कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एएफसीको एक निर्णयले खुलेको अवसर

एएफसीको निर्णयले एसियन कप छनोटको समीकरण पनि सजिलो भएको छ । नेपाल र अन्य केही देशले एसियन कप खेल्ने सपना बुन्न सक्नेछन् ।
हिमेश

काठमाडौँ — एसियाली विश्वकप छनोटको दोस्रो चरण आफैमा जटिल थियो । आमखेलप्रेमीले बुझ्न केही मिहिनेत गर्नैपर्ने । यो चरणमा खेल्ने सबै टिमका लागि एसियाली फुटबल महासंघ (एएफपी) ले केही न केही व्यवस्था गरेको थियो, एक प्रकारले भन्दा यो हात खाली नहुने छनोट थियो ।

एएफसीको एक निर्णयले खुलेको अवसर

यस्तो किनभन्दा यो विश्वकप छनोटमात्र थिएन, एसियन कप छनोट पनि थियो । फेरि यही कारणले छनोटको दोस्रो चरणको समीकरणलाई कठिन बनाएको थियो ।

र, रोमाञ्चक पनि । यही दोस्रो चरण मंगलबार टुंगिएको छ । यसको समाप्तिको अर्को दिन बुधबार एएफसीले अर्को ठूलो निर्णय लिएको छ । चीनमा हुने प्रतियोगिताको दुई वर्षअगाडि यसको छनोट खेल्ने २२ टिम घोषणा गरेको छ । यी २२ टिम एसियाली विश्वकप छनोट दोस्रो चरणको समाप्तिमा १४ देखि ३५ औं स्थानका छन् । यो निर्णयपछि नेपालजस्तै धेरैको भाग्य खुलेको छ । अब ढुक्क भएर एसियन कप छनोटका लागि तयारी सुरु गर्न सक्ने छ ।

एएफसीको यो एक निर्णयले एसियन कप छनोटको समीकरण पनि सजिलो भएको छ । त्यहीं नेपाल र अन्य केही देशले एसियन कप खेल्ने सपना बुन्न सक्नेछन् । छनोट सन् २०२२ को फेब्रुअरी १ देखि २७ सम्म हुनेछ । यो छनोटमा कुल २४ टिमको सहभागिता हुनेछ । बाँकी दुई टिमको निर्णय प्लेअफबाट हुनेछ । प्लेअफ खेल्ने टिम छन्, इन्डोनेसिया, कम्बोडिया, चाइनिज ताइपेई र ग्वाम । यी चार टिम ३६ देखि ३९ औं स्थानमा छन् ।

छनोट २४ टिमलाई ६ समूहमा विभाजन गरेर लिग चरणका खेल हुनेछ । यी खेल पनि ‘होम एन्ड अवे’ राउन्ड रोबिनका आधारमा हुनेछ । प्रत्येक समूहको शीर्षस्थानमा रहने ६ टिम स्वतः एसियन कपमा छनोट हुनेछन् । त्यसपछि समूहको दोस्रो चरणमा आउने शीर्ष ६ टिमले पनि एसियन कप खेल्ने पाउनेछन् । यसरी यो छनोट चरणबाट ११ टिमले एसियन कप खेल्नेछन् । त्यो भनेको २४ मध्ये लगभग आधाभन्दा केही कमले एसियन कप खेल्ने पाउनेछन् । एसियन कपमा पनि २४ टिम हुनेछन् ।

त्यसमध्ये १३ टिम यसअघि नै छनोट भइसकेका छन् । यी भाग्यमानी टिम हुन्, डिफेन्डिङ च्याम्पियन कतारसँगै सिरिया, चीन, अस्ट्रेलिया, इरान, इराक, साउदी अरेबिया, ओमान, जापान, यूएई, भियतनाम, दक्षिण कोरिया र लेवनान । यी टिमबाहेक एसियन कप छनोट खेल्ने टिममा एसियाली विश्वकप छनोटको आफ्नो समूहको तेस्रो स्थानमा रहने तीन टिम छन् । ती हुन्, कुवेत, उज्वेकिस्तान र ताजकिस्तान ।

तेस्रो र चौथो स्थानमा रहने सबै १६ टिमले पनि एसियन कप छनोट खेल्न पाएका छन् । तेस्रो स्थान आउने टिम हुन्, फिलिपिन्स, जोर्डन, बहराइन, प्यालेस्टाइन, भारत, किर्गिस्तान, मलेसिया र तुर्कमेनिस्तान । यस्तै चौथो स्थानमा आउने टिम हुन्, माल्दिभ्स, नेपाल, हङकङ, सिंगापुर, अफगानिस्तान, मंगोलिया, थाइल्यान्ड र श्रीलंका । यमन, बंगलादेश र म्यानमारले भने अन्तिम तथा पाँचौं स्थानमा रहेर पनि एसियन कप छनोट सिधै खेल्न पाए ।

यसको ‘ड्र’ एएफसीको मुख्यालय क्वालालम्पुरमा जुन २४ मा निकालिने छ । नेपाल आफ्नो वरीयताअनुसार त्यसको चौथो ‘पट’ मा परेको छ । एसियाली विश्वकप छनोट दोस्रो चरणको समाप्तिमा १२ टिमले अब तेस्रो चरण खेल्नेछ । यी टिम तिनै १३ मध्ये १२ टिम हुन्, जसले सिधै एसियन कप खेल्नेछ । कतारले विश्वकप आयोजकको रूपमा छनोट खेल्नुपर्ने छैन । यी १२ टिमलाई दुई समूहमा विभाजन गरेर ‘होम एन्ड अवे’ राउन्ड रोबिनको आधारमा हुनेछ ।

त्यसमध्ये प्रत्येक समूहको शीर्ष दुई स्थानमा रहने टिम विश्वकप अन्तिम चरणका लागि छनोट हुनेछ । प्रत्येक समूहको तेस्रो चरणमा रहने टिम भने छनोटको चौथो चरण पुग्नेछन् । यो चरण भनेको एकै प्लेअफको खेल हुनेछ, यसमा दुई लेगको खेल हुने छैन । यसको विजेताले अन्तरमहादेशीय प्लेअफ खेल्नेछ । यसमा एसियासँगै उत्तर र केन्द्रीय अमेरिका, दक्षिण अमेरिका र ओसियनाका एक एक गरेर चार टिम हुनेछन् । यसबाट दुई टिमले विश्वकप अन्तिम चरण खेल्नेछन् ।

प्रकाशित : असार ३, २०७८ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?