१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

कस्तो आउला खेलकुद बजेट ?

कुशल तिमल्सिना

काठमाडौँ — कोरोना महामारीका कारण प्रत्यक्ष असर बेहोरेको नेपालको खेलकुद क्षेत्रको बजेट आर्थिक वर्षमा पनि नबढ्ने भएको छ । अर्को महिना अर्थमन्त्री विष्णु पौडेलले संघीय सरकारको बजेट प्रस्तुत गर्नेछन् । मन्त्रालयको सिलिङअनुसार राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १ अर्ब ५१ करोडको बजेट तर्जुमा गरी पठाएको छ ।

कस्तो आउला खेलकुद बजेट ?

युवा तथा खेलकुद मन्त्रालयले संघका लागि यस वर्ष १ अर्ब ९३ करोडको सिलिङ पाएको छ । त्यसमध्ये राखेपले पाउने १ अर्ब ५१ करोडको सिलिङमा पुरानै योजनाको निरन्तरतासहित सानातिना नयाँ योजना पनि समेटिएको राखेप सदस्यसचिव रमेशकुमार सिलवालले बताएका छन् । ‘यसपालि पनि हाम्रो बजेटको आकार ठूलो रहेन । हामीले ठूला नयाँ योजनाहरू समेट्न सकेनौं । पुराना आयोजना निरन्तरता हुनेछन् । कोभिडको असर अझै बढ्यो भने घट्न पनि सक्छ,’ सदस्यसचिव सिलवालले भने ।

युवा तथा खेलकुद मन्त्रालयले आर्थिक वर्ष २०७६/७७ मा ३ अर्ब ९९ करोड बजेट पाएको थियो । त्यसमध्ये संघको बजेट ३ अर्ब ४७ करोड थियो । गत आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । त्यसमा १ अर्ब ८३ करोड बजेट संघका लागि थियो । यो युवा र खेलकुद दुवै क्षेत्रका लागि हो । कोरोना महामारीका कारण लकडाउनकै अवधिमा ल्याइएको उक्त बजेटले खेलकुदका नयाँ योजनाहरू कटौती गरेको थियो भने चालु आयोजनाको बजेट पनि घटाइएको थियो । यसपल्ट संघको बजेट सिलिङ १० करोड बढाइएको छ ।

बजेटको सीमितता भए पनि सदस्यसचिव सिलवाल पूर्वाधार निर्माण र प्रतियोगिताको तयारीका लागि रकम अभाव नहुनेमा विश्वस्त देखिए । ‘चालु आर्थिक वर्षको बजेट पनि निकै सीमित थियो । तर हामीले बजेटको अभाव महसुस गर्नुपरेन । अहिलेसम्म बजेटभन्दा ४० करोड बढी निकासा भइसकेको छ र आर्थिक वर्षको अन्तसम्म थप करिब ५० करोड निकासा हुनेछ,’ सिलवालले भने ।

उनका अनुसार सरकारको सिलिङमा नवौं राष्ट्रिय खेलकुद, एसियाली, ओलम्पिक र दक्षिण एसियाली खेलकुदको तयारी तथा पूर्वाधार निर्माणका निरन्तर आयोजनाको आवश्यक रकम समावेश गरिएको छैन । स्रोतको ग्यारेन्टी भएका ती कार्यक्रम तथा आयोजनाका लागि छुट्टै बजेट विनियोजन हुने सदस्यसचिवले बताए । ओलम्पिक खेलकुद यसवर्ष टोकियोमा हुनेछ । हरेक दुई वर्षमा आयोजना हुनुपर्ने दक्षिण एसियाली खेलकुदको १४ औं संस्करण सन् २०२१ भित्र पाकिस्तानमा आयोजना गर्ने पूर्वघोषणा छ । सन् २०२२ मा चीनमा एसियाली खेलकुद आयोजना हुनेछ । विश्वभर बढिरहेको कोरोना महामारीका कारण यी प्रतियोगिताहरू पूर्वनिर्धारित समयमै हुने निश्चितता छैन ।

‘हामीले मूलपानी रंगशाला, झापामा बन्ने अन्तर्राष्ट्रिय फुटबल रंगशाला र पाँचथर रंगशालाको निर्माणका लागि आर्थिक स्रोत निश्चित भएको छ । मूलपानी रंगशालाको काम अगाडि बढिरहेको छ । झापा र पाँचथरमा टेन्डर प्रक्रियामा गएर अर्को आर्थिक वर्षदेखि काम सुरु हुनेछ,’ सिलवालले कान्तिपुरसँग भने, ‘यी योजनाका लागि स्रोतको ग्यारेन्टी भएको छ । बजेटभन्दा बाहिरबाट रकम निकासा हुनेछ ।’

यस वर्षको बजेटमा ठूला र नयाँ योजना समावेश नगरिएको उनले जानकारी दिए । ‘यसपल्ट पोखरा रंगशालामा फ्लडलाइट, पोखरामा सुटिङ रेन्ज र पौडीपोखरी निर्माणका लागि बजेट व्यवस्था गरिएको छ । त्यसबाहेक निर्माणाधीन क्षेत्रीय रंगशालालाई सम्पन्न गर्नेतर्फ ध्यान दिइएको छ,’ उनले भने, ‘मेरो कार्यकाल तीन वर्ष बाँकी छ । यसबीचमा खेलकुदमा अहिलेसम्म सुरु गरिएका पूर्वाधारका योजनाहरू सम्पन्न गर्ने लक्ष्य लिएको छु ।’

प्रधानमन्त्रीको गृहनगरमा २५ अर्बको रंगशाला

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिका–३ चुलालुली, दुम्सेमा ३५ हजार दर्शक क्षमताको सुविधासम्पन्न अन्तर्राष्ट्रिय फुटबल रंगशाला निर्माण प्रक्रिया यसै वर्षदेखि सुरु हुने भएको छ ।

राखेप सदस्य–सचिव सिलवालले फुटबल रंगशालाको डीपीआर तयार भएसँगै टेन्डर प्रक्रियामा पुगेको छ । करिब २५ अर्ब अनुमानित लागतमा तीनवर्षे परियोजनाका लागि मन्त्रालयले स्रोत ग्यारेन्टी गरेको उनले बताए ।

‘दुम्सेमा करिब ६५ बिघा क्षेत्रफलमा ३५ हजार दर्शक क्षमताको मुख्य रंगशाला, ६ हजार दर्शक क्षमताको एथलेटिक्स ट्र्याकसहित अभ्यास मैदानको निर्माण पहिलो चरणमा हुनेछ,’ सिलवालले भने, ‘गुरुयोजनाअनुसार मुख्य सबै खेलको खेलस्थल निर्माण गरी बहुउद्देश्यीय खेलकुद केन्द्रको रूपमा विकास गर्ने योजना छ ।’

दुई आवमा खेलकुद मन्त्रालयको बजेट

आर्थिक वर्ष २०७६/७७

संघ– ३ अर्ब ४७ करोड

प्रदेश– ३६ करोड ८६ लाख

स्थानीय तह– १४ करोड ७३ लाख

कुल– ३ अर्ब ९९ करोड

आर्थिक वर्ष २०७७/७८

संघ– १ अर्ब ८३ करोड

प्रदेश– ३७ करोड ४६ लाख

स्थानीय तह– १५ करोड १९ लाख

कुल– २ अर्ब ३६ करोड

प्रकाशित : वैशाख १८, २०७८ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?