कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

बिलसँगै बितेका सपना

राजु घिसिङ

बाह्रैमास र दिनरात खेल्न मिल्ने मैदान, छात्रावास, आधुनिक फुटबलमा खेलाडीलाई आवश्यक पर्ने सबै सुविधा भएको निजी फुटबल एकेडेमी सञ्चालन गर्ने योजनामा थिए बिल तामाङ । त्यो एकेडेमी, आफ्ना चेलाहरुलाई राष्ट्रिय टिम र युरोपमा खेलेको हेर्ने ती सबै सपना आफूसँगै लिएर यो संसारबाट बिदा भए ।

बिलसँगै बितेका सपना

देशकै फुटबलको प्रतिष्ठित प्रतियोगिता हो बुढासुब्बा गोल्डकप । २०५५ सालदेखि वर्षैपिच्छे भइरहेको थियो । गत वर्ष भने आन्तरिक खिचातानीले यसको निरन्तरतामा ‘ब्रेक’ लाग्यो । व्यवस्थापकीय कमजारीले धरानको यो प्रतियोगिताको स्तर खस्किँदो छ ।

बुढासुब्बा गोल्डकपको पहिलो संस्करणमा पहिलो खेल नै हारेको टिमका एक खेलाडी सर्वाधिक गोलकर्ता भएका थिए । उनले दुई गोल गरेका थिए । बुढासुब्बाको इतिहास पल्टाउन थालेदेखि नै उनको नाम खुबै याद आउँथ्यो । पटियालामा फुटबल प्रशिक्षकको कोर्स एक नम्बरमै उत्तीर्ण गरेपछि उनी सहारा क्लब सम्हाल्दै फेरि धरान पुगेका थिए । उनी थिए बिल तामाङ । औपचारिक नाम, बिलबहादुर तामाङ ।

उनलाई धरानमा हातमा फाइल लिएर ‘टचलाइन’ बाट निर्देशन दिइरहेको देखेको थिएँ । तर, उनको कोचिङ करिअर लामो भएन । घरजम गरे । आर्थिक पाटो बलियो बनाउन हङकङ गए । ज्यान विदेशमै भए पनि सहारा हङकङलाई अघि बढाउँदै आफ्नो मनलाई स्वदेशमै, विशेषतः पोखरामै केन्द्रित गरिरहे । उनीसँग पाँच वर्षअघि साक्षात्कार भएको थियो हङकङमा । उनको कमाइ राम्रो थियो । कन्स्ट्रक्सनमा काम नगरे पनि राम्रो तलब ।

कमाउने योजनामा विदेशिएका युवाभन्दा विल्कुलै फरक थिए उनी । फुटबल एउटा नशा हो, जसमा लागेपछि चुर्लुम्मै डुबिन्छ । उनमा फुटबलको नशा मज्जाले झाागिएको थियो । बेलैमा बुट थन्क्याए पनि उनी फुटबलबाट टाढिएनन् । अझ फुटबलमै योजना बुन्न थालेका थिए । सपना देख्न थालेका थिए । नेपालीहरूको चौतारी जोर्डनको एउटा रेस्टुराामा उनले भनेका थिए, यो जागिर, अर्काको देशमा कति खानु ? विदेश बस्ने रहर पनि होइन । स्वदेश नै फर्किने हो । राम्रो खेलाडी त बन्न सकिनँ । तर फुटबलमै केही गर्ने हो ।’

त्यस बेला उनी हङकङ फुटबल संघमा सूचीकृत एकमात्र नेपाली प्रशिक्षक भइसकेका थिए । उनले आफूलाई प्रशिक्षकको रूपमा निखार्दै लगेका थिए । एएफसी सी र बी लाइसेन्स लिइसकेका थिए । ‘ए’ लाइसेन्स गर्न गत फागुनमा स्वदेश फर्किए । आहा–रारा गोल्डकपमा उत्कृष्ट खेलाडीको पुरस्कार छनोटको पक्ष पनि हेर्न भ्याए । ‘ए’ लाइसेन्सको कक्षा चैतमै सकियो । प्रयोगात्मक परीक्षा बाँकी नै थियो, जुन उनले कहिल्यै दिन पाउने छैनन् । उनलाई पनि कोरोना भाइरसले जिउँदो छाडेन । कोभिड–१९ ले जेठ ४ मा उनको प्राण लियो ।

‘बिल दाइ’ ले बाआमा केही सन्चो नभएकाले पोखरा बस्ने भनेका थिए । त्यो एउटा बहाना थियो । उनी एकेडेमीका लागि जग्गा खरिद गर्न खोजिरहेका थिए । पोखरानजिक तीन स्थानमा हेरे पनि । यसपालि जसरी पनि जग्गा किन्ने अठोटमा थिए । बाह्रैमास र दिनरात खेल्नमिल्ने मैदान, छात्रावास, आधुनिक फुटबलमा खेलाडीलाई आवश्यक पर्ने सबै सुविधा आफ्नो एकेडेमीमा चाहन्थे । यस्तो एकेडेमी सञ्चालनका लागि आठ, दस आना होइन, २५–३० रोपनी नै चाहिन्छ । उनलाई अर्धव्यमवसायिक रूपमै रहेको नेपाली फुटबलमा करोडौं लगानी गर्न कत्ति पनि हिच्किचाहट थिएन । उनी चुनौती सामना गर्न तयार थिए ।

