कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोनाल्डोको कीर्तिमान

पोर्चुगलले हंगेरीलाई ३-० ले हरायो
एएफपी

बुडापेस्ट — क्रिस्टियानो रोनाल्डोले युरोपियन च्याम्पियनसिपमा कीर्तिमानहरु बनाउँदा साबिक विजेता पोर्चुगलले मंगलबार हंगेरीमाथि ३–० को विजय हात पारेको छ ।

रोनाल्डोको कीर्तिमान

पोर्चुगलले अन्तिम ८ मिनेटमा सबै तीन गोल गर्दै ‘ग्रुप अफ डेथ’ मानिएको समूह ‘एफ’ को पहिलो खेलमा महत्त्वपूर्ण विजय निकालेको हो ।

हंगेरीसँगको खेलमा उत्रिएपछि ५ वटा युरोपियन च्याम्पियनसिप खेल्ने पहिलो खेलाडी बनेका रोनाल्डोले खेलको अन्त्यतिर अन्य कीर्तिमान थप्दै गए । खेलको दाबेदार भनिए पनि पोर्चुगललाई गोलको खडेरी तोड्न ८४ मिनेट लागेको थियो । रक्षक राफाइल गुइरेरोले गरेको प्रहार डिफलेक्टेड भएर गोल भएको थियो । त्यसको तीन मिनेटपछि नै रोनाल्डोले पेनाल्टीमा गोल गरे । इन्जुरी टाइमको दोस्रो मिनेटमा रोनाल्डोले नै आफ्नो दोस्रो गोल थपे ।

तस्बिर : रोयटर्स

रोनाल्डोले आफूले खेलेको पाँचै युरोपियन च्याम्पियनसिपमा गोल गर्ने कीर्तिमान बनाए । पहिलो गोल गरेसँगै उनी युरोपियन च्याम्पियनसिपमा सर्वाधिक गोल गर्ने खेलाडी बने । फ्रान्सका मिसेल प्लाटिनीको ९ गोललाई उछिन्दै उनले युरोपियन च्याम्पियनसिपमा आफ्नो कुल गोल संख्या ११ पुऱ्याएका छन् । साथै इरानका अली देईको राष्ट्रिय टोलीबाट सर्वाधिक १ सय ९ गोलको कीर्तिमान भन्दा रोनाल्डोले ३ गोलले मात्र पछाडि छन् ।

तस्बिर : रोयटर्स

पुस्कास एरिनामा ६७ हजार भन्दा बढी दर्शकमाझ रोनाल्डोले पहिलो हाफमा सजिलो गोल गर्ने मौका चुकाएका थिए भने डिएगो जोटाको दुई प्रहारलाई हंगेरीका गोलरक्षकले असफल तुल्याई दिए । यस समूहका अन्य दुई टोलीमा फ्रान्स र जर्मनी रहेका छन् ।

तस्बिर : रोयटर्स

प्रकाशित : असार २, २०७८ ००:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?