कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

लिग कप जितेपछि सिटीको नजर ईपीएलमा

द गार्डियन

लन्डन — म्यानचेस्टर सिटीले लय समातेको छ । उसले आइतबार लिग कप जित्यो । व्यवस्थापक पेप ग्वार्डिओला चाहन्छन्, यो लय कायम होस् । उनी सिटीले सिजनको सबैभन्दा ठूलो उपाधि जितेको हेर्न चाहन्छन् । त्यो भनेको इंग्लिस प्रिमियर लिग (ईपीएल) । लिगका अबका दुई खेल जिते सिटी च्याम्पियन हुनेछ ।

लिग कप जितेपछि सिटीको नजर ईपीएलमा

वेम्बलीमा भएको फाइनलमा आयचेरिक लापोर्टेले ८२ औं मिनेटमा निर्णायक गोल गरे । यो हेडिङबाट सम्भव भएको थियो । सिटी टोटेनहममाथि १–० ले विजयी रह्यो । कुल ७ हजार ७ सय ७३ दर्शकले यो खेल हेरे । लगभग १३ महिनापछि दर्शकले घरेलु फुटबल प्रत्यक्ष हेर्न पाए । सिटीले भने लिग कप जितेको यो लगातार चौथोपल्ट हो ।

त्यही दिन सिटीले अर्को खुसीको समाचार पनि सुन्न पायो । ईपीएलमा म्यानचेस्टर युनाइटेड गोलरहित बराबरीमा रोकियो, लिड्स युनाइटेडविरुद्ध । त्यसको अर्थ लिगका बाँकी पाँच खेलबाट ६ अंक बटुले उपाधि निश्चित हुनेछ ।

ग्वार्डिओलाले भने, ‘अब हामी युरोपेली च्याम्पियन्स लिगको तयारी गर्नेछौं । सेमिफाइनल पहिलो लेगमा पेरिस सेन्ट जर्मेनविरुद्ध खेल्नु छ । त्यसपछि हामीले सिजनकै सबैभन्दा ठूलो उपाधि चुम्न दुई खेल जित्नुपर्ने हुन्छ । ईपीएल सबैभन्दा ठूलो हो । यो जित मेरो लागि सबैभन्दा गर्वको उपलब्धि हुनेछ । हामी १० अंकले अगाडि छौं । खालि दुई जित आवश्यक छ । सबैभन्दा पहिलो व्यस्त तालिकाबीच क्रिस्टल प्यालेसको सामना गर्नेछौं ।’

सिटी सेलहर्स्ट पार्कमा जानेछ । अनि निर्णायक हुन सक्ने खेलका लागि पेरिस जानेछ । टोटेनहमविरुद्ध भने ग्वार्डिओलाले सिटीको मजबुत टिम नै उतारेको थियो । त्यसैले यसमा केही प्रश्न गर्ने पनि रहे । तर उनी भन्छन्, ‘हाम्रो एक नजर पक्कै पनि च्याम्पियन्स लिगमा छ । तर पनि म सिटीको यही बलियो टिम उतार्न तयार थिएँ । हामी प्रत्येक खेललाई लिएर गम्भीर छौं । नत्र हामीले लगातार चौथो पटक लिग कप जित्ने पनि हुने थिएनौं ।’

ग्वार्डिओला टोटेनहममाथि प्राप्त जितमा खुसी त थिएनन् नै, मान्छन्, उपाधिका लागि टिम पूर्णतः हकदार थियो । टोटेनहमले सिटीविरुद्ध जम्मा दुई आक्रमण बुनेको थियो । जबकि सिटीले २१ । त्यसैले उनी थप्छन्, ‘म आफ्ना खेलाडीका लागि निकै खुसी छु । आजको खेलबाट आफ्ना समर्थकमाझ खुसी साट्न सकेकामा म अझ बढी खुसी छु ।’ टोटेनहमले भने आफ्ना नयाँ निमित्त व्यवस्थापक रायन मेसनको नेतृत्वमा खेलेको थियो ।

जम्मा ६ दिन अगाडि मात्र उनले टिम सम्हालेका थिए । उनी फाइनललाई लिएर के मान्न तयार छैनन् भने लापोर्टेले दुई पहेँलो कार्ड खाएर मैदान छाड्नुपर्ने थियो । लापोर्टेले दुई अवसरमा आक्रामक लुकास मउराविरुद्ध फल खेलेका थिए । मेसनले भने, ‘अब आएर यो विषयमा धेरै चर्चा गर्नुको कुनै अर्थ छैन । हामीले फाइनल गुमाएका छौं र यो तथ्य सत्य हो । यसलाई स्विकार्न पक्कै सजिलो हुन्न । तर हामी यसबाट अगाडि बढ्नु छ ।’

प्रकाशित : वैशाख १४, २०७८ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?