कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल सुपर लिग : फाइनल पुग्ने दोस्रो टिमको निर्णय आज

हिमेश

काठमाडौँ — नेपाल सुपर लिगमा बिहीबार अन्तिम इलिमिनेटर हुँदै छ ।  त्यसले फाइनल पुग्ने दोस्रो टिमको निर्णय गर्नेछ । धनगढी एफसी यसअघि नै फाइनल पुगिसकेको छ । शनिबार हुने फाइनलमा उसको प्रतिद्वन्द्वी को त ? यसको उत्तरका लागि दशरथ रंशशालामा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी भिड्दै छन् ।

नेपाल सुपर लिग : फाइनल पुग्ने दोस्रो टिमको निर्णय आज

प्रतियोगिताको पहिलो प्लेअफमा काठमाडौं धनगढीसँग २–१ ले पराजित भएको थियो भने ललितपुरले पहिलो इलिमिनेटरमा बुटवल–लुम्बिनी एफसीलाई १–० ले हराएको थियो । अब यिनै दुई टिमबीचको खेलले प्रतियोगिताको फाइनल खेल्ने दोस्रो टिमको निर्णय गर्नेछ । काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले आफ्नो टिमको लक्ष्य फाइनल नै रहेको दाबी गरेका छन् ।

उनले धनगढीविरुद्धको खेल गुमाएपछि भनेका थिए, ‘यस खेलका हाम्रा केही कमजोरी रहे । अब त्यसमा सुधार गरेर खेल्नेछौं र हाम्रो लक्ष्य अझै पनि फाइनल नै हो ।’ संयोगलले प्रतियोगिताको पहिलो खेल काठमाडौं र ललितपुरबीच नै भएको थियो । त्यसमा काठमाडौं १–० ले विजयी रहेको थियो ।

लिग चरणको समाप्तिमा काठमाडौं अंकतालिकाको शीर्ष स्थानमा पनि रहेको थियो । ललितपुर भने तेस्रो स्थानमा रहेको थियो । तर अहिले सबैभन्दा लयमा रहेको टिम ललितपुर देखिएको छ । प्रतियोगितामा खराब सुरुआतपछि दबाबमा रहेको ललितपुर पछिल्ला तीन खेलमा विजयी रहेको छ । यस्तै पछिल्ला छ खेलमा पराजित भएको छैन ।

त्यति मात्र होइन, ललितपुरले पछिल्ला चार खेलमा कुनै गोल खाएको छैन । टिमका गोलरक्षक अर्पण कार्कीले काठमाडौंको सामना गर्दा अब आफ्नो लक्ष्य पहिलो खेलमा बेहोरेको हारको बदला लिने र फाइनल पुग्ने रहेको बताएका छन् । यस्तै टिमका मुख्य प्रशिक्षक राजु तामाङ पनि आफ्ना खेलाडी उच्च लयमा रहेको मान्छन् ।

उनले भनेका छन्, ‘हामीले प्रतियोगितामा राम्रो सुरुआत लिन सकेनौं तर अहिले टिम लयमा छ र सबै खेलाडी आत्मविश्वासी भएका छन् । तिनमा जितका लागि खेल्ने भावना तयार भएको छ ।’ ललितपुरको क्लब लोगोमा रहेको लाखेको चित्रलाई इंगित गर्दै प्रशिक्षक तामाङले भनेका छन्, ‘लाखे जागिसक्यो, अब त्यसलाई रोक्न गाह्रो छ ।’

प्रकाशित : वैशाख ३०, २०७८ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?