्नेछ । उत्तिकै रमाइलो तथ्य के छ भने यी दुई फुटबलका परम्परागत महाशक्तिले संयुक्त रूपमा सातपल्ट विश्वकप जितेका छन् भने २३ पल्ट कोपा अमेरिका । सन् १९९३ यता अर्जेन्टिनाले कोपा जित्न सकेको छैन । मेसीले न त आफ्नो देशका लागि कुनै ठूलो उपाधि हात पार्न सकेका छन्, जत्तिकै ठूलो स्टार भए पनि । मेसीले तीनपल्ट कोपा अमेरिकाको फाइनल खेलिसकेका छन्, २००७, २०१५ र २०१६ मा । तिनै मेसीले सन् २०१४ को विश्वकप फाइनल खेलेको थियो । सबै अवसरमा अर्जेन्टिनाले मार खाएको छ ।

अझ जर्मनीविरुद्धको विश्वकप फाइनल त अर्जेन्टिनाले यही प्रसिद्ध माकाराना स्टेडियमै त गुमाएको हो । अर्जेन्टिनाले यसपल्ट फाइनल पुग्न सेमिफाइनलमा कोलम्बियालाई टाइब्रेकरमा पराजित गरेको थियो, ३–२ को स्कोरले । त्यसलगत्तै मेसीले भनेका छन्, ‘मैले आफ्नो खेलाडी जीवनमा सबैभन्दा बढी चाहेको भनेकै देशका लागि उपाधि जित्ने हो । अहिले हाम्रो उद्देश्य आकास छुने छ । फाइनल प्रवेश गर्ने हाम्रो पहिलो उद्देश्य त पूरा भएको छ । अहिले हामीले साँचेको उद्देश्य त्योभन्दा ठूलो छ । त्यो हो, उपाधि नै जित्ने ।’ ब्राजिलले सन् २०१९ का कोपा जित्दा नेयमर टिममा थिएनन् चोटका कारण । ब्राजिलले यसपल्ट फाइनल पुग्नका लागि पेरुलाई १–० ले हराएको थियो ।

त्यो खेललगत्तै नेयमरले ख्यालख्यालमा गम्भीर भएर भनेका थिए, ‘हामी फाइनलमा अर्जेन्टिना प्रतिद्वन्द्वी भएको चाहन्छौं तर त्यसमा जित भने ब्राजिलकै हुनेछ । यसपल्टको कोपा सुरुमा अर्जेन्टिना र कोलम्बियाले गर्ने भएको थियो, तर यी दुई सहआयोजकलाई त्यो अवसर दिइएन, अवसर बनेन पनि । त्यस स्थितिमा प्रतियोगितालाई लिएर सबैभन्दा बढी चिन्ता पोख्नेमा नेयमर आफै एक थिए । प्रतियोगिता सुरु हुनु दुई साताअगाडि मात्र ब्राजिलमा हुने टुंगो लागेको थियो ।

मेसी र नेयमर दुवै मन मिल्ने साथी हुन् । उनीहरूले सन् २०१५ मा बार्सिलोनाका लागि युरोपेली च्याम्पियन्स लिग जिते । सन् २०११ मा पनि उनीहरू प्रतिद्वन्द्वी थिए, जतिबेला बार्सिलोनाले क्लब वर्ल्डकपमा ब्राजिलको सान्तोसलाई ४–० ले हराएको थियो । अर्जेन्टिना र ब्राजिलबीच सयपल्ट भन्दा बढी खेल भइसकेको छ । यी खेलमध्ये फाइनलकै रूपमा भएको भने चार अवसरमा हो । त्यसमध्ये सन् १९३७ मा अर्जेन्टिनाले दक्षिण अमेरिकी च्याम्पियनसिप जित्न ब्राजिललाई २–० ले हराएको थियो ।

यो प्रतियोगिता कोपाकै पुरानो स्वरूप हो । त्यसपछिका तीन फाइनल भने ब्राजिलको पक्षमा रह्यो । सन् २००४ को कोपा फाइनलमा ब्राजिलले अर्जेन्टिनालाई टाइब्रेकरमा ४–२ ले हराएको थियो । त्यो खेलको नियमित समयमा अन्तिम प्रहारका रूपमा ब्राजिलका लागि एडरिनोले गोल गरे र खेल २–२ को बराबरीमा गएको थियो । त्यसको एक वर्षपछि जर्मनीमा भएको कन्फेडेरेसन कपमा यी दुई टिम भिडे, नतिजा ब्राजिलको पक्षमा ४–१ रह्यो ।

त्यसमा एडरिनोले गज्जब खेले । उनलाई साथ दिने अरू प्रमुख खेलाडी थिए काका र रानोल्डिन्हो । सन् २००७ को कोपामा अर्जेन्टिना उपाधिका लागि निकै बलियो प्रत्याशी थियो, तर मेसीको सपनालाई निर्दयीपूर्वक चकनाचुर पार्दै ब्राजिल फाइनलमा ३–० ले विजयी रह्यो । यसअघिको कोपामा पनि ब्राजिलले नै अर्जेन्टिनालाई २–० ले हराएर चुनौती समाप्त पारेको थियो । त्यस सेमिफाइनल जितमा ग्याब्रियल जेसस र रोबर्टो फिर्मिनोले गोल गरे ।

यसपल्ट जेससले प्रतिबन्धका कारण फाइनल खेल्ने छैनन् । फिर्मिनोले लुका पाक्वेटाका लागि पहिलो रोजाइका खेलाडी हुनुको हैसियत गुमाएका छन् । अर्जेन्टिनालाई विश्वास रहनेछ, उसले १५ औं पल्ट कोपा जित्नेछ र सबैभन्दा बढी १५ पल्ट उपाधि जितेको कीर्तिमानका लागि उरुग्वेका बराबरी गर्न सक्नेछ । ब्राजिल भने १० औं पल्ट दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठूलो उपाधि जित्ने दाउमा हुनेछ । दुःख खाली एउटै तथ्यमा हुनेछ, स्वास्थ्य आचारसंहिताका कारण माराकानामा दर्शक भने हुने छैनन् ।

प्रकाशित : असार २६, २०७८ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?