करातेमा बेथिति, छैन २३ वर्षदेखि नवीकरण- खेलकुद - कान्तिपुर समाचार

करातेमा बेथिति, छैन २३ वर्षदेखि नवीकरण

नेपालको कराते विश्व कराते फेडेरेसन (डब्लूकेएफ) मातहत छ तर दुई दशकभन्दा बढी समयदेखि नेपालले आफ्नो सदस्यता नवीकरण गरेको छैन
कुशल तिमल्सिना

काठमाडौँ — फौजी संगठनमा मात्र सीमित मार्सल आर्ट्स २०३८ सालमा सर्वसाधारणको पहुँचमा पुगेयता नेपालमा करातेले पनि व्यापकता पाउन थाल्यो । सन् १९९९ को आठौं दक्षिण एसियाली खेलकुदमा सबैभन्दा धेरै पदक जितेर कीर्तिमान बनाउनुभन्दा अगाडि एसियाली तथा विश्व च्याम्पियनसिपमा नेपाली खेलाडीले आफ्नो प्रभाव विस्तार गरिसकेका थिए ।

ओलम्पिकका लागि वाइल्ड कार्डको आसमा प्रशिक्षणरत कराते खेलाडी अनु अधिकारी (दायाँ) र नवीन रसाइली । फाइल तस्बिर

नेपाली करातेको जति गर्विलो इतिहास छ त्यति नै नालायक नेतृत्व । नेपालको कराते विश्व कराते फेडेरेसन (डब्लूकेएफ) मातहत छ । अन्तर्राष्ट्रिय च्याम्पियनसिपदेखि एसियाली खेलकुदसम्मको सहभागिता नेपालले डब्लूकेएफकै छातामा रहेर खेल्ने गर्छ/खेलिरहेको छ । तर नेपालले २३ वर्षदेखि डब्लूकेएफमा आफ्नो सदस्यता नवीकरण गरेको छैन ।

ओलम्पिक इतिहासमा पहिलोपल्ट आसन्न टोकियो ओलम्पिकमा कराते समावेश गरिएको छ । छनोट प्रतियोगितामा सहभागी हुन नपाएका नेपाली खेलाडीहरू वाइल्ड कार्डको प्रतीक्षामा छन् । नवीकरण नभएकै कारण नेपालले वाइल्ड कार्ड पाउने हो कि भनेर चिन्ता सुरु भएको छ ।

अघिल्लो साता प्रशिक्षक तथा दक्षिण एसियाली खेलकुदमा करातेबाट दुई स्वर्ण जितेका दीपक श्रेष्ठले सामाजिक सन्जालमार्फत डब्लूकेएफमा नवीकरण नभएकै कारण वाइल्ड कार्डको आस कमजोर हुन थालेको जनाउ दिएका थिए । २३ वर्षदेखि नवीकरण शुल्क नबुझाउने खेल संघलाई वाइल्ड कार्ड दिनुपर्ने आधारमा शंका गरिएको थियो । यद्यपि सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको १७ औं एसियाली खेलकुदमा नेपालले करातेमा भाग लिएको थियो । खेलाडी विमला तामाङले काताबाट कांस्य पदक जितेर नेपाललाई पदकविहीन हुनबाट जोगाएकी थिइन् ।

