कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आधा बाटोमा चेल्सी

द गार्डियन

म्याड्रिड — चेल्सी आफ्नो इतिहासमा तेस्रोपल्ट युरोपेली च्याम्पियन्स लिग फुटबल फाइनल पुग्ने संघारमा पुगेको छ । तर इस्तानबुलको यात्राका लागि चेल्सी आधा बाटोमा मात्र पुगेको छ ।

आधा बाटोमा चेल्सी

चेल्सीका लागि १–१ को बराबरी खुसी हुने नतिजा नै हो । त्यो पनि रियल म्याड्रिड जत्तिको टिमविरुद्ध । चेल्सीका लागि अवे गोल निकै महत्त्वपूर्ण हुन सक्नेछ । जतिबेला चेल्सी लन्डन पुगिसक्ने छ, व्यवस्थापक थोमस टचेलले सोच्नुपर्नेछ, आधा काम त अझै बाँकी छ ।

अझ चेल्सीले आफूले लिएको अग्रता गुमाएको दुःख पनि रहनेछ । खेलका क्रममा जतिबेला पानी पर्न सुरु भयो, आकाश गज्रिन सुरु भएको थियो, रियलका लागि करिम बेन्जेमाले उत्कृष्ट गोल फर्काए । तर रियलको दृष्टिकोणबाट भन्न हो भने दुई टाइको सेमिफाइनलमा टोलीको पकड कमजोर भएको छ । त्यसैले रियलले आफैं पनि दुःख मान्न सक्छ । चेल्सीको दृष्टिकोणबाट भन्दा रियल युरोपमा यस्तो प्रतिद्वन्द्वी टिम हो, जसलाई कहिले पनि कुनै स्थितिमा कमजोर मान्न सकिन्न ।

रियल म्याड्रिडका इडेन हाजार्ड

त्यसैले जतिबेला चेल्सीको घरमा सेमिफाइनलको दोस्रो लेगको खेल हुनेछ, त्यतिबेला रियललाई रोक्न उसले निकै कडा संघर्ष गर्नुपर्नेछ । लाग्न सक्छ, चेल्सीको हात पक्कै माथि छ, तर अर्को साता रियलको सामना गर्दा पक्कै सजिलो हुने छैन । रियल कति बलियो विपक्षी टिम हो भने चेल्सीले पर्याप्त आक्रमण बुने पनि एकै गोलमात्र गर्न सक्यो, त्यो पनि १४ औं मिनेटमा । यो भने क्रिस्टियन पुलिसिचको नाममा रह्यो । उनले दुई रियल डिफेन्डरलाई उछिनेर गोल गरे ।

बेन्जमाको गोल जति राम्रो थियो, पुलिसिचको गोल पनि कम्तीको थिएन । यो चेल्सीले सुरु गरेको आकर्षक मुभका कारण सम्भव भएको थियो । चेल्सीले अन्तिम पटक सन् २०१२ मा युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो उपाधि जितेको थियो । फेरि यसलाई दोहोर्‍याउन सक्ने मोडमा पुग्न सबैभन्दा पहिले रियललाई नै पन्छाउनुपर्नेछ । यस्तोमा चेल्सीका व्यवस्थापक टचेल मान्छन्, सबै प्रकारको सम्भावना र नतिजा कायम छन् ।

उनी भन्छन्, ‘हामीले रियललाई हराएको भए पनि हामीलाई पक्कै सजिलो हुने थिएन, किनभने सबै सम्भावना वास्तवमै जीवन्त छन् । खासमा टाइको मध्यान्तर मात्र भएको छ । हामीले प्रत्येक सेन्टिमिटरका लागि संघर्ष गर्नुपर्नेछ । यस्तो दुई लेगको टाइमा निर्णायक हुन अन्तिम क्षणसम्म मिहिनेत गर्नुपर्नेछ । जहाँसम्म मलाई लाग्छ, आजको खेलमा पहिलो हाफ हाम्रो अनुकूल रहेको भए जित हाम्रो नै हुनुपर्ने थियो । हामीले पहिलो हाफमा निकै राम्रो खेल्यौं ।’

अर्कोतर्फ रियलका प्रशिक्षक जिनेदिन जिदान यो बराबरीलाई दुवै टिमको दृष्टिकोणबाट ठीक नतिजा मान्छन् । उनले भनेका छन्, ‘पक्कै पनि आजको खेलमा पहिलो हाफमा हाम्रो प्रदर्शन राम्रो रहेन । तर दोस्रो हाफमा हामीले धेरै सच्चिएर खेल्यौं । बेन्जेमाको प्रदर्शनका लागि म खुसी छु र मलाई उनको प्रदर्शनमा कुनै पनि आश्चर्य छैन, किनभने उनी कत्तिका खेलाडी हुन् भनेर मलाई थाहा छ । यो सेमिफाइनलको टाइ अहिले नाजुक मोडमा छ ।’

प्रकाशित : वैशाख १६, २०७८ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?