कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्ट्रियाले इटालीसँग खेल्ने

रोयटर्स

एमस्टर्डम — नेदरल्यान्ड्स समूह विजेता बन्दै युरो–२०२० को अर्को चरणमा प्रवेश गरेको छ । नेदरल्यान्ड्सले सोमबार १२ हजार दर्शकको समर्थन पाएको योहान क्राएफ एरिनामा पहिलो पटक प्रमुख प्रतियोगिता खेलिरहेको नर्थ म्यासेडोनियालाई ३–० ले सजिलै पन्छायो ।

अस्ट्रियाले इटालीसँग खेल्ने

सबै तीन खेल जितेर समूह ‘सी’ को विजेता बनेको हो । यसै समूहबाट अस्ट्रियाले पनि नकआउट चरणमा प्रवेश गरेको छ । अस्ट्रियाले बुखारेस्टमा युक्रेनलाई १–० ले पराजित गरी समूहमा दोस्रो विजय हात पार्यो । बराबरीले पनि युक्रेनलाई अन्तिम १६ मा पुर्‍याउँथ्यो । तर अस्ट्रियाले युक्रेनलाई कुनै मौका दिएन ।

अस्ट्रियाले शनिबार इटालीसँग क्वार्टरफाइनलमा प्रवेश पाउन खेल्ने छ । नेदरल्यान्ड्सले समूह ‘डी’, ‘ई’ र ‘एफ’ को तेस्रो हुने मध्येको एक टोलीसँग अन्तिम १६ मा बुडापेस्टमा खेल्ने छ ।

युक्रेन प्रतियोगिताबाट बाहिरिसकेको भने छैन । सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ, त्यसबाट प्रत्येक समूहको शीर्ष दुई टोली सोझै अन्तिम १६ मा पुग्ने छन् भने उत्कृष्ट चार तेस्रो हुने टोली पनि नकआउट चरणमा पुग्नेछन् । त्यसमा युक्रेनले आशा गर्नु पर्नेछ । तर समूह ‘ए’ मा ४ अंक बटुलेको स्विटजरल्यान्डभन्दा युक्रेन पछाडि परिसकेको छ ।

स्विटजरल्यान्डको ४ र युक्रेनको ३ अंक छ ।फ्रान्क डी बोएर टोली म्यासेडोनियासँगको खेल अघि नै नकआउट चरण पुगिसकेको थियो । शनिबारमात्र बार्सिलोनासँग सम्झौता गरेका मेम्फिस डिपेले २४ औं मिनेटमा काउन्टर एट्याकमा खोलेको खातामा कप्तान जर्जिनिओ विज्नाल्डमले मध्यान्तरपछि ७ मिनेटको अन्तरमा २ गोल थपेका थिए । लिभरपुलबाट हालैमात्र पेरिस सेन्ट जेर्मेन लागेका विज्नाल्डमले प्रतियोगितामा आफ्नो गोल संख्या ३ पुर्याइसकेका छन् । उनले नेदरल्यान्ड्सका लागि पछिल्ला १० खेल खेल्नेक्रममा ९ गोल गर्नुका साथै ३ गोलमा पास उपलब्ध गराएका छन् ।

म्यासेडोनियाका कप्तान गोरान पाण्डेभले नेदरल्यान्ड्सको खेलबाट आफ्नो २० वर्षे अन्तर्राष्ट्रिय यात्रा टुंगाएका छन् । म्यासेडोनियाको जर्सीमा यो उनको १ सय २२ औं खेल थियो । खेल सुरु हुनुअघि उनलाई नेदरल्यान्ड्सको टोलीले १२२ लेखेको आफ्नो जर्सी प्रदान गरेको थियो । ६९ औं मिनेटमा मैदान छाड्ने बेला उनलाई म्यासेडोनियाका खेलाडीले ‘गार्ड अफ अनर’ दिएका थिए । ३८ वर्षे पाण्डेभले म्यासेडोनियाबाट सर्वाधिक ३८ गोल गरेका छन्, जुन टोलीका अन्य खेलाडीको भन्दा दोब्बर गोल संख्या हो । उनले यसै प्रतियोगितामा अस्ट्रियाविरुद्धको खेलमा गोल गरेका थिए ।

युक्रेन र अस्ट्रियाविरुद्धको पहिलो दुई खेलमा हार बेहोरी म्यासेडोनिया यसअघि नै बाहिरिएको थियो । पहिलो पटक प्रतियोगिता खेली सबै तीन खेल हार्ने टर्की (१९९६), डेनमार्क (१९६४), फ्रान्स (१९६०) पछि म्यासेडोनिया पहिलो टोली बनेको छ ।

युरोपियन च्याम्पियनसिपमा अस्ट्रियालाई पहिलो पटक नकआउट चरणमा पुर्‍याउन क्रिस्टोफ बाउमगार्टनरले २१ औं मिनेटमा नजिकको दूरीबाट गरेको गोल पर्याप्त बन्यो । अस्ट्रियाले पहिलो हाफमै पोस्टमा लक्षित १३ आक्रमण गरेको थियो, जुन अघिल्लो दिन इटालीले वेल्समाथि गरेको भन्दा एकमात्र कम हो ।

प्रकाशित : असार ८, २०७८ ०५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?