महासंघ नै बेखबर

नेपालले डब्लूकेएफमा कहिलेदेखि नवीकरण छैन भन्नेबारे नेपाल कराते महासंघलाई नै आधिकारिक जानकारी छैन । तर, हरेक वर्षको नवीकरण शुल्क र समयमै नतिर्दाको जरिवाना थपिँदै जाँदा अहिले नेपालले तिनुपर्ने रकम ४५ हजार ५९ स्विस फ्य्रांक (५६ लाख रुपैयाँभन्दा बढी) छ । ‘सन् १९९८ मा नै नेपालले डब्लूकेएफलाई तिर्नुपर्ने रकम ८ हजार ५ सय ४५ स्विस फ्य्रांक थियो । यसको अर्थ त्यो समयअगाडिका नेतृत्वले पनि नवीकरण गरेका रहेनछन् । त्यतिबेला वार्षिक १३ सय स्विस फ्य्रांक शुल्क थियो । नियमित नतिर्दा हरेक वर्ष १५ प्रतिशतको दरले जरिवाना लागेको छ,’ अन्तर्राष्ट्रिय मान्यताप्राप्त कराते महासंघका अध्यक्ष रहेका पुरेन्द्रविक्रम लाखेले कान्तिपुरसँग भने, ‘२०२१ को समेत शुल्क जोड्न हामीले डब्लूकेएफलाई ४५ हजार ५९ स्विस फ्य्रांक तिर्न बाँकी छ । अहिले नवीकरण शुल्क १५ सय स्विस फ्य्रांक छ, हरेक वर्ष थप ५ सय जरिवाना पनि जोडिन्छ ।’

२३ वर्षसम्म पनि नवीकरण हुन नसक्नुको कारण के हो त ? अन्तर्राष्ट्रिय मान्यताप्राप्त कराते महासंघका अध्यक्ष पुरेन्द्रविक्रम लाखेको तर्क छ, ‘जसले तिर्छु भनेर पैसा लिएका थिए, उनीहरूले तिरेनन् ।’ नेपालमा अन्तर्राष्ट्रिय र राष्ट्रिय मान्यताप्राप्त कराते महासंघको विवाद सुरु भएको एक दशक हुन लाग्यो । त्योभन्दा अगाडि पनि जिम्मेवार व्यक्तिहरूले रकम फर्स्योट नगरेको लाखेको आरोप छ । उनी अध्यक्ष बन्नुअधि शरदसिंह भण्डारी, थानेश्वर राईलगायतले कराते महासंघको नेतृत्व लिएका थिए ।

‘कराते महासंघको विवाद सुरु हुनुभन्दा अगाडिसम्म म नेतृत्वमा थिइनँ । त्यसैले नवीकरण शुल्क कसरी तिरिएन भन्नेबारे भन्न सक्दिनँ,’ अध्यक्ष लाखेले भने, ‘हामी नेतृत्वमा आएलगत्तै राखेपले राष्ट्रिय मान्यताको अर्को महासंघ बनाइदियो । राष्ट्रिय मान्यताप्राप्त महासंघका केही पदाधिकारीबाट राखेपबाट आउने अनुदान रकमबाट नवीकरण गर्न पैसा छुट्याउने तर तिर्नुपर्ने ठाउँमा नपुर्‍याउने जस्ता गैरजिम्मेवारी काम भए । समस्या त्यसैले थपियो ।’ अध्यक्ष लाखेले वार्षिक नवीकरण शुल्क नबुझाउनुको विकल्प नरहेको पनि प्रस्ट पारे । ‘हामीले ५६ लाखभन्दा बढी तिर्नुपर्ने भएको छ । यसबारे सबैलाई जानकारी गराएको छु । अहिलेसम्म डब्लूकेएफले हामीलाई ‘रेड लिस्ट’ मा राखेको छैन । यदि निलम्बनसम्मको कारबाही गर्‍यो भने पैसा तिरे पनि पाँच वर्षसम्म कुनै पनि आधिकारिक प्रतियोगितामा सहभागी हुन दिँदैन,’ पैसा नतिरेकै कारण महासंघलाई खारेज भने नगर्ने उनको दाबी थियो ।

अध्यक्ष लाखेले नवीकरण बक्यौता चुक्ताका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) र खेलकुद मन्त्रालयमा जानकारी गराउँदा आफू आजित भएको बताए । ‘त्यो सबै रकम हामीले एकैपल्ट बुझाउन सक्दैनौं भने किस्ता किस्तामा बुझाउन सक्छौं । तर यसरी नतिर्दै जाने हो भने चाहिँ जुनसुकै बेला निलम्बनमा पर्न सक्छौं,’ उनले कान्तिपुरसँग भने ।

