कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोर्चुगलको कठिन परीक्षा

एएफपी

बुडापेस्ट — डिफेन्डिङ च्याम्पियनका रूपमा युरो २०२० मा पोर्चुगलले निकै कठिन समूह पाएको छ । नकआउट चरण पुग्न दुई पारम्परिक महाशक्ति फ्रान्स र जर्मनीसँग कडा प्रतिस्पर्धा गर्नुपर्नेछ ।

पोर्चुगलको कठिन परीक्षा

त्यसअघि पोर्चुगलको पहिलो परीक्षा मंगलबार हुनेछ हंगेरीविरुद्ध । हंगेरीलाई फाइदाको तथ्य भने आफ्ना समर्थकमाझ खेल्ने अवसर पाउनु हो । आइसल्यान्डविरुद्धको आफ्नो अन्तिम प्लेअफ खेलमा हंगेरीले बलियो मानसिकताको प्रदर्शन गरेको थियो । यो हंगेरीको नाटकीय पुनरागमनको कथा पनि थियो ।

यता पोर्चुगल भने फ्रान्सेली भूमिमा युरोको उपाधि जितेको पाँच वर्षपछि त्यही त्यसकै रक्षा गर्न मैदानमा उत्रँदै छ । यति बेला सबैको नजर कप्तान क्रिस्टियानो रोनाल्डोमै हुनेछ । यसको कारण हो, उनी १ सय ९ गोलको अन्तर्राष्ट्रिय गोलबाट ५ गोलमात्र टाढा छन् । पोर्चुगलको तयारी अघिल्लो दिनसम्म पनि ठीक चलिरहेको थियो, तर पछिल्लो पटक टिमबाट आएको समाचार सुखद छैन ।

टोलीका प्रमुख खेलाडी जाओ क्यानसेलो अब टिममा रहने छैनन् । उनको स्थानमा आएका छन् डिएगो डालोट । उनलाई कोरोना भाइरस संक्रमणले छोएको छ । पोर्चुगललाई दुई ठूला प्रतिद्वन्द्वीको सामना गर्नु अगाडि हंगेरीविरुद्ध निश्चित जितका लागि प्रयास गर्ने चर्को दबाब रहनेछ । हंगेरीको फुटबलका लागि भने यो खेल इतिहासकै सर्वाधिक महत्त्वको रहनेछ । किनकि युरो आयोजकका रूपमा हंगेरीको यो पहिलो खेल हो ।

त्यसमाथि यो खेल डिफेन्डिङ च्याम्पियनविरुद्ध छ । तर हंगेरीका लागि पोर्चुगलको सामना गर्नु सजिलो भने रहने छैन, किनभने उसले अहिलेसम्म आफ्नो प्रतिद्वन्द्वीमाथि जित निकाल्न सकेको छैन । त्यसैले हंगेरीका प्रशिक्षक मार्को रोसीले भनेका छन्, ‘हामीले पोर्चुगलको सामना गर्दा सक्दो मिहिनेत गरेर खेल्नेछौं । हामीलाइ थाहा छ, हामी को विरुद्ध खेल्दैछौं भनेर । हामी संयमित भएर खेल्छौं, तर हामीले युरो सपना पनि टुट्ने दिने छैनौं ।’

तस्बिर : हंगेरी फुटबल संघ

पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोस भने समूह चरणबाट अगाडि बढ्न नसके आफ्नो टिमको त्यो असफलता रहने बताएका छन् । उनले भनेका छन्, ‘हामी उपाधिका दाबेदार हौं, त्यसैले यो समूहबाट नकआउट चरण पुग्नैपर्छ । मलाई विश्वास छ, हामी समूह चरणमा रोकिने छैनौं । पोर्चुगलले यो खेल जितका लागि खेल्नेछ । यसका लागि सबै प्रकारको शक्ति खर्चने छौं । हामी प्रतियोगितामा कुनै पनि प्रतिद्वन्द्वीलाई बलियो चुनौती पेस गर्न सक्षम छौं ।’

फ्रान्सविरुद्ध जर्मनी

म्युनिख– युरो २०२० को पहिलो ठूलो भिडन्तमा मंगलबार मैदानमा ओर्लिंदैछन्, फ्रान्स र जर्मनी । फ्रान्स र जर्मनी प्रायः कुनै पनि प्रतियोगिताको अन्त्यतिर भिड्ने टिम हुन्, तर यसपल्ट समूह चरणमा यी दुई युरोपेली फुटबल महाशक्ति पहिलोपल्ट भिडिरहेका छन् ।

अभ्यासका क्रममा जर्मन खेलाडी । तस्बिर : रोयटर्स

विश्वकप विजेता फ्रान्सलाई धेरैले यसपल्टको युरोमा सबैभन्दा बलियो दाबेदार मानिरहेका छन् । यसभन्दा अगाडिको विश्वकप विजेता जर्मनी भने प्रशिक्षक जोचिम लोको नेतृत्वमा अन्तिम प्रतियोगिता खेलिरहेको छ ।

अभ्यासका क्रममा फ्रेन्च फुटबल टिम । तस्बिर : फ्रेन्च फुटबल संघ

पछिल्लोपल्ट लोको नेतृत्वमा जर्मनीको प्रदर्शन उत्साहबर्द्धक रहने गरेको छैन । उनले फ्रान्सविरुद्धको खेललाई लिएर भनेका छन्, ‘फ्रान्स पछिल्लो समय विश्व फुटबलको सबैभन्दा सन्तुलित टिम हो । फ्रान्सले कसरी फुटबल खेल्छ भनेर अनुमान त गर्न सक्छौं, तर कहिलेकाहीं यो कसैको क्षमताभन्दा बाहिरको हुन्छ । हाम्रो आफ्नो टिम विश्वस्तरीय छ । अहिले टिममा माहौल राम्रो छ । हामी आफूले सक्दो खेल्ने हो भने टिम आत्मविश्वासी हुनसक्छ ।’

फ्रान्सेली प्रशिक्षक डिडिएर डेसच्याम्प भन्छन्, ‘जोचिम लो मेरा साथी हुन् । हामी एकअर्कालाई सम्मान गर्छौं । हामीले एकअर्काविरुद्ध धेरैपल्ट खेलिसक्यौं । जर्मन फुटबलका लागि जे जति गरेका छन्, त्यसका लागि मेरो उनीप्रति ठूलो सम्मान छ । पछिल्लो समय जर्मन टिमको प्रदर्शन पहिला जस्तो छैन, तर पनि यो निकै बलियो टिम हो, यसमा कुनै शंका छैन । जतिबेला हामी फेरि एकपल्ट एकअर्काविरुद्ध खेल्छौं, त्यतिबेला मेरो अनुहारमा खुसी नै हुनेछ ।’

प्रकाशित : असार १, २०७८ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?