१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

शीर्षताको होडमा इंग्ल्यान्ड–चेक

एएफपी

लन्डन — इंग्ल्यान्डले युरो २०२० समूह ‘डी’ को आफ्नो अन्तिम खेलमा मंगलबार चेक गणतन्त्रको सामना गर्नेछ । यो खेल हुनेछ समूहको शीर्षस्थान हात पार्नका लागि भिडन्त । दुवै टिमले समान रूपमा एक खेल जितेका छन् भने अर्को बराबरी खेलेका छन् ।

शीर्षताको होडमा इंग्ल्यान्ड–चेक

यही खेलको नतिजाले समूहको शीर्षस्थानमा रहने टिमको निर्णय गर्नेछ । यो होडमा इंग्ल्यान्डको तुलनामा चेक केही हल्का अगाडि छ गोलअन्तरका आधारमा ।

चेकले प्रतियोगितामा अहिलेसम्म गरेका तीन गोलमध्ये सबै प्याट्रिक सिकको नाममा छ । टोलीका लागि एक अंक नै समूह विजेताका रूपमा नकआउट पुग्न पर्याप्त हुनेछ । बराबरीले इंग्ल्यान्डलाई पनि अन्तिम १६ सम्म पुर्‍याउने छ । स्कटल्यान्डविरुद्धको पछिल्लो खेल निरस गोलरहित बराबरी खेलेको हुनाले इंग्ल्यान्ड घरमै भइरहेको आफ्नो अन्तिम लिग चरणको खेलमा राम्रो नतिजासँगै अगाडि बढ्न उत्सुक रहनेछ ।

चेकविरुद्ध खेल्दा इंग्ल्यान्डको प्रदर्शन पछिल्लो खेलको तुलनामा अझ परिस्कृत हुनुपर्नेछ । इंग्ल्यान्डका लागि समस्या भनेको कप्तान तथा प्रमुख खेलाडी ह्यारी केन अहिलेसम्म चुपचाप निस्क्रिय जस्तै रहनु हो । चेक भने अहिलेसम्म अपराजित रहन सकेको हुनाले उत्साहित रहनेछ । सम्भवतः चेकले आफ्नो तीव्र गतिको आक्रामक खेल इंग्ल्यान्डविरुद्ध कायम राख्नेछ । लयमा रहेका सिकलाई रोक्नु इंग्ल्यान्डका लागि चुनौती हुनसक्छ ।

क्रोएसियाविरुद्ध स्कटल्यान्ड

जतिबेला इंग्ल्यान्ड र चेक गणतन्त्र शीर्षस्थानका लागि भिडिरहेका हुन्छन्, ठीक त्यही बेला क्रोएसिया र स्कटल्यान्ड पनि मंगलबार आमनेसामने हुनेछन् । यो खेलमा दुवै टिमको लक्ष्य भने फरक हुनेछ । त्यो हो, जितसँगै तेस्रो स्थानमा आउने । गणितीय रूपमा दोस्रो स्थानको सम्भावना कायम रहनेछ यो खेलमा । तर दुवै टिमले प्रतियोगितामा अहिलेसम्म अपेक्षित लय समात्न सकेका छैनन् र गोलकै लागि संघर्ष गरिरहेका छन् ।

कम्तीमा झिनो अन्तरले क्रोएसिया स्कटल्यान्डभन्दा माथि छ । टोलीले पछिल्लो खेलमा चेकविरुद्ध १–१ को बराबरी खेलेको थियो । अर्कोतर्फ इंग्ल्यान्डलाई गोलरहित बराबरीमा रोकेको स्कटल्यान्ड यही नतिजाका कारण उत्साहित रहेको हुनुपर्छ । ग्लास्गोमा हुने खेलअगाडि स्कटल्यान्डका लागि खुसीको तथ्य के हो भने क्रोएसियाविरुद्धका ५ खेलमा अपराजित छ । यसमध्ये तीन खेलमा जित निकाल्न सकेको छ । स्कटल्यान्डसामु ठूला प्रतियोगितामा नकआउट चरण पुग्न नसक्ने तथ्यलाई काट्ने चुनौती हुनेछ ।

प्रकाशित : असार ८, २०७८ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?