कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल सुपर लिग : पुनरागमन रचेका टिम नै प्लेअफमा

हिमेश

काठमाडौँ — केही उत्कृष्ट गोल, केही सनसनीपूर्ण खेल अनि केही विवादबीच नेपाल सुपर लिग २०२१ को लिग चरणका खेल सकिएका छन् । अब प्रतियोगिताका प्लेअफका खेल सुरु हुनेछन् । लिग चरणमा सहभागी सात टिमबीच कुल २१ खेल भए र दर्शकविहीन दशरथ रंगशालामा केही उम्दा फुटबल पनि हेर्न पाइयो ।

नेपाल सुपर लिग : पुनरागमन रचेका टिम नै प्लेअफमा

प्रत्येक टिमको लिग चरण कस्तो रह्यो त ? प्लेअफ पुगेका चार टिम कस्ता रहे ? अनि प्रतियोगिताबाट बाहिरिएका तीन टिम कस्ता थिए त ? लिग चरणमा स्वाभाविक रूपमा अन्तिम चरणतिरकै खेल बढी निर्णायक बने । जुन–जुन टिमले प्रतियोगिता र खेलमा पुनरागमन रच्न सफल भयो, तिनै टिम प्लेअफ पुगे । जसले सकेनन्, ती बाहिरिए । लिग चरणको समाप्तिमा प्रत्येक टिमको विश्लेषण :

काठमाडौं रेजर्स

लिग चरणमा चार जित निकाल्न सफल एक मात्र टिम रह्यो, काठमाडौं रेजर्स । त्यसैले यो टिम १३ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा पनि रह्यो । यसमध्ये ९ अंक अन्तिम ३ खेलबाट प्राप्त भएको थियो । सुरुआती तीन खेलबाट चार अंक मात्र बटुलेर बालगोपाल महर्जनको प्रशिक्षणमा रहेको काठमाडौंले सुस्त सुरुआत लिएको थियो ।

तर बुटवल लुम्बिनीलाई हराएपछि उसले तीन खेलमा लगातार जित निकाल्यो । यो उसको प्रतियोगितामा उत्कृष्ट पुनरागमन थियो । अनि विराटनगर सिटी एफसीविरुद्ध ५–४ जितमा पनि सनसनीपूर्ण पुनरागमन रच्यो, दुई गोलले पछाडि रहेको स्थितिबाट । यो जितले काठमाडौंको उत्साह नै बेग्लै भयो ।

धनगढी एफसी

सुरुमै भनिएको थियो, धनगढी एफसी उपाधिको बलियो दाबेदार हो तर पहिलो खेलमै विराटनगर सिटी एफसीसँग नराम्ररी पराजित रह्यो । डर थियो, कतै यो टिम सबैको अपेक्षाअनुसार प्रदर्शन गर्न असफल रहने त होइन ? तर १० अंकसहित दोस्रो स्थानमा रहेर यो टिम प्लेअफ पुग्न सफल रह्यो ।

विराटनगरसँग पराजित भएलगत्तै उसले काठमाडौंलाई हरायो र टिममा उत्साह फर्काउन सफल रह्यो । यो पनि धनगढीको प्रतियोगितामा मीठो पुनरागमन नै थियो । चौथो र पाँचौं खेल जितेपछि त धनगढी प्लेअफ पुग्ने पहिलो टिम पनि रह्यो । अन्तिम खेलमा पराजित त रह्यो तर धनगढी यसअघि नै शीर्ष दुईमा रहनेमा ढुक्क भइसकेको थियो ।

ललितपुर सिटी एफसी

यसपल्टको प्रतियोगितामा सबैभन्दा अविश्वसनीय पुनरागमन कसैले रचेको छ भने त्यो ललितपुर सिटी एफसी हो । एक समय थियो, सबैले भनिसकेका थिए, ललितपुर प्रतियोगिताबाट बाहिरिने पहिलो टिम हुनेछ । सुरुआती तीन खेलमा तीन अंक मात्र बटुलेको थियो, उसले । यस्तोमा टिमले आफ्ना प्रशिक्षक प्रदीप हुमागाईंलाई बर्खास्त पनि गर्‍यो ।

आखिरमा यो निर्णय सही पनि देखियो र नयाँ प्रशिक्षकको जिम्मेवारी राजु तामाङले पाएपछि ललितपुरले अन्तिम ३ खेलमा ७ अंक बटुल्न सफल रह्यो । त्यसले नै आखिरमा टिमलाई तेस्रो स्थानसम्म पुर्‍यायो । अन्तिम खेलमा ललितपुरले विराटनगर सिटी एफसीमाथि सनसनीपूर्ण जित निकाल्न सफल रह्यो ।

