कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चेकसँग डच स्तब्ध

एएफपी

बुडापेुस्ट — नेदरल्यान्ड्सलाई स्तब्ध पार्दै चेक गणतन्त्र युरो-२०२० को क्वार्टरफाइनल प्रवेश गरेको छ । चेकले हंगेरीको बुडापेस्टस्थित पुस्कास एरिनामा १० खेलाडीमा सीमित भएको नेदरल्यान्ड्सलाई २–० ले पराजित गर्‍यो । चेकले नेदरल्यान्ड्समाथि लगातार चौथो खेल जितेको हो ।

चेकसँग डच स्तब्ध

चेकले सेमिफाइनलमा स्थान बनाउन डेनमार्कसँग शनिबार बाकुमा खेल्ने छ । डेनमार्कले अघिल्लो दिन वेल्सलाई ४–० ले पराजित गरेको थियो । २००४ को युरोको क्वार्टरफाइनलमा चेकले डेनमार्कलाई ३–० ले पराजित गरेको थियो । समूह चरणका तीनै खेल जितेर दाबेदारीता पस्केको नेदरल्यान्ड्सले एउटै गतिलो आक्रामक गर्न सकेन ।

दोस्रो हाफको १० औं मिनेटमा भएको एक क्षणमा खेलको नतिजामा ठुलो उतारचढाब आयो । डोनयेल मालेनले वाल पासमा चेकका दुई रक्षक काटेर अघि बढे पनि किपर समेत काट्न खोज्दा गोल गर्न असमर्थ रहे । त्यसैमा काउन्टर एट्याकमा चेकले अगाडि बढाएको बलमा प्याट्रिक सिकलाई रोक्न खोज्दा म्याथ्युज डी लिट बिट आफै चिप्लिन पुगे । गोल गर्न तम्सिएका सिकले बल पाउनु अघि डी लिटले बल हातले तानेर फर्काइदिए ।

रेफ्रीले पहिला डी लिटलाई पहेलो कार्ड देखाए पनि भीएआरको सहयोगमा रातो कार्ड देखाएपछि नेदरल्यान्ड्स ५५ औं मिनेटमा १० खेलाडीमा झरेको थियो । त्यसको १३ मिनेटपछि टोमस होल्सले कर्नरमा आएको बलमा हेडमा गोल गरी चेकलाई महत्वपूर्ण अग्रता दिलाए । सिकले ८० औं मिनेटमा गोल गरे । प्रतियोगितामा सिकको यो चौथो गोल हो र सर्वाधिक गोल गर्नेमा उनी पोर्चुगलका क्रिष्टियानो रोनाल्डोभन्दा एक गोलले पछाडि छन् ।

सिकको नजर मिलान बारोसको कीर्तिमानमा हुनेछ । बारोसले युरो २००४ मा चेकका लागि ५ गोल गरेका थिए, जुन एकै युरोपियन च्याम्पियनसिपमा चेक खेलाडीले बनाएको सर्वाधिक गोलको कीर्तिमान हो ।

प्रकाशित : असार १४, २०७८ ०६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?