कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

 नेपाल सुपर लिग : विराटनगर, विवाद र रेफ्री

राजु घिसिङ

काठमाडौँ — रेफ्रीले बारम्बार गरेको गल्तीले पनि विराटनगरको खराबी प्लेयर बक्स, टचलाइनदेखि मैदानसम्मै पोखिएको हो

 नेपाल सुपर लिग : विराटनगर, विवाद र रेफ्री

विराटनगर सिटी एफसीका मुख्य प्रशिक्षक यान लले तेस्रो चरणको खेलपछि रेफ्रीको खुबै आलोचना गरेका थिए, ‘मैले आई लिग खेलेको छु । एएफसी कप हेरेको छु । बाहिरको फुटबल हेरेको छु । तर, नेपालको जस्तो तल्लो स्तरका रेफ्री कहीं देखेको छैन ।’ बुटवल लुम्बिनीविरुद्धको त्यो खेल २–२ मा टुंगिएको थियो ।

त्यसपछिको खेलमा विराटनगरले चितवनमाथि २–० को जित निकाल्यो । चितवनका सहायक प्रशिक्षक शैलेश कर्माचार्यले रेफ्रीले अन्याय गरेको दाबी गरे । तर, भारतीय प्रशिक्षक ल त्यो खेलका रेफ्रीप्रति नरम देखिए, प्रतिक्रिया दिन चाहेनन् । त्यसपछि गोलको वर्षात् भएको खेलमा उनको टिमलाई काठमाडौं रेजर्सले ५–४ ले हरायो । त्यसैले उसलाई नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा पुग्नका लागि अन्तिम खेल जित्नैपर्ने अवस्था आयो । तर, विराटनगरलाई ४–० ले पन्छाउँदै शनिबार ललितपुर सिटीले प्लेअफमा स्थान सुरक्षित गर्‍यो ।

भारतीय फुटबलको शीर्ष प्रतियोगिता आई लिगको मिनेरवा पन्जाब, मोहम्मडन र आइजवलको टिम सम्हालिसकेका प्रशिक्षक ल एनएसएलको ‘टचलाइन’ मा सधैं तनावमा देखिए । शनिबार पनि उनको रूप फेरिएन । खासमा विराटनगर चौथो चरणसम्म सबैभन्दा राम्रो प्रदर्शन गरेको टिम हो । पूर्वको यो महानगरले नेपाली फुटबलमा अब्बल खेलाडीहरू पाएको थियो । अरू टिमको तुलनामा उसका विदेशीले पनि प्रभाव देखाइरहेकै थिए । उसको ‘बेन्च’ (वैकल्पिक खेलाडी) पनि अब्बल नै थिए ।

त्यसैले विराटनगरले आक्रामक फुटबल खेलिरहेको थियो । उसले विदेशी प्रशिक्षकको उपस्थितिमा केही फरक रणनीति पनि प्रयोग गर्‍यो । विराटनगर चौथो चरणमा शीर्षस्थानमा पुगेको थियो । उसले आक्रामक खेल कायमै राख्यो । तर, रक्षात्मक रूपमा उत्तिकै कमजोर देखियो । त्यसैले काठमाडौंले ५ गोल हान्यो । त्यसैले जित्नैपर्ने बाध्यताबाट गुज्रिएको ललितपुरविरुद्धको खेलमा विराटनगरका खेलाडीहरू मैदानमा निकै दबाबमा देखिए । हतारिएर खेले । ठूलो खेलको दबाब खेप्न नसके जस्तो गरे । त्यसैले उसको घाउमा नुनचुक छर्ने काम गरिदियो ललितपुरले ४ गोल हानेर । ललितपुरलाई पनि शीर्ष चारमा रहँदै प्लेअफमा पुग्नका लागि खेल जित्नैपर्ने बाध्यता थियो ।