राखेप सदस्यसचिव रमेशकुमार सिलवालले भने कुनै पनि राष्ट्रिय खेल संघलाई उनीहरूको अन्तर्राष्ट्रिय फेडेरेसनमा नवीकरण गराउन राखेपले बजेट नछुट्याउने प्रस्ट पारे । ‘सम्बन्धित खेलको अन्तर्राष्ट्रिय फेडेरेसनमा नवीकरण गर्ने, नगर्ने कुरा राखेपको क्षेत्राधिकारमा पर्दैन । त्यसका लागि राखेपले बजेट छुट्याउने गरेको पनि छैन । मसँग कराते महासंघको आर्थिक सहयोगको मागसहितको पत्र डेढ महिनाअघि आएको थियो । मैले फाइल मन्त्रालय पठाएको छु,’ सदस्यसचिव सिलवालले भने ।

राखेपले नै गठन गरेको विवाद समाधान उपसमितिले २०७५ फागुनमा तीन महिनाभित्र निर्वाचन गर्ने गरी शम्भु आचार्यको संयोजकत्वमा करातेको तदर्थ समिति गठन गरेको थियो । समितिले तीन महिनाभित्र निर्वाचन गर्न असमर्थ रह्यो । त्यसपछि १३ औं दक्षिण एसियाली खेलकुद नजिक आएकाले राखेपकै निर्देशनमा निर्वाचन १३ औं सागपछि गर्ने भनियो । सागलगत्तै कोरोना भाइरस महामारी सुरु हुँदा २ वर्षभन्दा बढी समय भइसक्दा पनि करातेको सार्थक एकीकरण भएको छैन ।

राष्ट्रिय मान्यताप्राप्त महासंघका अध्यक्ष दावा गुरुङले भने नेपाल ओलम्पिक कमिटीमार्फत डब्लूकेएफमा पुगेको अन्तर्राष्ट्रिय मान्यताप्राप्त कमिटी नै नवीकरण नगराउनुको जिम्मेवार रहने दाबी गरे । ‘हामीलाई अन्तर्राष्ट्रिय रूपमा मान्यता छैन । मान्यता नभएको महासंघले नवीकरण गर्छु भनेर पनि नहुने रहेछ,’ गुरुङले भने ।

‘वाइल्ड कार्डको प्रक्रिया छुट्टै’

अन्तर्राष्ट्रिय मान्यताप्राप्त महासंघका अध्यक्ष लाखे बाहिर हल्ला गरिएजस्तो डब्लूकेएफमा नभएको नवीकरणकै कारण टोकियो ओलम्पिकको वाइल्ड कार्ड प्राप्तिमा प्रभावित नहुने बताउँछन् । ‘हाम्रा प्रशिक्षक साथीहरूले नै यसबारे भ्रम फैलाइरहेको देख्दा मलाई अचम्म लागेको छ,’ लाखेले भने, ‘हामीले ओलम्पिकमा वाइल्ड कार्ड पाउने विषय डब्लूकेएफमा नवीकरण नगरिएकोसँग सम्बन्धित नै छैन । त्यसको छुट्टै प्रक्रिया हुन्छ । म आफैं पनि ऐतिहासिक ओलम्पिकमा नेपालको सहभागिता सुनिश्चित गर्न प्रयासरत छु ।’

ओलम्पिकको शताब्दी लामो इतिहासमा कराते खेल समावेश भएको पहिलोपल्ट हो । छनोट प्रतियोगिताबाट सम्भव नभएपछि वाइल्ड कार्डको तयारीमा रहेका खेलाडी र प्रशिक्षकहरू ऐतिहासिक अवसरबाट वञ्चित हुनेमा सशंकित छन् । अध्यक्ष लाखेले अन्तर्राष्ट्रिय रूपमा संघ बेइमान देखिए पनि खेलाडीको अवसर र अधिकार खोसिन नदिने प्रतिवद्धता जनाए । ‘लामो समयदेखि महासंघ नवीकरण नभए पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडी वञ्चित भएका छैनन् । ओलम्पिकमा पनि त्यस्तो हुँदैन,’ उनले थपे ।

