कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अन्तर्राष्ट्रिय गोलसंख्यामा सुनील क्षत्रीले मेसीलाई उछिने

इकान्तिपुर डेस्क

काठमाडौँ — भारतीय कप्तान सुनील क्षत्रीले अन्तर्राष्ट्रिय गोल संख्यामा स्टार फुटबल खेलाडी लियोनल मेसीलाई उछिनेका छन् । विश्वकप छनोटअन्तर्गत सोमबार दोहास्थित जसिम बिन हमाद रंगशालामा बंगलादेशविरुद्धको खेलमा २ गोल गर्दै क्षत्रीले मेसीलाई उछिनेका हुन् । 

अन्तर्राष्ट्रिय गोलसंख्यामा सुनील क्षत्रीले मेसीलाई उछिने

उक्त खेल भारतले २–० ले जितेको थियो । क्षत्रीको उत्कृष्ट प्रदर्शनमा विश्वकप २०२२ को छनोटमा भारतले पहिलो जित पनि हात पारेको छ । भारतले खेलेका ७ मध्ये यसअघि ३ खेलमा बराबरी र ३ मा हार बेहोरेको थियो । भारतले दुवै गोल दोस्रो हाफमा गरेको हो । खेलको ७९औं र ९२औं मिनेटमा गोल गर्दै कप्तान क्षत्रीले भारतलाई महत्त्वपूर्ण जित दिलाएका हुन् । योसँगै उनले आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या ७४ पुर्‍याएका छन् ।

सुनील क्षत्रीले यूएईका अली माबखौतलाई पनि गोलसंख्यामा उछिनेका छन् । सन् २००५ को जुन १२ मा पाकिस्तानविरुद्धको खेलमा डेब्यु गरेका उनले अहिलेसम्म ११७ वटा अन्तर्राष्ट्रिय खेल खेलेका छन् । माबखौतले गत हप्ता मात्रै २ गोल गर्दै आफ्नो अन्तर्राष्ट्रिय गोलसंख्या ७३ पुर्‍याएका थिए । समूह ‘ई’ मा रहेको भारत ६ अंकसहित तेस्रो स्थानमा छ । समूहमा कतार २२ अंकसहित पहिलो र ओमान १२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै मेसीले भने गत बिहीबार चिलीविरुद्ध पेनाल्टीमार्फत गोल गर्दै आफ्नो गोलसंख्या ७२ पुर्‍याएका थिए । मेसीले अर्जेन्टिनाबाट १४३ खेल खेलेका छन् । सक्रिय खेलाडीमध्ये भने पोचुर्गलका क्रिस्टियानो रोनाल्डोको नाममा सबैभन्दा बढी १०३ अन्तर्राष्ट्रिय गोल रहेको छ । रोनाल्डोले पोर्चुगलका लागि १७४ खेल खेलेका छन् ।

अहिले खेलिरहेका खेलाडीमध्ये रोनाल्डोपछि सुनील क्षत्री सबैभन्दा अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुन् । अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी भने इरानका अली दाई हुन् । उनले १४९ खेलबाट १०९ गोल गरेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा बढी गोल गर्ने खेलाडीको सूचीमा रोनाल्डो दोस्रो र क्षत्री १०औँ स्थानमा रहेका छन् ।

प्रकाशित : जेष्ठ २५, २०७८ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?