१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

अब पो वास्तविक खेल

युरो २०२० का लिग चरणका खेल सकिएका छन् । अब के त ? फ्रान्स अझै पनि उपाधिका लागि सबैभन्दा बलियो प्रत्याशी हो । अरु केही टिमले पनि राम्रो खेलेर धेरैको मन चोरेका छन् । जतिबेला नकआउट चरणका खेल सुरू हुनेछन्, प्रतियोगिता अझ रोमाञ्चक हुनेछ ।
रोरी स्मिथ

न्युयोर्क टाइम्स — बुडापेस्टमा चलिरहेको खेल सकिन केही मिनेटमात्र बाँकी थियो । फ्रान्सेली मिडफिल्डर एडरिन राबोटले आफ्ना पोर्चुगाली विपक्षी खेलाडी सर्जियो ओलिभेरातर्फ हेरे अनि सल्लाह दिए, पछाडि हट्नु ।

अब पो वास्तविक खेल

रंगशालामा जति थिए, राबोटलाई जस्तै सबैलाई थाहा भइसकेको थियो, युरो २०२० को समूह चरण समाप्त भएको छ । खाली औपचारिकता मात्र बाँकी थियो । फ्रान्स र पोर्चुगल दुवै नकआउट चरण पुगिसकेका थिए । यस्तो धक्कामुक्की खाएर खेलाडीले किन खेल्ने प्रयास गर्नु ?

अबको काम त घडीमा नजर लगाउनु मात्र थियो । खेल आफैमा दुवै टिमका लागि उतारचढावपूर्ण रह्यो । खेलले छिनछिनमा रंग फेरिरह्यो । पोर्चुगलले अग्रता लियो, फेरि फ्रान्सले । पोर्चुगल फेरि खेलमा फर्केको थियो । यस्तै टिमको भाग्य पनि फेरिइरहेको थियो । खासमा भाग्य उनीहरूको हातमा मात्र थिएन, म्युनिकमा जर्मनी र हंगेरीबीच चलिरहेको खेलमा पनि थियो । समूहका चारै टिमलाई विश्वास थियो, आफू अर्को चरण पुग्नसक्ने ।

जतिबेला लियोन गोरेट्ज्काले जर्मनीका लागि गोल गर्दै एक अंक कमाए । सबै समीकरण पूरा भए । हंगेरी अभाग्यशाली रह्यो । तर ठूला मान्न मिल्ने तीनै टिमले अन्तिम १६ को यात्रा तय गरे । र, यसले युरो २०२० मा केही खुबै स्वाद लिएर हेर्न मिल्ने खेल जुराएको छ । जस्तो, आइतबार सेभियामा पोर्चुगलले बेल्जियमको सामना गर्दै छ । मंगलबार लन्डनमा इंग्ल्यान्डले फेरि एकपल्ट जर्मनीसँग फुटबल मैदानमा युद्ध छेड्नेछ ।

फ्रान्स बलियो, अरू कमजोर नठानौं

खासमा वास्तविक खेल अब पो सुरु हुनेछ । विश्व च्याम्पियन फ्रान्सले नकआउट चरणको यात्रा त्यति सजिलै पूरा गरेन, जति यसका मुख्य प्रतिद्वन्द्वी बेल्जियम, नेदरल्यान्ड्स र इटालीले गरे । तर यही तथ्यले कथाका सबै पाटो खोल्दैन । फ्रान्सका विपक्षी टिम नै बलिया थिए । पोर्चुगल त युरोको डिफेन्डिङ च्याम्पियन भइहाल्यो । हंगेरी पनि आफैमा कमजोर थिएन । जर्मनीलाई हराउन मात्र चुकेको थियो, आफ्ना जोडदार समर्थकसामु ।

