कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिलो उपाधि अवसर

नेपालले ट्वान्टी–२० संरचनामा अहिलेसम्म उपाधि जितेको छैन
विनोद पाण्डे

काठमाडौँ — नेदरल्यान्ड्ससँग शनिबार पल्सर त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा उत्रँदा नेपालसामु पहिलोपल्ट यो संरचनामा उपाधि जित्ने अवसर हुनेछ । पछिल्लो एक दशकमा राम्रो प्रभाव पार्दै नेपालले ट्वान्टी–२० विश्वकप नै खेलेको छ । तर अझै नेपालले ट्वान्टी–२० को कुनै उपाधि जितेको छैन ।

पहिलो उपाधि अवसर

मलेसियासम्मिलित प्रतियोगितामा नेपाल र नेदरल्यान्ड्स शीर्ष दुई स्थानमा रहेर उपाधि भिडन्तलाई तयार भएका हुन् । नेपालले ४ मध्ये ३ खेल जितेको थियो ।

नेदरल्यान्ड्सले राउन्ड रोबिनमा २ मा जित पायो भने एकमा हार सामना गर्‍यो । मलेसियासँग टोलीको अन्तिम खेल ऐतिहासिक रूपमा ‘टाइ’ भएको थियो । सन् २००७ देखि ट्वान्टी–२० क्रिकेट खेल्न लागेको नेपाल २०१३ मा घरेलु मैदानमै सम्पन्न एसीसी ट्वान्टी–२० कपको फाइनल पुग्नुबाहेक उपाधि प्रतिस्पर्धामा उत्रन सकेको छैन । २०१३ मै यूएईमा भएको विश्व ट्वान्टी–२० छनोटमा तेस्रो स्थान हात पार्दै नेपालले त्यसको अर्को वर्ष ट्वान्टी–२० विश्वकप नै खेलेको थियो । दोस्रो पटक फाइनल पुग्दै नेपालसामु ट्वान्टी–२० मा उपाधि जित्ने अर्को अवसर आएको हो ।

नेदरल्यान्ड्सले विश्व ट्वान्टी–२० छनोट नै तीनपल्ट जितेको छ । २००८ मा आयरल्यान्डसँग र २०१५ मा स्कटल्यान्डसँग संयुक्त विजेता बनेको डच दुई वर्षअघि यूएईमा सम्पन्न विश्वकप छनोटको यो प्रतियोगितामा एक्लो विजेता बनेको थियो । त्रिकोणात्मक ट्वान्टी–२० शृंखलामा खेलिरहेको नेदरल्यान्ड्स पूर्ण टोली होइन । आठ प्रमुख खेलाडीबिना टोली काठमाडौंमा खेलिरहेको छ ।

अस्ट्रेलियाली डेव ह्वाटमोरको प्रशिक्षणमा नेपालले जुन ब्याटिङ प्रदर्शन गरिरहेको छ, त्यसले डच क्रिकेटलाई नै प्रभावित बनाएको छ । पहिलो खेलमा नेपालसँग ९ विकेटको हार नेदरल्यान्ड्सको ट्वान्टी–२० मा सबैभन्दा ठूलो दुई हारमध्ये पर्दछ । लगत्तै नेदरल्यान्ड्सका कप्तान पिटर सिलारले भनिहाले, ‘हामीले नेपालबाट क्रिकेटको ठूलो शिक्षा पाएका छौं । उनीहरूले विगतमा खेल्ने शैलीभन्दा अहिले फरक खेलिरहेका छन् ।’

श्रीलंकालाई १९९६ को एकदिवसीय विश्वकप दिलाएका ह्वाटमोरले जनवरीमा नेपाली टोली सम्हालेका थिए । नेपालको प्रशिक्षकका रूपमा उनले पहिलो पटक टिम उतारेका हुन् । ‘ब्याटिङ संघर्ष’ ट्वान्टी–२० मा नेपालसँग जोडिँदै आएको शब्द हो । यो प्रतियोगिताले त्यो पर्यायलाई नै ओझेलमा पारिदिएको छ । नेपालले पहिलो दुई खेलमा नेदरल्यान्ड्स र मलेसियामाथि समान ९ विकेटको जित हात पार्दा क्रमशः १ सय ३७ रनको लक्ष्य १५ ओभर १ सय १० रनको लक्ष्य १३ औं ओभरमा पूरा गरेको थियो ।

