कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्लेयर्स टु वाच : इभान पेरिसिच र रहिम स्टर्लिङ

काठमाडौँ — युरो २०२० अन्तर्गत शुक्रबार ३ वटा खेल हुँदैछन् । पहिलो खेलमा साँझ ६ : ४५ बजे डब्लिनमा स्विडेनविरुद्ध स्लोभाकियाले प्रतिस्पर्धा गर्नेछ । त्यस्तै राति ९ : ४५ बजे ग्लास्गोमा क्रोएसियाविरुद्ध चेक गणतन्त्र र १२ : ४५ मा लन्डनमा हुने खेलमा इंग्ल्यान्डविरुद्ध स्कटल्यान्डले प्रतिस्पर्धा गर्नेछ ।

प्लेयर्स टु वाच : इभान पेरिसिच र रहिम स्टर्लिङ

आजको 'प्लेयर्स टु वाच' मा हामीले क्रोएसियाका इभान पेरिसिच र इंग्ल्यान्डका रहिम स्टर्लिङलाई छानेका छौं ।

इभान पेरिसिच (क्रोएसिया)

इभान पेरिसिचले ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा आफूलाई प्रमाणित गरिसकेका छन् । सन् २०१८ को विश्वकपमा क्रोएसियालाई उपाविजेता बनाउन उनको निर्णायक भूमिका थियो । इंग्ल्यान्डविरुद्ध सेमिफाइनल र फ्रान्सविरुद्ध फाइनलमा उनले गोल गरेका थिए ।

सिरी ‘ए’ च्याम्पियन इन्टर मिलानका यी विंगरले आफ्नो अनुभव छिमेकी टोली चेक गणतन्त्रसँग शुक्रबार हुने खेलमा देखाउनुपर्नेछ । इंग्ल्यान्डसँग १–० ले हारेको क्रोएसिया यो खेलमा पुनरागमनको दबाबमा हुनेछ । ३२ वर्षे पेरिसिचले २०११ यता क्रोएसियाका लागि १ सय २ खेलमा २८ गोल गरेका छन् ।

रहिम स्टर्लिङ (इंग्ल्यान्ड)

युरो २०२० को आफ्नो सुरुआती खेलमा विश्वकप फाइनलिस्ट क्रोएसियाविरुद्ध गोल गरेका रहिम स्टर्लिङ स्कटल्यान्डसँग अधिक आत्मविश्वासी हुनेछन् । नकआउट चरणको लक्ष्य पूरा गर्न स्कटल्यान्डमाथिको जित इंग्ल्यान्डका लागि महत्त्वपूर्ण छ ।

म्यानचेस्टर सिटीबाट सन् २०१९/२० को तुलनामा गत सिजन केही फिक्का रहे पनि यी स्ट्राइकरले जब आफ्नो उच्च लय भेट्टाउनेछन्, तब उनी इंग्लिस टिमको मुख्य हतियार हुनेछन् । बायाँ क्षेत्रबाट तीव्र गतिमा बल लैजाने र विपक्षी डिफेन्डरलाई नियन्त्रणमा राख्नसक्ने उनको खुबी दर्शनीय हुन्छ । जमैकामा जन्मिएका २६ वर्षे यी स्ट्राइकरले २०१२ यता इंग्ल्यान्डबाट ६२ खेलमा १५ गोल गरेका छन् ।

प्रकाशित : असार ४, २०७८ १३:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?