फ्रान्सले पोर्चुगलविरुद्ध समूहको अन्तिम खेल मज्जाले खेल्यो । जतिबेला खेलले माग गर्छ, फ्रान्सले त्यतिबेला त्यहीअनुसार प्रदर्शन गर्न सक्षम छ भनेर देखायो । जतिबेला राबोट, पाउल पोग्बा र अन्य खेलाडीले राम्रो खेल्छ, त्यतिबेला केलियन एमबाप्पेले अहिलेसम्म गोल गरेको छैन भन्नुको अर्थ छैन । एमबाप्पे यसरी नै चुप रहन्छ भन्ने पनि छैन । फ्रान्स खासमा जर्मनी, पोर्चुगल, बेल्जियम, इंग्ल्यान्ड र स्पेनजस्ता टिमभन्दा उम्दा नै देखिएको छ ।

नत्र, फ्रान्स त्यस्तो समूहमा थियो, कुनै प्रकारको तलमाथि निको हुने खालको थिएन । इटाली र नेदरल्यान्ड्सले पक्कै पनि सबैलाई प्रभावित पारेको छ । दुवै टिममा युवा छ, त्यसैले यसमा ढिलोचाँडो छिद्र पर्न सक्छ । अझै फ्रान्स नै यस्तो टिम हो, जसको हारका लागि सबैले प्रतीक्षा गरिरहेका हुनेछन् ।

‘समय सबथोक हो’

रोबर्टो मानचिनीको एउटा इच्छा थियो । युरो २०२० सुरु हुने पूर्वसन्ध्यामा इटालीका यी प्रशिक्षकले भनेका थिए, दशक जति समयको खराब प्रदर्शनपछि आफ्नो टिमले फेरि एकपल्ट सर्वसाधारण फुटबलप्रेमीको मन जितोस् । इटालीको खेलमा फेरि चमक फर्कियोस् । उनका खेलाडीले यही काम गरेका छन् । इटालीले आफ्नो समूहको सबै तीन खेल जितेको थियो । रोमन समर्थकअगाडि इटालीले रोमाञ्चक, कल्पनाशील फुटबल खेलेको छ ।

नेदरल्यान्ड्स पनि साँच्चै कम्तीको रहेन । यसपल्टको प्रतियोगितामा कुनै टिम आफैमा परिपूर्ण देखिएको छ भने त्यो यही नेदरल्यान्ड्स नै हो । डच टिमको खेल हेर्न पक्कै धेरैलाई मज्जा आएको हुनुपर्छ । नेदरल्यान्ड्सले अहिलेसम्म कुनै गोल खाएको छैन, रक्षापंक्तिमा पनि यो सानोतिनो इटाली नै हो । यहाँनिर एउटा तथ्य सबैले बुझ्नुपर्छ, लिग चरणमा राम्रो खेल्दैमा त्यसले नकआउट चरणमा पनि राम्रै गर्छ भन्ने कुनै ठोकुवा छैन ।

युरोका प्रत्येक संस्करणमा त्यस्ता एकाध टिम हुने गर्छन्, जसले धेरैको मन जित्छ । यस्तै काम सन् २००४ मा चेक गणतन्त्र, सन् २००८ मा नेदरल्यान्ड्स र सन् २०१६ मा इटालीले गरेका थिए । तर, जतिबेला नकआउट चरण आयो, सबैको हावा फुस्स उड्यो । सायद इटालीले अबको खेलमा अस्ट्रियालाई लडाउन सक्छ । बेल्जियमले भने यही चरणमा कडा चुनौती सामना गर्ने पक्का छ, पोर्चुगलको रूपमा । कोरोना भाइरस संक्रमण महामारीले प्रतियोगिता ढिला हुँदा इटालीलाई फाइदा नै भएको छ ।

रोबर्टो मार्टिनेजको टिमले लिग चरणका सबै खेल जित्यो । यो फिफा वरीयताको नम्बर एक टिम हो । प्रतियोगिताकै सबैभन्दा बुढो टिम पनि हो यो । लाग्छ, अहिलेको बेल्जियम टिमले त्यो सबै पछाडि छाडिसकेको छ, जसलाई उत्कृष्ट टिम भन्न सकिन्छ । इटालीको टिममा भने यस्तै भाव आउन अझै बाँकी छ । वास्तवमै समय सबथोक हो ।

