कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्व टेस्ट च्याम्पियनसिप : भारतविरुद्ध न्युजिल्यान्डले फर्कायो बलियो जवाफ

एजेन्सी

साउथह्याम्पटन — न्युजिल्यान्डले विश्व टेस्ट च्याम्पियनसिपको आइतबार तेस्रो दिन भारतविरुद्ध बलियो जवाफ फर्काएको छ । सुरुमा न्युजिल्यान्डले भारतलाई सस्तोमा समेट्यो र पछि सुदृढ ब्याटिङ गर्दै आफूलाई बलियो स्थितिमा राख्यो ।

विश्व टेस्ट च्याम्पियनसिप : भारतविरुद्ध न्युजिल्यान्डले फर्कायो बलियो जवाफ

खराब प्रकाशका कारण दिनको खेल चाँडै समाप्त हुँदा न्युजिल्यान्डले दुई विकेटमा १ सय १ रन बनाएको छ र १ सय १६ रनले पछाडि छ ।

अब न्युजिल्यान्डले चौथो दिन भारतमाथि अग्रता कायम राखेर दबाब सिर्जना गर्ने प्रयास गर्नेछ । न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सन १२ रन बनाएर खेलिरहेका छन् । उनलाई शून्यमा रहेका रस टेलरले साथ दिइरहेका छन् । प्रारम्भिक ब्याट्सम्यान जोडी टम लथाम र डेभन कनवेले पहिलो विकेटका लागि ७० रनको साझेदारी गर्दै सानदार सुरुवात दिए ।

लथाम ३० रन बनाएर आउट भएपछि कनवेले इनिङ्स सम्हाल्ने प्रयास गरे । यसक्रममा उनले ५४ रन बनाए र आउट भए । उनले छ चौका प्रहार गरे । भारतका बलरमध्ये इशान्त शर्मा र रविचन्द्रन आश्विनले एक-एक विकेट लिएका छन् । यसअघि केली जेमिसनले विराट कोहली र ऋषभ पन्तलाई कम अन्तरमा चाँडै आउट गर्दै पाँच विकेट लिए ।

त्यस प्रदर्शन अगाडि भारत आफ्नो पहिलो इनिङ्समा २ सय १७ रन बनाएर अलआउट भएको थियो । अग्ला पेसम्यान जेमिनसले २२ ओभरमा ३१ रन खर्चेर पाँच विकेट लिए । यसमा उनले १२ ओभर मेडन राखेका थिए । न्युजिल्यान्डका लागि आफ्नो खेल जीवनको आठौं टेस्ट खेलिरहेका २६ वर्षीय बलरको यो पाँचौं पाँच विकेटको उत्कृष्ट प्रदर्शन हो ।

भिजेको मैदानका कारण दिनको खेल आधा घण्टा पछाडि सुरु भएको थियो र भातरले तीन विकेट गुमाएर १ सय ४६ रनबाट खेल्न सुरु गरेको थियो । त्यसमा कप्तान कोहली ४४ र अजिन्के रहाणे २९ रन बनाएर खेलिरहेका थिए । बादल छाएको आकाश र घाँसे पिचका कारण भारतका लागि ब्याटिङ सजिलो रहेन र उसले लगातार विकेट गुमाएको थियो ।

प्रकाशित : असार ७, २०७८ ०६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?