कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल सुपर लिग : फेरिएका राजु र ललितपुर

प्रशिक्षक राजु तामाङले आफ्ना खेलाडीमा परिपक्वताको अभाव देखे र उनीहरुलाई आत्मविश्वासी बनाउन थाले
राजु घिसिङ

काठमाडौँ — सुरुका चार खेलमा ३ अंकमात्रै जोडेपछि ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) को लिगबाटै बाहिरिने अनुमान गरिएको थियो । ललितपुरका खेलाडी, प्रशिक्षक र व्यवस्थापनले पनि त्यस्तै ठानेका थिए ।

नेपाल सुपर लिग : फेरिएका राजु र ललितपुर

खराब नतिजाकै कारण क्लबले मुख्य प्रशिक्षकलाई पनि बर्खास्त गर्‍यो । त्यसपछि भाटभटेनी सुपरमार्केटको यो टिमले लय समात्यो । लगातार दुई खेल जित्दै ललितपुर प्लेअफमै पुग्यो । धेरैको सोचेका पनि थिएनन् टोलीको यस्तो पुनरागमन ।

चार खेलसम्म जितविहीन छँदा ललितपुरले दुई गोलमात्रै गरेको थियो । दुई पेनाल्टीमा चुकिसकेको थियो अनि मुख्य प्रशिक्षक प्रदीप हुमागाईंलाई बर्खास्त गर्‍यो । सहायक प्रशिक्षक राजु तामाङलाई टिमको जिम्मेवारी दिइयो । नेपाली राष्ट्रिय टिमका यी पूर्वमिडफिल्डरले भने, ‘हामी गोल नै गर्न सक्दैनौं कि भन्ने एकदमै खराब स्थितिमा पुगिसकेका थियौं । राष्ट्रिय टिमबाट खेलिरहेका उदीयमान खेलाडी अञ्जन विष्टले टिमको नेतृत्व गरिरहेका छन् । उनी नै निराश भइसकेका थिए । सबैले प्लेअफको आस मारिसकेका थिए । मैले पनि केही सोचेको थिइनँ, शून्यजस्तै थिएँ । मैले यसैलाई अवसरको रूपमा लिएँ ।’

ललितपुर ‘अक्सन’ मा भाग्यमानी रहेको थियो । टोलीले अक्सनमा लिएका १४ मध्ये सात खेलाडीमा अरूले अधिकतम बोली लगाए पनि गोलाप्रथामा हात पारेको थियो । अञ्जन विष्टलाई ‘मार्की’ बनाएको ललितपुरले अजरबैजानको युवा टिमबाट खेलिसकेका नुर्लान जाहिद र क्रोएसियन फरवार्ड भिलिम पोसिनकोभिचसँगै सहिद स्मारक ‘ए’ डिभिजन लिगमा साबित भइसकेका नाइजेरियन डिफेन्डर पिटर सेगुनलाई पनि ल्याएको थियो । त्यसैले ललितपुरले खेलाडीको नाम र क्षमताअनुसार नै उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको थियो ।

तर, दशरथ रंगशालामा अपेक्षा गरेजस्तो केही भएन । ललितपुर पहिलो खेलमै ‘उपत्यका डर्बी’ मा काठमाडौं रेजर्सविरुद्ध हार्‍यो । त्यसपछि लगातार दुई खेलमा अञ्जन र नुर्लान पेनाल्टीमा चुक्दा टोली बराबरीमै रोकियो । ललितपुरको प्रदर्शन भने खस्किएको थिएन । टोलीको अग्रपंक्तिमा धार आएन, भुत्ते नै रह्यो । मुख्य प्रशिक्षकलाई बर्खास्त गरेपछि ललितपुरले बुटवल लुम्बिनी र विराटनगर सिटीको सामना गर्नुपर्ने थियो । यी दुवै प्रतिद्वन्द्वीले प्रभावशाली प्रदर्शन गरिरहेका थिए ।

बुटवलविरुद्ध नुर्लानले पाँचौं मिनेटमै गोल गरे । त्यसैले पाँचौं खेलमा आएर ललितपुरले पहिलो जित चाख्यो । अरू खेलका नतिजा आफू अनुकूल भए । त्यसैले प्लेअफमा पुग्ने ललितपुरको सम्भावना आफ्नै खेलमा निर्भर भयो । भारतीय प्रशिक्षक यान लले सम्हालेको विराटनगरविरुद्ध प्रशिक्षकको रूपमा वामे सर्दै गरेका राजुको टिमलाई जित्नैपर्ने बाध्यता थियो । यान ल र उसका खेलाडीले खेलभन्दा रेफ्रीमा ध्यान केन्द्रित गरेपछि ललितपुर ४–० को सानदार जित रच्दै प्लेअफमा छनोट भयो । यान ल र विराटनगरका अफिसियलहरूले रेफ्रीप्रति उत्तेजक, अराजक व्यवहार देखाएपछि अञ्जन (२ गोल, १ एसिस्ट) र ललितपुरको उत्कृष्ट खेल ओझेलमा परेको थियो ।