केहीको यात्रा सजिलो, कसैलाई गाह्रो

एक प्रकारले भन्दा यसपालि युरोको खेल ढाँचा गज्जबको छ । स्विट्जरल्यान्डले आइतबार राति जित निकालेको थियो, तर सोमबारमात्रै त्यो जितको खास अर्थ थाहा पायो । युक्रेन सोमबार पराजित त भयो, तर बुधबार पुगेपछि आफ्नो भाग्यबारे बुझ्यो । यस्तो पर्खाइको मज्जा नै बेग्लै हुन्छ । तर नेदरल्यान्ड्स त्यस्तो टिम रह्यो, जसले एम्स्ट्रडममा भएको अन्तिम खेलअगाडि नै थाहा पाइसकेको थियो, समूह जित्ने आफैले हो । अनि यो खेलअगाडि नै निश्चित भइसकेको थियो, उत्तरी मेसेडोनिया खाली औपचारिक पाहुनामात्र हो ।

अन्तिम खेलअगाडि नै उसको चुनौती सकिसकेको थियो । शनिबार एम्स्ट्रडममा वेल्सले डेनमार्कको सामना गर्नेछ । दुवै टिम आआफ्नो समूहमा उपविजेता थिए । अस्ट्रिया यस्तै टिम थियो, जसले इटालीको सामना गर्नुपरेको छ । स्पेनले आफ्नो समूह जित्न सकेन, किनभने स्विडेनले अन्तिम क्षणमा आएर पोल्यान्डलाई हरायो । तर केही टिम यस्तो पनि रहे, जसले नकआउट चरण पुग्ने निकै कठिन यात्रा नै तय गर्नुपर्‍यो ।

अबको बाटो सबैभन्दा गाह्रो कसैलाई छ भने त्यो बेल्जियमलाई छ । सबैभन्दा पहिला पोर्चुगलको सामना गर्नुपरेको छ । त्यसपछि क्वाटरफाइनल पुगे फ्रान्स अगाडि आइपुग्न सक्छ । त्यसपछि अगाडि बढ्न सके स्पेनले बाटो कुरिरहेको हुन सक्नेछ । यसको ठीक उल्टो इंग्ल्यान्ड र जर्मनीका लागि आफैंमा पहिलो खेल निकै कठिन छ, तर त्यसपछि धेरै हदसम्म सजिलो हुनेछ । त्यसपछि स्विडेन वा क्रोएसिया हुनेछ, झन् त्यसपछि सम्भवतः नेदरल्यान्ड्स हुन सक्नेछ ।

स्विट्जरल्यान्डमा त्यस्तो के छ ?

सन् २०१४ मा ब्राजिल, सन् २०१६ मा फ्रान्स, सन् २०१८ मा रुसमा जस्तै स्विट्जरल्यान्ड फेरि एकपल्ट ठूलो प्रतियोगिताको क्वाटरफाइनल पुगेको छ । प्रश्न उठ्न सक्छ, स्विस टिममा त्यस्तो के छ त ? भन्न कर लाग्छ, स्विस फुटबल अहिले स्वर्णिम समयबाट गुज्रिइरहेको छ । टर्कीमाथि स्विस टिमले जस्तो जित निकालेको थियो, त्यसको प्रशंसा गर्नुपर्छ । स्विस टिम जस्तै केही देश निकै धनी छन् तर जनसंख्या कम । फुटबल राम्रो खेल्छ ।

यहाँ टर्की र रुसजस्ता टिम पनि छन् । यी दुवै ठूला देश हुन् । जनसंख्या बाक्लै छ । तर यी दुई युरो २०२० का असफल टिम रहे । सन् २००२ मा विश्वकपको तेस्रो स्थान जितेयता टर्कीले त्यस्तो केही गर्न सकेको छैन, जसका लागि हेक्का राख्न सकियोस् । तीन वर्षअगाडि आफ्नै देशमा भएको विश्वकपमा रुसले ठीकठाक त खेल्यो, तर यसपल्ट केही गर्न सकेन । अचेल रुसले खेलाडी उत्पादन गरेर निर्यात गर्न छाडेको छ । टर्कीमा त स्तरीय खेलाडी पनि उत्पादन हुन छाडेको हो कि ?

प्रकाशित : असार ११, २०७८ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?