बिल दाइले वैशाख १३ मा बानेश्वरमा कफी पिउँदै भनेका थिए– अब एउटा सुविधासम्पन्न फुटबल एकेडेमी चलाउने हो । देशकै नमूना एकेडेमी बनाउने हो । जसका लागि जे गर्नु पनि तयार छु । राम्रो खेलाडी उत्पादन गरेर युरोपेली क्लबमा खेलाउने सपना छ । त्यसैको लागि ‘ए’ लाइसेन्स पनि गरें । अब सबै हिसाबले तयार छु ।’

त्यही सपनाको लागि उनी चाँडै परिवारसहित स्वदेश फर्किन चाहन्थे, यतै बस्न चाहन्थे । तर, सधैंका लागि बसिदिए । कहिल्यै नचल्ने गरी । उनको अन्तिम राजधानी यात्रा त्यही हो । मेरो अन्तिम भेट पनि । उनी ‘मोटिभेसनल बुक’ पढ्थे । हङकङ फर्कंदा लाने भनेर एक झोला किताब मलाई नै छाडेका थिए । फेरि लिन नआउने गरी गए । बसुन्धरामा दिदीको घरको छतमा चिया पिएपछि बानेश्वरमा आधा दिन बिताएर गृहनगर फर्किनका लागि मेरै स्कुटरपछाडि बसेर विमानस्थल पुगेका थिए । पोखरामा अवतरण त भए तर कहिल्यै नफिर्ने गरी उतैबाट उडे ।

बितेको १३ दिन भइसक्दा पनि मेरो कानमा उनकै त्यो सुविधासम्पन्न एकेडेमीका स्वप्निल शब्दहरू गुन्जिरहन्छन् । कति ठूलो सपना थियो । धेरैका लागि सााच्चिकै सपना । उनी भने आफ्नो सपना यथार्थबाट बदल्न योग्य भइसकेका थिए सबै हिसाबले । त्यसैले त हङकङको आकर्षक जागिर हापेरै ‘ए’ लाइसेन्स गर्न आएका थिए । हङकङमै पार्ट–टाइमर प्रशिक्षक भइसकेका थिए । उनले चिनियाा पार्टनरसँग मिलेर फुटबल सिकाउन थालेका थिए । उनका चेलाहरू इटाली र स्पेनी क्लबमा पुगिसकेका छन् । उनलाई व्यावसायिक रूपमै एकेडेमी सञ्चालन गर्न गाह्रो थिएन । फुटबलको नशामा डुबेका उनले त्यसको उद्योगलाई नियालिसकेका थिए । त्यसैले लोभलाग्दो जागिर महामारीमै माया मारेका थिए ।

लामो अवधि सँगै खेलेका जिवेश पाण्डे उनलाई एकदमै इमान्दार, कसैलाई यताउति नगर्ने, सबैलाई सहयोग गर्ने व्यक्तिको रूपमा चिन्दछन् । उनीहरूले एएफसी सी, बी र ए लाइसेन्स कोचिङ कोर्स पनि एकैसाथ गरे । पोखराको संगम क्लबबाट उदाएका बिल दाइले सहारा, फ्रेन्ड्स र आरसीटीबाट खेले । धेरैजसो फ्रेन्ड्सको जर्सी लगाए । हरि खड्का, वसन्त थापा, नीराजन रायमाझी, रमेश बुढाथोकीको युगमा उनी अग्रपंक्तिका उत्कृष्ट खेलाडी त भएनन् । तर, राष्ट्रिय टिममा एकपल्ट (नवौं दक्षिण एसियाली खेलकुद) स्थान भने बनाए । दुर्भाग्य, ९/११ (न्यूयोर्कमा आतंककारी हमला) ले एउटा खेलाडीको रूपमा राष्ट्रिय टिमको जर्सी लगाएर खेल्ने उनको सपना तुहाइदियो ।

हङकङबाटै पनि नियमित फोनमा फुटबलकै कुरा गर्थे । एकडेमीकै सपना देख्थे । आफ्ना चेलाहरू युरोपका क्लब र नेपालको राष्ट्रिय टिमबाट खेलेको कल्पना गर्थे । अन्तिम भेटमा उनले एकेडेमीको नामबारे पनि भनेका थिए– नाम सोच्नुस भाइ अर्को भेटमा फाइनल गर्नुपर्छ । त्यो बिहानै उनले निश्चल हिमाल, बौद्ध माने र मन्त्र लेखिएका लुङ्दार फहराइरहेको मनमोहक फोटोको पृष्ठभूमिमा ‘गुड मर्निङ, जय बुद्ध, स्टे सेफ’ लेखिएको म्यासेज पठाएका थिए । मैले त्यसको जवाफ नदिँदै हाम्रो भेट भयो । आधा दिन सँगै बितायौं । पोखरा पुगेपछि उनी आफै सुरक्षित भएनन् । त्यो एकेडेमी, आफ्ना चेलाहरूलाई राष्ट्रिय टिम र युरोपमा खेलेको हेर्ने ती सबै सपना आफूसँगै लिएर गए ।

प्रकाशित : जेष्ठ १८, २०७८ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×