विराटनगरका प्रशिक्षक यान लले रेफ्रीको खेल बिगारेको आरोप लगाएका थिए । त्यो खेलबारे प्रशिक्षक राजु तामाङले बोले, ‘रेफ्रीले जसको पक्षको काम गर्‍यो ऊ खुसी हुने र विपक्षमा दियो भने रिसाउने मानवीय स्वभाव नै हो । यहाँ भिडियो हेरेर पुनः निर्णय गर्ने सिस्टम नभएकाले रेफ्रीको निर्णय हामीले स्विकार्नै पर्छ । हाम्रा खेलाडीले योजना र रणनीतिमा विश्वास गरेर खेलाडीले कडा मिहिनेत गरे, अनुशासनपूर्वक काम गरे । त्यसैले विराटनगरविरुद्ध सफल भएका हौं ।’

टिममा एक्कासि कसरी आयो परिवर्तन ? ‘रिजल्टले फरक गर्‍यो,’ प्रशिक्षक राजुले भने, ‘खेल पहिलादेखि नै राम्रो हो । जित आवश्यक थियो र जितले नै सबै कुरा मोडियो । मुख्य प्रशिक्षकले पनि छाडिसकेपछि साह्रै दबाब महसुस भयो । तर, मैले यसलाई अवसरका रूपमा लिएँ । नतिजा पनि राम्रो भयो ।’ उनले थपे, ‘हाम्रो कमजोरी स्कोरिङमा थियो । फिनिसिङमा टचलाइनमात्रै आवश्यक थियो । मैले त्यसैमा सुधार गर्ने कोसिस गरें । ९० मिनेटको खेलमा हामी जुनसुकै बेला पनि गोल गरेर जित्न सक्छौं, स्कोर गर्न हतारिनु हुँदैन भनेर खेलाडीलाई तयार गरें । यसैका लागि ट्रेनिङमा खेलदौरान अगाडि बढ्न र फाइनल थर्डमा फिनिसिङमा कसरी एकअर्कालाई सहयोग गरेर स्कोर गर्ने भन्नेमै केन्द्रित गरें ।’

मार्की अञ्जन नै ललितपुरका कप्तान पनि हुन् । यो टिममा धेरै अनुभवी खेलाडी छैनन्, टिनएजर्सकै बाहुल्य छ । त्यसैले प्रशिक्षक राजुले खेलाडीमा परिपक्वताको अभाव देखे र युवा खेलाडीलाई आत्मविश्वासी बनाउने प्रयास थाले । टिममा राम्रो नेतृत्वको अभाव पनि खटकिएको थियो । उनले भने, ‘खेलाडीमा हामीले जित्नुपर्छ भन्ने सकारात्मक उर्जा आवश्यक थियो, दिइरहें । अन्ततः फिनिसिङ राम्रो भयो र खेल पनि जित्यौं । प्लेअफमै पुग्यौं । अब हामी योभन्दा माथि चाहन्छौं । जित्न (उपाधि) चाहन्छौं ।’

प्लेअफमा पुगेका काठमाडौं, धनगढी, बुटवल लुम्बिनी राम्रो टिम भएको उल्लेख गर्दै उनले भने, ‘हामी लगभग सकिसकेको अवस्थाबाट आएका छौं । निकै उत्साही छौं । मनोबल उच्च छ । यसरी नै काम गर्‍यौं भने हाम्रो खेलाडीमा यो लिग जित्नसक्ने सम्भावना एकदमै उच्च छ । बोलेर हुँदैन, काम गरेर देखाउनुपर्छ । मलाई चाहिँ आस छ, हामी राम्रो प्रदर्शन गरेर नतिजा दिन्छौं ।’ घाइते भएका खेलाडीको स्थानमा एउटा टिमले चारजनासम्म परिवर्तन गरेको छ । यसमा ललितपुर भाग्यमानी रह्यो । उसले एकजनालाई पनि ल्याउनुपरेको छैन । श्रम स्वीकृति लिन ढिलाइ हुँदा पिटरले तीन खेल गुमाए । बाँकी दुई विदेशी खेलाडी औसतका मात्रै हुन् । त्यसैले ललितपुर स्वदेशी खेलाडीमै भर परेको मान्न सकिन्छ । टोलीले प्लेअफमा बुटवल लुम्बिनीसँग बुधबार खेल्नेछ । त्यसमा जित हात पारे फाइनल प्रवेशका लागि बिहीबारै प्रतिस्पर्धा गर्नेछ, जहाँ काठमाडौं र धनगढीको खेलमा पराजित हुने टिमले उसलाई पर्खिने छ ।

