कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वरिष्ठ प्रशिक्षकको ‘गुमनाम निधन’

कुशल तिमल्सिना

काठमाडौँ — एथलेटिक्स प्रशिक्षक लीला श्रेष्ठले शनिबार बिहान सामाजिक सन्जालमा श्रद्धाञ्जली वक्तव्य पोस्ट गरे, ‘मेरा गुरु नरबहादुर शाहीको वैशाख १९ गते भएको निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।’ ७ दिनपछि मात्र एक पूर्व राष्ट्रिय च्याम्पियन र वरिष्ठ प्रशिक्षकको निधन भएको खबर नेपाली एथलेटिक्स वृत्तले पाएसँगै बाहिरिएको थियो । सबैले आश्चर्य जनाउँदै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

वरिष्ठ प्रशिक्षकको ‘गुमनाम निधन’

एथलेटिक्सका पूर्व मुख्य प्रशिक्षक शाहीको ६९ वर्षको उमेरमा छाउनीस्थित आर्मी अस्पतालमा उपचारका क्रममा वैशाख १९ गते नै निधन भएको हो । पछिल्लो समय शाही कसैको सम्पर्कमा नरहेको र हाल जारी निषेधाज्ञाका कारण पनि निधन नै गुमनाम बनेको एथलेटिक्सका प्रशिक्षकहरू बताउँछन् ।

नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले निधन भएको खबर पाएपछि बुझ्दा मात्र प्रशिक्षक शाही केही समयदेखि बिरामी रहेको जानकारी भएको बताए । उनका अनुसार मुटु र फोक्सोमा समस्या देखिएपछि गत माघदेखि नै उनी बिरामी थिए । स्वास्थ्य स्थिति थप बिग्रिएपछि वैशाख १० गते उनलाई छाउनीस्थित आर्मी अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो । अन्तिम समयमा मात्र उनको फोक्सोमा क्यान्सर भएको पत्ता लागेको थियो । खेलाडी छँदा नेपाली एथलेटिक्समा स्प्रिन्टको हर्डल्स विधामा उनले सनसनी मच्चाएका थिए । २०३० को दशकमा नेपाली एथलेटिक्समा लामो दूरीका धावकको मात्र वर्चस्व थियो । लामो दूरीका खेलाडीलाई नै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पनि पठाउने गरिन्थ्यो । त्यतिबेला दौडको एउटा रोमान्चक विधा हर्डल्सको १ सय १० मिटर दौडमा भने शाहीले लगातार सानदार प्रदर्शन गरे । उनी लगातार राष्ट्रिय च्याम्पियन बने । तर, अन्तर्राष्ट्रिय सहभागितामा उनलाई कहिल्यै अवसर दिइएन ।

तत्कालीन नेपाली सेनाको खेलकुद क्लबमा रहेर उनले फुटबलसमेत खेले । उनी आर्मी ११ का उत्कृष्ट मिडफिल्डर पनि थिए । ‘नेपाली खेलकुदमा मैले भेटेकामध्ये सबैभन्दा भलाद्मी, सबैसँग मिल्ने, कसैलाई पनि नराम्रो नसोच्ने व्यक्तित्व हुनुहुन्थ्यो,’ उनीसँगै आर्मी क्लबबाट खेलेका कीर्तिमानी पूर्व म्याराथन धावक वैकुण्ठ मानन्धरले कान्तिपुरसँग स्मरण गरे, ‘त्यतिबेला स्प्रिन्टलाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पठाउने गरिएको थिएन, त्यसैले उहाँ अन्तर्राष्ट्रिय सफलताबाट वन्चित रहनुभयो । आर्मी ११ बाट फुटबल पनि खेल्नुहुन्थ्यो । १ सय १० मिटर हर्डल्समा धेरैपल्ट राष्ट्रिय च्याम्पियन हुनुभयो ।’

एथलेटिक्स प्रशिक्षक सुनील राजवंशीले हर्डल्स विधामा शाही नेपालले पाएका अहिलेसम्मकै उत्कृष्ट प्रशिक्षक भएको सुनाए । ‘दुवै खुट्टालाई समान रूपमा प्रयोग गरी जम्प गर्नसक्ने उहाँको क्षमता अद्वितीय थियो,’ राजवंशीले भने । २०४३ सालमा आर्मी छाडेर शाही राखेपमा जागिरे भए । आर्मीमै रहँदा उनले भारतको पटियालामा एथलेटिक्स प्रशिक्षकको डिप्लोमा कोर्स गरेका थिए । खेलाडी जीवनपछि उनले प्रशिक्षकका रूपमा धेरै सफलता हासिल गरे, जुन खेलाडी छँदा आफूले हासिल गर्न सकेका थिएनन् ।

२०६७ सालमा एथलेटिक्सको प्रमुख प्रशिक्षकका रूपमा उमेर हदका कारण अवकाश लिनुभन्दा अगाडिसम्म शाही नेपाली एथलेटिक्सको स्प्रिन्ट विधालाई उचाइमा पुर्‍याउन प्रयासरत रहे । ‘प्रशिक्षकका रूपमा उहाँ निकै नै मिहिनेती र लगनशील हुनुहुन्थ्यो । निरन्तरको प्रशिक्षणले नै उहाँलाई सफल बनाएको हो,’ शाहीपछि एथलेटिक्सका मुख्य प्रशिक्षक बनेका सुशील नरसिंह राणाले भने, ‘नेपालको एथलेटिक्समा स्तरीय र क्षमतावान स्प्रिन्ट धावक उत्पादनमा उहाँको धेरै ठूलो योगदान छ ।’ सन् १९९९ मा नेपालमा भएको आठौं दक्षिण एसियाली खेलकुदमा नेपाली महिला टोलीले चार गुणा एक सय मिटर दौडमा कांस्य पदक जितेको थियो । त्यतिबेला नेपाली टोलीका प्रशिक्षक उनै शाही थिए । स्व. शाहीका श्रीमती र तीन छोरी छन् । चितवनका स्थायी बासिन्दा उनको अन्तिम संस्कार पनि उतै गरिएको हो ।

प्रकाशित : वैशाख २६, २०७८ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?