कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल सुपर लिग : धनगढी प्लेअफ पुग्ने पहिलो

धनगढी तेस्रो जितसँगै १० अंक बटुल्दै एनएसएलको शीर्षस्थानमा उक्लियो ।
राजु घिसिङ

काठमाडौँ — धनगढी एफसीले अघिल्ला चार खेलमा सात गोल गरेको थियो । त्यसमध्ये चार गोल नाइजेरियन फरवार्ड ओलावाले आफिज एक्लैले गरेका थिए । उनले पोखरा थन्डर्सविरुद्ध चोट बेहोर्दै पहिलो हाफमै मैदान छाडे ।

नेपाल सुपर लिग : धनगढी प्लेअफ पुग्ने पहिलो

उनीबिना धनगढीको प्रदर्शन राम्रो भएन । पोखरा बलियो देखियो । तर, दर्शन गुरुङको गोलमा १–० को जित निकाल्दै बुधबार धनगढी नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा पुग्ने पहिलो टिम भएको छ ।

धनगढीले पूरा खेलमा दुईपल्ट पोखराको पोस्टमा आक्रमण गर्‍यो । दुवै आक्रमण दर्शनले गरे । अग्रपंक्तिका मुख्य खेलाडी आफिज घाइते भएपछि ३७ औं मिनेटमा मैदानमा छिरेका उनले पहिलो प्रहार ६७ औं मिनेटमा गरे । उनले विशाल राईको पासमा पेनाल्टी क्षेत्रबाट प्रहार गरेको बल पोखराका गोलकिपर दीप कार्कीले रोकिदिए ।

लगत्तैको मुभमा बुद्धबल तामाङलाई सटिक ट्याकल गर्दै अजित भण्डारीले बल खोसे । त्यही बललाई डिफेन्डर मनबहादुर तामाङले हेडद्वारा क्लियर गर्ने प्रयास गरेका थिए । तर, बल दर्शनको खुट्टामा पुग्यो । उनले नियन्त्रण गरेको बललाई गोलकिपर दीप केही अगाडि बढेको अवसरमा सिधै पोस्टमा प्रहार गरे । करिब २५ यार्डबाट उनले चलाखीपूर्ण रूपमा प्रहार गरेको त्यो बल आकर्षक गोलमा परिणत भएपछि धनगढीले ६८ औं मिनेटमा अग्रता लियो । त्यसपछि पनि पोखराले बलमाथि नियन्त्रण कायमै राख्यो । तर, पाएका अवसर गोलमा परिणत गर्न सकेन ।

एनएसएलमा व्यक्तिगत पहिलो गोल गरेपछि दर्शनले भने, ‘दाइ (गोलकिपर दीप) अगाडि बढेर खेलिरहेको देखेको थिएँ अनि बल हाने । गोल हुन्छ भन्ने त लागेको थिएन । तर, दाइ अगाडि बढिरहेको थियो र गोल भयो । धेरै खुसी लाग्यो ।’ सन्दकपुर, इलामका यी २० वर्षीय फरवार्डले थपे, ‘अंकतालिकामा कहिले को, कहिले को माथि आउने भइरहेको छ । सबैको प्रतिस्पर्धा चलिरहेको छ । शीर्ष चारमा आफ्नो टिमको स्थान सुरक्षित गर्न पाउँदा धेरै खुसी लाग्यो ।’

दर्शन गत महिना थ्री नेसन्स कप विजेता नेपाली राष्ट्रिय टिमका सदस्य हुन् । दशरथ रंगशालामै भएको उक्त प्रतियोगिताबाट उनले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए । उनी एनएसएलको सुरुमा आफिजसँगै धनगढीको अग्रपंक्तिमा देखिएका थिए । दोस्रो खेलमा उनलाई चोट लाग्यो । त्यसपछि सब्स्टिच्युटको रूपमा मैदानमा ओर्लिए । पाँचौं खेलमा आएर गोलको खाता खोलेका उनले भने, ‘आफैंलाई सहज महसुस भइरहेको थिएन । मनभित्रै किन मैले खेल्न नसकेको भन्ने भइरहेको थियो । तर आजको गोलले आफूलाई साबित गर्न सकें ।’ गत वर्ष सहिद स्मारक ए डिभिजन लिगमा एनआरटीबाट खेल्दै चार गोल गरेका उनले नेपालको यू–१६ र यू–१९ टिमबाट पनि खेलिसकेका छन् ।