सकारात्मक मानसिकता

लजालु स्वभावका राजुले हारिसकेको ठानेका खेलाडीहरूको मानसिकतामा पनि परिवर्तन ल्याए । भने, ‘सक्छौं, हामी एउटै टिम हौं, अझै दुई खेल छ, ती खेल जितेर जान्छौं भनेर सकारात्मक उर्जा दिइरहें । उत्साहित बनाइरहें । बुटवल लुम्बिनीविरुद्धको जितको उर्जाले नै विराटनगरविरुद्धको सफलता हात लाग्यो, जसले हामीलाई प्लेअफमा पुर्‍यायो ।’ अन्ततः उनको त्यो प्रयासले दशरथ रंगशालामा नतिजा नै दिलायो । उनमा मुख्य प्रशिक्षकको रूपमा त्रिभुवन आर्मीको महिला टिम सम्हालेको अनुभव थियो । पुरुषतर्फ भने आर्मीको ‘बी’ टिम र युवा टिममा सहायक प्रशिक्षकको रूपमा मात्रै काम गरेका थिए ।

हालै एएफसी ‘बी’ लाइसेन्स कोचिङ कोर्स गरेका ३८ वर्षीय राजु आफैंलाई पनि चार खेलसम्म जितविहीन रहेपछि ललितपुर एनएसएलको प्लेअफ पुग्ने विश्वास थिएन । उनले सुनाए, ‘त्यस्तो केही सोचेको थिइनँ । शून्य नै थिएँ । कोचिङ अनुभवको हिसाबले पनि मेरो ज्ञान उच्च थिएन । तर, मसाग राष्ट्रिय टिममा १० वर्ष र त्योभन्दा बढी क्लब फुटबल खेलेको अनुभव थियो । क्लबका मालिकहरूको समर्थन र सहयोग, विभागबाट कर्साब (ब्रजेश महर्जन) को विश्वास र उत्साह थियो । यी सबैको समिश्रणले मलाई भित्रबाटै गर्न सक्छु भन्ने कन्फिडेन्स आएको थियो ।’

भाइविरुद्ध रणनीति

राजुका आफ्नै भाइ हुन् विराटनगरका प्लेमेकर सन्तोष तामाङ । फ्रेन्ड्स क्लबबाट २०५९ सालमा करिअर थालेका राजु त्यसको दुई वर्षपछि आर्मीमा पुगेका थिए । औपचारिक रूपमा संन्यास घोषणा नगरेका उनी चार वर्षयता मैदानमा ओर्लिएका छैनन्, प्रशिक्षकतिरै अगाडि बढेका छन् । ठीक यही समयमा उनका भाइ सन्तोषले राम्रो खेलिरहेका छन् । सन्तोष पनि दाजुकै पथमा फ्रेन्ड्सबाट आर्मी पुगेका छन् ।

मिडफिल्डमा सन्तोष छाइरहेका थिए । तीन गोल गरिसकेका उनलाई राजुले ललितपुरविरुद्ध भने चुप लगाए । ‘भाइले राम्रो गरोस्, स्कोरिङ गरोस्, एसिस्ट गरोस् भनेर जहिले पनि प्रार्थना गर्थें । एकदमै राम्रो गरोस् भन्ने सोच्थें,’ प्रशिक्षक राजुले भने, ‘तर, हामीसँगै खेल्दा सन्तोष उताको (विराटनगर) मुख्य खेलाडीमध्ये थिए, ऊ चल्यो भने हामीलाई घाटा हुन्थ्यो । म यता (ललितपुर) को प्रशिक्षक भएकाले हाम्रो योजना उनलाई रोक्ने नै थियो । उनले राम्रो गरोस् भन्ने मानसिकता त थियो तर मैदानमा उत्रिसकेपछि दुश्मन भनेको दुश्मन नै हो । मैले त्यो हिसाबले लिएको थिएँ । यसमा हामी सफल भयौं ।’

नेपाली राष्ट्रिय टिमबाट ४५ खेल खेल्दै दुई गोल गरेका राजु आफ्नो पुस्ताका उत्कृष्ट प्लेमेकर थिए । खेल्न सजिलो कि कोचिङ गर्न ? ‘खेल्दा एकदम सजिलो । आफ्नो व्यक्तिगत प्रदर्शन सोचेरमात्रै खेलिन्थ्यो । राम्रो गर्नुपर्छ, टिमलाई जिताउनुपर्छ भन्ने हुन्थ्यो,’ उनी गम्भीर भए, ‘तर, कोचका रूपमा सबै खेलाडीका लागि खेल र ट्रेनिङको योजना, रणनीति बनाउनुपर्छ । खेलाडीको मनोविज्ञान अध्ययन गर्नुपर्छ । यसरी सबैलाई एउटा टिममा बाँधेर राम्रो बाटोमा लान पक्कै पनि धेरै गाह्रो छ । तर, प्रशिक्षकको जिम्मेवारी लिइसकेपछि सफल हुन त्यति गर्नुपर्छ । म जितको मानसिकता भएको खेलाडी थिएँ । कोचको रूपमा पनि जितकै मानसिकतामा छु । आफूसँग ज्ञान कम होला तर जति छ, त्यसलाई अधिकतम उपयोग गरेर उत्कृष्ट दिन चाहन्छु ।’

प्रकाशित : वैशाख २८, २०७८ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?