राष्ट्रिय मान्यताप्राप्त महासंघका तत्कालीन अध्यक्ष दावा गुरुङले पनि ओलम्पिक सहभागिताका लागि फेडेरेसनको नवीकरणले कुनै समस्या नहुने दाबी गरे । उनले एकीकरणपछि नेपाल ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय कराते फेडेरेसनमा अपटेड नगरिदिएको पनि बताए । ‘ओलम्पिक कमिटीले निर्वाचनपछि अपटेडसहितको जानकारी दिने भनेको थियो । अहिलेसम्म चुनाव नै हुन सकेन,’ उनले भने ।

ओलम्पिकको तयारीका लागि करातेबाट अनु अधिकारी र नवीन रसाइली वाइल्ड कार्डको आसमा प्रशिक्षणरत छन् । विश्व वरीयतामा अंक नपुगेका कारण उनीहरू छनोट प्रतियोगितामा भने सहभागी हुन पाउँदैनन् । उनीहरूलाई सागका स्वर्ण विजेता प्रशिक्षक दीपक श्रेष्ठले प्रशिक्षण गराइरहेका छन् ।

राम्रो सम्भावना, प्रतिभा र लोकप्रियता हुँदाहुँदै पनि ओलम्पिकमा छनोट हुन नसकेका खेलाडी र सम्बन्धित देशलाई खेलकुदको महामेलामा समेट्न वाइल्ड कार्डको व्यवस्था गरिएको हुन्छ । टोकियो ओलम्पिकमा कराते खेलका लागि विश्वभरबाट २ पुरुष र २ महिला खेलाडीको कोटा छुट्याइएको छ । उक्त कोटा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी), ओलम्पिक आयोजक देश र सम्बन्धित खेलको अन्तर्राष्ट्रिय महासंघको समन्वयमा वितरण गरिन्छ । लामो समयदेखि नवीकरण नभएको देशका खेलाडीले वाइल्ड कार्ड नपाउने खतरा रहेकोतर्फ प्रशिक्षक श्रेष्ठले सजग गराएका थिए ।

प्रकाशित : जेष्ठ १३, २०७८ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्

तेक्वान्दोको ओलम्पिक यात्रा : छनोट खेल गुमाउने, वाइल्ड कार्डकै भर

कुशल तिमल्सिना

काठमाडौँ — कोभिड–१९ महामारीका कारण आयोजक देशले आगन्तुकका लागि नियम परिवर्तन गरेपछि आसन्न टोकियो ओलम्पिकलाई नेपाली तेक्वान्दो खेलाडीले छनोट प्रतियोगिता गुमाउने निश्चित भएको छ ।

फाइल तस्बिर

जुलाई २३ देखि अगस्ट ८ सम्म जापानमा हुने ग्रीष्मकालीन ओलम्पिकका लागि तेक्वान्दोको एसियाली छनोट जोर्डनमा यही मे २१–२२ (भोलि–पर्सि) आयोजना हुँदै छ । कोरोना संक्रमणको दर अत्यधिक हुन थालेसँगै जोर्डन सरकारले दुई साताअघि मात्र भारत र नेपालबाट जोर्डन आउनेका लागि कम्तीमा १४ दिनको क्वारेन्टाइन अवधि अनिवार्य पूरा गर्नुपर्ने नियम ल्याइदियो । त्यसैले ओलम्पिक र पाराओलम्पिकको छनोट प्रतियोगिताको तयारीमा रहेका नेपाली खेलाडीहरू त्यसबाट वञ्चित हुनुपरेको छ ।

