कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाबाट वरिष्ठ कराते प्रशिक्षक वज्राचार्यको निधन

काठमाडौं — नेपाली फुलकन्ट्याक्ट करातेका पहिलो पुस्ताका खेलाडी तथा वरिष्ठ प्रशिक्षक रामजीप्रसाद वज्राचार्यको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ । कोरोना संक्रमण देखिएपछि बलम्बुस्थित एपीएफ अस्पतालमा उपचाररत वज्राचार्यको मंगलबार बिहान ११ बजेर ५५ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

कोरोनाबाट वरिष्ठ कराते प्रशिक्षक वज्राचार्यको निधन

६५ वर्षीय वज्राचार्यलाई एक साताअघि घाँटी दुख्ने र ज्वरो आउने समस्या भएपछि गणेशमान स्मृति अस्पतालमा भर्ना गरिएको थियो । उक्त अस्पतालमा परीक्षणपछि कोरोना संक्रमण भएको पत्ता लागेपछि उनको आईसीयूमा उपचार भइरहेको थियो ।

‘निमोनियासमेत देखिएपछि उहाँलाई भेन्टिलेटरमा राख्नुपर्ने भयो । गणेशमान अस्पतालमा भएको दुवै भेन्टिलेटर खाली नभएका कारण हिजो (सोमबार) एपीएफ अस्पताल लगिएको हो,’ राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्व कोषाध्यक्ष तथा वज्राचार्यका चेला मीनकृष्ण महर्जनले कान्तिपुरसँग भने । वज्राचार्यका श्रीमती र छोरासमेत कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा छन् ।

सितोरियो करातेका पूर्व प्रशिक्षक महर्जनले स्व. वज्राचार्यलाई नेपाली क्योकुसिन करातेले पाएको सबैभन्दा उत्कृष्ट खेलाडीका रूपमा चित्रण गरे । नेपालमा क्योकुसिन करातेको सुरुआतकर्ता जगत गौचनका पहिलो र उत्कृष्ट चेलाका रूपमा वज्राचार्यले २०३८ सालदेखि राष्ट्रिय प्रतियोगिता खेल्न थालेका हुन् । २०३९ सालमा क्योकुसिन कराते राखेपमा दर्ता भएपछि उनको अन्तर्राष्ट्रिय सहभागिताको बाटो खुलेको थियो ।

धरानमा जन्मिएका वज्राचार्यले सन् १९८६ (२०४२) मा जापानमा भएको एसियाली क्योकुसिन करातेमा कांस्य पदक जितेका थिए । अन्य थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि उनले सफलता पाएका छन् । राष्ट्रियस्तरमा उनलाई क्योकुसिन करातेका सर्वकालीन महान खेलाडीका रूपमा चिनिन्छ ।

राष्ट्रिय प्रतियोगितामा उनी आफ्नो तौल समूहमा दुईपल्ट राष्ट्रिय च्याम्पियन बनेका थिए । खेलाडी जीवनपछि उनले क्योकुसिन कराते प्रशिक्षकका रूपमा सक्रिय थिए ।

राष्ट्रिय खेलकुद परिषदमा क्योकुसिन करातेका वरिष्ठ प्रशिक्षकका रूपमा करार नियुक्ति पाएका वज्राचार्य सात वर्षअघि उमेरहदका कारण अनिवार्य अवकाशमा परेका थिए । शारीरिक सुगठनका राष्ट्रिय खेलाडीसमेत रहेका उनी नेपाल फुलकन्ट्याक्ट कराते महासंघका वरिष्ठ उपाध्यक्षसमेत हुन् । उनका श्रीमती, एक छोरा र दुई छोरी छन् ।

यसअघि आइतबार एक राष्ट्रिय बुद्धिचाल खेलाडीको कोरोना संक्रमणपछि निधन भएको थियो । राष्ट्रिय खेलाडी तथा ताप्लेजुङ जिल्ला बृद्धिचाल संघका सदस्य प्रेमराज लिम्बूको मृत्यु भएको हो ।

३२ वर्षीय लिम्बू वैशाख १० मा कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा थिए । १७ गतेदेखि गम्भीर भएका उनलाई जिल्ला अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि झापाको बिर्तामोड लाँदै गर्दा बाटोमै निधन भएको नेपाल बुद्धिचाल संघका महासचिव हेराकाजी महर्जनले जानकारी दिए । लिम्बूकै अगुवाइमा ताप्लेजुङमा चारवटा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भएको थियो ।

प्रकाशित : वैशाख २२, २०७८ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?