कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पीडामा पिर्लो

एएफपी

टुरिन — इटालीको सिरी ‘ए’ मा एसी मिलानसँग नमज्जाले पराजित भएपछि युभेन्ट्सका लागि यो सिजन निकै खराब साबित हुनसक्ने डर छाएको छ । युभेन्ट्समाथि अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्न नपाउने डर पनि छ ।

पीडामा पिर्लो

यस्तोमा इटालीका पत्रपत्रिकाले क्लबका प्रशिक्षक आन्द्रे पिर्लो बर्खास्तगीको संघारमा पुगेको दाबीसहित समाचार छापेका छन् । युभेन्ट्स कमजोर रक्षापंक्तिका कारण यसपल्ट लगातार नवौंपल्ट लिग उपाधि जित्न असफल रह्यो ।

पिर्लो पहिलोपल्ट प्रशिक्षकका रूपमा युभेन्ट्सको जिम्मेवारीमा थिए । इटालीका मिडियाले युभेन्ट्स च्याम्पियन्स लिग छनोटको समीकरणबाट बाहिरिए पिर्लो बर्खास्तगीमा पर्ने निश्चित भएको दाबी गरेका छन् । युभेन्ट्सले लिगका अन्तिम दुई खेलमध्ये पहिलोमा ससौलोको सामना गर्नेछ र त्यसपछि इन्टर मिलानविरुद्ध खेल्नेछ । इन्टरले यसअघि नै लिग जितिसकेको छ । इन्टरले नै युभेन्ट्सको लगातार लिग विजेताको उपलब्धि खोसेको हो ।

मिडियाको विश्लेषण छ, युभेन्ट्सको खराब प्रदर्शनको सबैभन्दा मुख्य जिम्मेवार पिर्लो नै हुन् । माथिल्लो स्तरमा पहिलोपल्ट यति ठूलो टिम सम्हालिरहेका पिर्लोमा अनुभवको पनि ठूलै कमी रहेको आरोप लागेको छ । एसी मिलानसँग तीन गोलले पराजित भएपछि युभेन्ट्स पाँचौं स्थानमा झरेको थियो । चौथो स्थानको नेपोलीको ७० अंक छ भने युभेन्ट्स एक अंकको दूरीमा उसको ठीक पछाडि छ । दोस्रो एटलान्टा र तेस्रो मिलानको समान ७२ अंक छ ।

युभेन्ट्सले भने अहिलेसम्म क्लब आफ्नै प्रशिक्षकको पक्षमा रहेको बताइरहेको छ । च्याम्पियन्स लिगमा छनोट हुन नसक्ने स्थितिमा पनि उनी बर्खास्त नहुने दाबी गरिरहेको छ । सन् २०१२ यता पहिलोपल्ट लिग उपाधिबाट वञ्चित रहेको युभेन्ट्सले माउरिसियो सारीको स्थानमा पिर्लोलाई नियुक्त गर्दा धेरैले आश्चर्य मानेका थिए । टिमको लगातार खराब प्रदर्शनपछि स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको भविष्यलाई लिएर पनि धेरै प्रश्न उठेका छन् ।

मिलानविरुद्धको खेलपछि ४१ वर्षीय पिर्लोले पनि आफूले राजीनामा दिने कुनै योजना नभएको बताएका छन् । पिर्लोको युभेन्ट्स यसपल्टको च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएको हो । टोलीले एफसी पोर्टोको चुनौती तोड्न सकेको थिएन । युभेन्ट्सामु यस सिजन अझै एक उपाधि जित्ने अवसर छ । अर्को महिना हुने कोपा इटालियाको फाइनलमा युभेन्ट्सले एटलान्टाको सामना गर्नेछ ।

प्रकाशित : वैशाख २९, २०७८ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?