‘प्रतियोगिताभन्दा दुई दिनअगाडि जोर्डन पुग्ने भनेर हामीले कतार एयरवेजको टिकटसमेत काटिसकेका थियौं,’ नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्सेर राणाले भने, ‘स्थानीय आयोजकले भन्दा पनि जोर्डन सरकारबाटै भारत र नेपालको नामै तोकेर क्वारेन्टाइन अवधि बढाइदियो । हामीले कुनै माध्यमबाट सम्भव हुन्छ कि भनेर नेपाल ओलम्पिक कमिटी र जोर्डन तेक्वान्दो संघलाई पनि पहल गरिदिन पत्राचार गरेका छौं तर सम्भव हुन्छ जस्तो लागेन ।’

नेपालबाट अहिलेसम्म छनोट प्रतियोगिता पार गरी ओलम्पिक खेल्ने दुई खेलाडी छन् । दुवै तेक्वान्दोका हुन् । संगीना वैद्य (२००४ एथेन्स) र दीपक विष्ट (सन् २००८ बेइजिङ) हुन् । दुवै अहिले राष्ट्रिय टोलीका प्रशिक्षक छन् । सम्भावना भएको प्रतियोगिता खेल्न नपाउनुमा खेलाडीमात्र होइन, यी प्रशिक्षकहरू पनि उत्तिकै निराश छन् ।

तेक्वान्दोबाट ६८ केजीमुनि तौलसमूहका वीरबहादुर महराले ओलम्पिक छात्रवृत्ति पाएका छन् भने ८० केजीमुनि भूपेन श्रेष्ठ र महिलातर्फ ५७ केजीमुनि तौलकी निमा गुरुङलाई छनोट प्रतियोगिता खेल्न तयार गरिँदै थियो । तीनमध्ये दुई खेलाडी १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता हुन् भने निमाले रजत जितेकी थिइन् ।


‘वीरबहादुरले छात्रवृत्तिमा राम्रो तयारी गरिरहेका थिए । भूपेन एसियामा शीर्ष वरीयतामै पर्ने खेलाडी हुन् । उनीहरूले छनोट प्रतियोगितामा राम्रो गर्ने आस हामी सबैलाई थियो,’ तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले कान्तिपुरसँग भने, ‘अब त वाइल्डकार्डकै आश मात्र रह्यो । यो प्रतियोगिता खेल्न नपाएपछि त्यसको सम्भावना पनि कमजोर हुने हो कि †’

ओलम्पिक सकिएको एक महिनापछि जापानमै पाराओलम्पिक प्रतियोगिता हुँदै छ । त्यसका लागि पनि एसियाली छनोट जोर्डनमै हुन्छ । पाराओलम्पिकका लागि पलेस्वाँ महर्जन, सिर्जना घिसिङ र विशाल गर्बुजालाई छनोट गरिएको थियो । उनीहरूले पनि छनोट प्रतियोगिता खेल्न नपाउने भएका छन् ।

जोर्डन सरकारले नेपाल र भारतको नामै तोकेर तथा संक्रमण दर उच्च रहेका देशका लागि पनि क्वारेन्टाइन अवधि छुट्टयाएको छ । यस्तो हुँदा धेरै देश सहभागिता जनाउनबाटै वञ्चित रहनेछन् । प्रतियोगिता स्थगित हुने सम्भावना छ कि ? भनेर नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठसँग प्रश्न गर्दा भने, ‘प्रतियोगिताको सम्पूर्ण अधिकार स्थानीय आयोजकलाई नै हुन्छ । उसलाई एसियाको सबै क्षेत्रबाट प्रतिनिधित्व भयो कि भएन भनेर मतलब हुँदैन । निश्चित खेलाडी संख्या पूरा भएपछि प्रतियोगिता आयोजना हुन्छ । हामीले खेल्न नपाउने भयौं, यो हाम्रो दूर्भाग्य हो ।’