शीर्ष चार पक्का

धनगढी तेस्रो जितसँगै १० अंक बटुल्दै एनएसएलको शीर्षस्थानमा उक्लियो । यससँगै उसले शीर्ष चारमा स्थान पक्का गर्दै प्लेअफमा स्थान सुरक्षित गरेको छ । राउन्ड रोबिन लिगका शीर्ष दुई टिमले फाइनल पुग्न प्रतिस्पर्धा गर्नेछन् । त्यसमा पराजित हुने टिमले एलिमिनेटरमा खेल्नेछ । लिगमा तेस्रो र चौथो हुने टिमबीचको प्रतिर्स्प्धाको विजेता एलिमिनेटरको अर्को टिम हुनेछ । एलिमिनेटरको विजेता फाइनल खेल्ने अर्को टिम बन्नेछ । इन्डियन क्रिकेट लिग (आईपीएल) को संरचनाकै ‘कपी’ हो यो एनएसएलको उपाधि होड ।

पहिलो खेलमै विराटनगर सिटीविरुद्ध ३–० ले हारेको धनगढीले त्यसयता तीन जित र एक बराबरी खेलेको छ । धनगढीले लिगको अन्तिम खेल बुटवल लुम्बिनीविरुद्ध वैशाख २५ मा खेल्नेछ । एक खेल कम खेलेका विराटनगर सिटी र काठमाडौंको ७–७ अंक तथा बुटवल लुम्बिनीको ५ अंक छ । प्लेअफ पुग्ने बााकी तीन स्थानमा उनीहरू नै अगाडि देखिएका छन् । उनीहरूको हातमा दुई–दुई खेल छन् ।

दोस्रो हार बेहोरेको पोखरा ५ अंकमै छ तर उसले एक खेलमात्रै खेल्न बाँकी छ । ललितपुर सिटी (४ खेलमा ३ अंक) र चितवन (४ खेलमा २ अंक) को शीर्ष चारमा पुग्ने सम्भावना अरु टिमकै नतिजामा निर्भर भइसकेको छ । पोखरा, ललितपुर र चितवनले बाँकी खेल जितेर पनि धनगढीलाई उछिन्न सक्ने छैनन् ।

कठिन जित

‘खेल धेरै कठिन भयो । टिमका लगभग आधा खेलाडी घाइते थिए,’ पोखराविरुद्धको खेलबारे धनगढी एफसीका प्रशिक्षक तोपे फुजाले भने, ‘पहिलो खेल हारेकाले हामी सबै खेल जित्न चाहन्छौं ।’ उनले आफिजको चोट गम्भीर जस्तो देखिएको बताए । धनगढीले चोटकै कारण टिममा चार खेलाडी परिवर्तन गरिसकेको छ ।

पोखराका सहायक प्रशिक्षक राजेश शाहीले भने, ‘पहिलाजस्तै राम्रो खेलेको हो । तर, उस्तै गल्ती दोहोर्‍याए । स्कोरिङमा कमजोरी भयो । ट्रेनिङमा राम्रै गरे पनि खेलमा त्यै गल्ती गरिरहे । गोल हान्न हतार गरे । नवयुग (श्रेष्ठ) पनि गोल हान्ने ठाउँमा बसेनन् ।’ उनको टिमले २६ औं मिनेटमा अग्रता लिने अवसर पाएको थियो । तर, मौसा अब्बाको प्रहार धनगढीका कप्तान एवं गोलकिपर किरण चेम्जोङले रोके ।

अब्बाकै फ्रिकिकमा ४० औं मिनेटमा पोीटनजिक अजित भण्डारीले बल प्रहार गर्न सकेनन् । फेरि पोखराकै फरवार्ड नवयुगले बल पाए । सिक्स यार्ड बक्सबाट उनको पहिलो प्रहार धनगढीका डिफेन्डर दिनेश राजवंशीले रोके भने रिबाउन्डमा फेरि उनको प्रहारमा किरणले बल बाहिर फालिदिए । भेट्रान फरवार्ड अनिल गुरुङले ७३ औं मिनेटमा सौजन राईले क्लियर नगरेको बल सिक्स यार्ड बक्सनिरै पाएका थिए । तर, उनको प्रहार दिनेशले असफल पारिदिए । इन्ज्युरी समयमा राफेल रिम्गागोले आफ्नै क्षेत्रबाट धनगढीको पेनाल्टी क्षेत्रमा झारेको बल डिफेन्डर दिनेशको टाउको डिफ्लेक्ट हुँदै पोस्टतिर बढेको थियो । किरणले पछाडि सर्दै मुस्किलले त्यो बल बाहिर फाल्दै धनगढीको संकट टारिदिए ।

प्रकाशित : वैशाख २३, २०७८ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?