बुटवल लुम्बिनी एफसी

बुटवल लुम्बिनी एफसीले प्रतियोगितामा उत्कृष्ट पुनरागमन मात्र गरेन, यो टिम भाग्यमानी पनि रह्यो । लिग चरणको अन्त्यमा उसको ८ अंक रह्यो र उसको ठीक पछाडि रहेको पोखरा थन्डर्सको पनि समान ८ अंक रह्यो । तर हेड टु हेडमा पोखरालाई हराउन सक्नु उसको लागि प्लेअफ प्रवेशको कारण रह्यो ।

आफ्नो अन्तिम खेलमा बुटवल लुम्बिनीलाई निश्चित जितको आवश्यक थियो र उसले त्यसलाई धनगढीमाथि प्राप्त पनि गरेको थियो । अन्यथा बुटवल लुम्बिनीले लिग चरणको मध्यभागमा आफ्नो लय गुमाएको थियो । पहिलो खेल जितेको बुटवल लुम्बिनीले बीचका चार खेलमा दुई अंक मात्र बटुलेको थियो, तर अन्तिम खेलको जितले उसको भाग्य फेरिदियो ।

पोखरा थन्डर्स

पोखरा थन्डर्सले प्रतियोगितामा पुनरागमन रचेको पनि हो तर भाग्यले उसलाई साथ दियो । लिग चरणमा बुटवल लुम्बिनीसँग पराजित हुनु नै उसको प्रतियोगिताबाट बाहिरिनुको सबैभन्दा मुख्य कारण रह्यो । अन्यथा पोखराले पनि अन्तिम खेलमा एफसी चितवनमाथि सनसनीपूर्ण पुनरागमन जित रचेकै हो ।

प्रतियोगिताबाट बाहिरिसकेको स्थितिमा चितवनलाई अन्तिम क्षणमा हराएर उत्साहित बनेको पोखराको यो खुसी एकै दिन मात्र टिक्यो । बुटवल लुम्बिनीले अन्तिम खेल जितेपछि पोखराको बाटो रोकिएको हो । टिमका मुख्य प्रशिक्षक नवीन न्यौपानेको पूरा प्रतियोगितामा अनुपस्थिति पनि टिमका लागि खराब रह्यो ।

विराटनगर सिटी एफसी

यसपल्टको प्रतियोगितामा सबैभन्दा निराश कुनै टिमले पारेको छ भने त्यो विराटनगर सिटी एफसी हो । प्रतियोगिताको सुरुमा यो टिम उपाधिको सबैभन्दा बलियो प्रत्याशी थियो, त्यसैले उसले पहिलो खेलमा धनगढीलाई मज्जाले हराएको थियो । त्यसयता उसको ध्यान खेलभन्दा रेफ्रीको निर्णयमा बढी केन्द्रित हुन पुग्यो ।

विराटनगरको पतनमा सबैभन्दा मुख्य जिम्मेवार प्रशिक्षक यान ल नै रहे । उनी बढी नै रेफ्रीको निर्णयको आलोचनामा व्यस्त रहे । त्यसमाथि ललितपुरविरुद्ध विराटनगरले जसरी आफ्नो टिमलाई खेलकै क्रममा मैदान बाहिर बोलायो, त्यो सर्वथा गलत थियो । विराटनगर खेल भावना प्रदर्शन गर्नमा नराम्रोसँग चुक्यो । काठमाडौं रेजर्सविरुद्धको खेल गुमाएपछि विराटनगरले आफूलाई सम्हाल्न नै सकेन । टिम ७ अंकमै सीमित रह्यो ।

एफसी चितवन

चितवन एफसीका प्रशिक्षक मेघराज केसीले सुरुमै भनेका थिए, सहभागी सबै टिमको तुलनामा आफ्नो टिम सबैभन्दा कमजोर छ । नभन्दै टिम यस्तै रह्यो, जितहीन एक मात्र टिमका रूपमा लिग तालिकाको अन्तिम स्थानमा रह्यो, खालि दुई अंक बटुलेर । चितवन चार हार बेहोर्ने एक मात्र टिम रह्यो ।

त्यसैले चितवन कुनै पनि समय प्लेअफमा आफ्नो दाबेदारी प्रस्तुत गर्न पनि सफल रहेन । अन्तिम केही खेलमा प्रशिक्षक केसी स्वयं अनुपस्थित रहे र यो पनि स्थिति पनि टिमको पक्षमा रहेन । जहाँ अरू टिम पुनरागमन रच्दै थिए, त्यहीं चितवनले आफ्ना अन्तिम चार खेल लगातार गुमाएको थियो । चितवन पोखरा थन्डर्सविरुद्धको जित्नै पर्ने खेलमा पनि पराजित रह्यो ।

प्रकाशित : वैशाख २७, २०७८ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?