जोर्डनमा दुई दिन चल्ने एसियाली छनोट प्रतियोगितामार्फत ८ पुरुष र ८ महिला खेलाडीले ओलम्पिक खेल्न पाउनेछन् । पुरुषतर्फ ५८ केजीमुनि, ६८ केजीमुनि, ८० केजीमुनि र ८० केजीमाथि तथा महिलातर्फ ४९ केजीमुनि, ५७ केजीमुनि, ६७ केजीमुनि र ६७ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । सबै तौलका फाइनल पुग्ने खेलाडी ओलम्पिकमा छनोट हुनेछन् ।

छनोट प्रतियोगितामा सहभागी हुन नपाएपछि ओलम्पिकमा गर्विलो इतिहास बोकेको नेपालले वाइल्ड कार्डकै सम्भावित विकल्प रोज्नुपर्ने भएको छ । तर यो निश्चित छैन । ‘आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगिता नखेलेपछि अंक घट्ने नियम हुन्छ । तेक्वान्दोको हकमा पनि छनोट प्रतियोगिता खेल्न नपाएपछि वाइल्ड कार्डको सम्भावना कमजोर हुन सक्छ,’ ओलम्पिकका महासचिव श्रेष्ठले भने । तर उनले नेपालको तर्फबाट शतप्रतिशत प्रयास रहने प्रस्ट पारे । वाइल्डकार्ड पाएमा वीरबहादुरले नेपालको प्रतिनिधित्व गर्नेछन् ।

ओलम्पिकमा तेक्वान्दो खेलमा विश्वभरबाट २ महिला र २ पुरुष खेलाडीको वाइल्ड कार्ड कोटा छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, स्थानीय ओलम्पिक आयोजक कमिटी र सम्बन्धित खेलको विश्व महासंघसम्मिलित कमिटीले वाइल्ड कार्ड कोटा वितरण गर्ने हो । उनीहरूको प्राथमिकतामा परेका देशहरूले वाइल्ड कार्ड पाउँछन् । सन् २०१६ को रियो ओलम्पिकमा तेक्वान्दो खेलाडी निशा रावलले वाइल्ड कार्डमार्फत नै प्रतिस्पर्धा गरेकी थिइन् ।

टोकियो ओलम्पिकमा नेपालबाट अहिलेसम्म पौडीका गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सका गोपीचन्द्र पार्कीको मात्र सहभागिता निश्चित भएको छ । यो दुवै खेलको अनिवार्य सहभागिता कोटा हो । त्यसबाहेक तेक्वान्दोका वीरबहादुरसहित ७ खेलका १२ खेलाडी वाइल्ड कार्डको प्रतीक्षामा छन् । एनओसीका महासचिव श्रेष्ठले जुनको अन्तिमसम्म वाइल्ड कार्ड कोटा आइसक्ने जानकारी दिए ।


कोरोनाको विश्वव्यापी महामारीकै कारण ग्रीष्मकालीन ओलम्पिक एक वर्ष सारिएको हो । नयाँ निर्धारित मितिमा पनि ओलम्पिक आयोजना हुनेमा भने शंका छ । ब्राजिल, अमेरिका, भारतजस्ता देशमा अझै पनि कोरोना संक्रमितको दर उच्च छ । विश्वभरबाट ओलम्पिक आयोजना हुनेमा धेरैले संशय जनाएका छन् । तर अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, स्थानीय ओलम्पिक आयोजक कमिटी र जापान सरकारले जस्तोसुकै अवस्थामा भए पनि ओलम्पिक निर्धारित मितिमै आयोजना हुने बताइरहेका छन् । ‘तीनै मुख्य सरोकारवालाले ओलम्पिकको आयोजना निर्धारित मितिमै हुने दाबी गरिरहेका कारण यसमा अहिलेसम्म शंका गर्नुपर्दैन,’ एनओसी महासचिव श्रेष्ठले भने, ‘जापानले भाइरसको चेनब्रेकका लागि अहिलेदेखि आयोजक सहर र क्षेत्रहरूमा लकडाउन गरेको छ । उनीहरू आयोजना सफल बनाउन प्रयासरत छन् ।

प्रकाशित : जेष्ठ ६, २०७८ ०८:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×