कप्तान अञ्जन विष्टले ३६ औं मिनेटमा गोल गर्दै ललितपुरलाई अग्रता दिलाए । मिक्छेन तामाङको कर्नरमा नुर्लान जाहिदले प्रहार गरेको बल गोलकिपर किशोर गिरीले रोके र त्यही रिबाउन्डमा ‘मार्की’ खेलाडी अञ्जनले उत्कृष्ट रूपमा एनएसएलमा गोलको खाता खोले । यसले विराटनगरलाई थप दबाब बढाइदियो । प्रशिक्षक ल टचलाइनबाट खेलाडीलाई निर्देशन दिँदै चिच्याइरहे । खेलाडी अझै हतारिए, केही हताश पनि देखिए ।

स्पेनी फरवार्ड पेड्रो मान्जीले ४१ औं मिनेटमा प्रहार गरेको बल ललितपुरका डिफेन्डर पिटर सेगुनले पेनाल्टी क्षेत्रमा हातले रोके । विराटनगरका खेलाडी र अफिसियलले पेनाल्टीको चर्को अपिल गरे । सेगुनले हातले बललाई हाने पनि फिफा रेफ्री कविन ब्यञ्जनकारले पेनाल्टी दिन अस्वीकार गरिदिए । यसले विराटनगरलाई प्लेयर बक्स र टचलाइनमा आक्रामक बनायो भने मैदानमा खेलाडीलाई हताश ।

प्रशिक्षक ल र विराटनगरका खेलाडीहरूले रेफ्रीलाई दबाब दिइरहे । सुनील बललाई पेनाल्टी क्षेत्रमा बल अघि बढाइरहँदा ५३ औं मिनेटमा अञ्जनले ट्याकल गरे, सुनील लडे । विराटनगरका खेलाडी, प्रशिक्षक र अफिसियलले पेनाल्टीको लागि चर्को अपिल गरे । फेरि पनि रेफ्री व्यञ्जनकारले बेवास्ता गरिदिए । अञ्जनले फाउल गरेको भए विराटनगरलाई पेनाल्टी दिनुपर्ने स्थिति थियो । सुनीलले डाइभ हानेको हो भने रातो कार्ड (पहिला नै पहेँलो कार्ड पाइसकेकाले) दिनुपर्ने अवस्था थियो । रेफ्रीले दुवैलाई बेवास्ता गरिदिए ।

त्यो घटनामा विराटनगरका प्रशिक्षक ल मैदानमै प्रवेश गरे । तर, उनलाई कार्ड देखाउने हिम्मत रेफ्रीले गरेनन् । विराटनगरका अफिसियल र प्रशिक्षक फोर्थ अफिसियलसँग पनि विवाद गरिरहेका थिए । मनीष डाँगीको हेडरमा गोलकिपर अर्पण कार्कीले बचाउ गर्दा ५७ औं मिनेटमा विराटनगरको बराबरी गर्ने अवसर खेर गयो । डोना थापाको सटिक पास अञ्जनलाई पुग्यो र उनले दिएको बललाई गोलकिपर बिट भइसकेपछि खाली पोस्टमा विमल रानाले ६२ औं मिनेटमा गोल गर्दै ललितपुरको अग्रता दोब्बर बनाए । त्यसपछि विराटनगरको प्लेयर बक्स उत्तेजित बन्यो ।

प्रशिक्षक यान लसहित केही अफिसियल मैदानमै पुगेर रेफ्रीप्रति आक्रोश जनाए । उनी टचलाइनमै मेडिकल बक्समाथि बसिरहे । उनीसहित अफिसियलहरूले खेल बहिष्कार गर्ने धम्की दिँदै आफ्ना खेलाडीलाई मैदान बाहिर बोलाए । स्पेनी फरवार्ड मान्जी मध्यभागमै उभिरहे । अरू खेलाडीले मैदान छाडे । मिडफिल्डर सन्तोष तामाङ भने केहीबेरमै फर्केर मैदानमा मान्जीसँगै रहे । फुटबलमा खेलाडीले यसरी मैदान छाड्यो भने कठोर कारबाही हुनसक्छ । टिमलाई पनि । बहिष्कार गरेको अवस्थामा नतिजा उसको विपक्षीमा ३–० ले जान्छ । यस्तोमा बहिष्कार गर्ने टिमलाई पनि ठूलै कारबाही हुन्छ ।

नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको प्रतियोगिता होइन, एनएसएल । एन्फाको औपचारिक प्रतियोगिता पनि होइन । एनएसएलका सातवटै फ्रेन्चाइज टिम नेपाली फुटबलका नयाँ क्लब हुन् र यी सबैको पहिलो प्रतियोगिता नै यही हो । त्यसैले हुनसक्छ, विराटनगरका प्रशिक्षक र अफिसियलले व्यावसायिक फुटबल टिमको व्यवहार शनिबार देखाएनन् । एन्फा र आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसईएम) का पदाधिकारीहरूले निकै बेर सम्झाइबुझाइ गरेपछि बल्ल विराटनगर खेल्न तयार भयो । यसरी खेल ७ मिनेट अवरुद्ध भयो ।

 । प्रशिक्षक लले ललितपुरविरुद्धको खेलमा ललितपुरकै रेफ्रीलाई राखेको आरोप पनि लगाए । ‘मुख्य रेफ्री ललितपुर वा विराटनगरको हुनु आश्चर्य हो,’ उनले भने, ‘रेफ्रीको निर्णयले खेलाडीको मानसिकतामा असर गर्‍यो । हामीलाई तीन पेनाल्टी दिइएन । रेफ्रीको स्तरमा ठूलो फरक छ । स्कुल स्तरका रेफ्रीले खेलाएका छन् । रेफ्रीले खेललाई एकतर्फी बनाए । यस्तोमा बार्सिलोना आएर खेल्यो भने पनि केही हुँदैन ।’

अञ्जनको दुई गोल

अघिल्ला तीन खेलमा तीन गोल गरेको ललितपुरले छैटौं खेलमा आएर चार गोल गरेको हो । कप्तान अञ्जनले व्यक्तिगत दोस्रो गोल फ्री हेडरमा ८१ औं मिनेटमा गोल गर्दै ललितपुरको अग्रता तेब्बर बनाए । टिमको चौथो गोल नुर्लानले इन्ज्युरी समयको तेस्रो मिनेटमा गरे । चार खेलसम्म जितविहीन रहेपछि ललितपुरले मुख्य प्रशिक्षक प्रदीप हुमागाईंलाई बर्खास्त गरेको थियो । त्यसययता सहायक प्रशिक्षक राजु तामाङले टिम सम्हालेका छन् । उनको नेतृत्वमा दुवै खेल जित्दै ललितपुर (९ अंक) लिगमा तेस्रो स्थानमा रहँदै प्लेअफमा छनोट भयो ।

दिनको दोस्रो खेलमा सुमन लामाले ८० औं मिनेटमा गरेको गोलबाट बुटवल लुम्बिनी १–० ले धनगढीलाई हराएर प्लेअफमा पुग्ने चौथो टिम बन्यो । लुम्बिनी समान ८ अंक भएपनि ‘हेड टु हेड’मा पोखरा थन्डर्सलाई पन्छाउँदै प्लेअफमा पुगेको हो । यी दुईको भेटमा बुटवल लुम्बिनीले २–० को जित हात पारेको थियो र उसलाई शीर्ष चारमा रहन त्यही नतिजा निर्णायक बन्यो ।

धनगढी र काठमाडौं एक खेलअघि नै प्लेअफमा छनोट भइसकेका थिए । विराटनगरविरुद्ध ललितपुरको जितसँगै धनगढी र काठमाडौं शीर्ष दुईमा रहने पनि पक्का भएको थियो । प्लेअफमा यी दुईको विजेता सिधै फाइनलमा पुग्नेछ । त्यसमा हार्ने टिमले ‘एलिमिनेटर’ मा खेल्ने मौका पाउनेछ । अर्को प्लेअफ (बुटवल लुम्बिनीविरुद्ध ललितपुर) को विजेताले फाइनल प्रवेशका लागि शीर्ष दुईको भिडन्तमा हार्नेसँग एलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित : वैशाख २६, २०७८ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?