पछिल्ला दुई खेलमा नेपालको ब्याटिङ अझै उच्च विन्दुमा पुगेको थियो । नेदरल्यान्ड्ससँग २ सय ६ र मलेसियासँग २ सय १७ रन बनाएर नेपालले ब्याटिङबाटै उपाधि दाबेदारिता प्रस्तुत गरेको थियो । ओपनिङ जोडीबाट सुरु हुने नेपालको रन संघर्षलाई कुशल भुर्तेल र आसिफ शेखको प्रारम्भिक साझेदारीले नयाँ उर्जा दिएको छ । दुवैले यसै शृंखलाबाट ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरेका हुन् । कुशलले पहिलो तीन खेलमै अर्धशतक बनाएर विश्व कीर्तिमान रचे । कुशललाई राम्रो साथ दिँदै आसिफले पहिलो खेलमा अविजित अर्धशतक बनाएका थिए अन्य २ खेलमा समान ४२ रनको स्कोर हाने ।

विनोद भण्डारीबाहेक अन्य सबै नेपाली ब्याट्सम्यानको प्रतियोगितामा स्ट्राइक रेट १ सय ३० भन्दा माथि छ, त्यसमा कुशल मल्लको स्ट्राइक रेट २१७.६४ र करण केसीको ३०६.६६ छ । करणले मलेसियासँग बिहीबार १३ बलमा ४५ रन बनाउनेक्रममा ७ छक्का प्रहार गरेका थिए । कुशलले दुई खेलमा ब्याटिङ गरेर ३७ रन बनाउँदा ५ छक्का प्रहार गरिसकेका छन् । दीपेन्द्रले १९८ को स्ट्राइक रेटमा ३ खेलमा ब्याटिङ गर्दै ९९ रन बनाएका छन् । कुशल भुर्तेलले २ सय १ र आसिफले १ सय ३८ रन बनाइसकेका छन् ।

नेपाली ब्याट्सम्यानले पछिल्ला दुई खेलमा नेदरल्यान्ड्सविरुद्ध ११ र मलेसियाविरुद्ध १९ छक्का प्रहार गरेका थिए । नेपालका कप्तान ज्ञानेन्द्र मल्लले उत्साहपूर्ण ब्याटिङलाई लिएर फाइनलमा आत्मविश्वास जगाएको बताएका थिए । ‘विकेट राम्रो छ, यो विकेटमा जसरी रन बनिरहेको छ, त्यसले बाउन्ड्री पनि सानो भएजस्तो लागिरहेको छ । ब्याटिङमा जतिसक्दो रन बनाउने र बलिङमा जतिसक्दो डट बल फाल्ने लक्ष्य बनाउनुपर्छ,’ फाइनलबारे ज्ञानेन्द्रले भनेका थिए, ‘रन मजाले बनिरहे पनि बेलाबेलामा हाम्रो लगातार विकेट गइरहेको छ, डट बललाई कम गर्नुपर्छ र अन्तिम ओभरहरूमा अझ बढी रन बनाउनुपर्छ ।’

त्यसविपरीत नेपालको बलिङ र फिल्डिङ भने खासै उत्साहजनक छैन । विगतमा बलिङ र फिल्डिङबाटै खेल्ने जित्ने गरेको नेपाल यसपालि यो दुई क्षेत्रमा कमजोर देखिएको छ । नेदरल्यान्ड्ससँग पहिलो खेलमा नेपाली खेलाडीले धेरै मिसफिल्ड गरे । दोस्रो खेलमा नेदरल्यान्ड्सले २ सय ७ रन बनाउँदै ट्वान्टी–२० अन्तर्राष्ट्रियमै सबैभन्दा ठूलो लक्ष्य पछ्याएको थियो ।

लेग स्पिनर सन्दीप लामिछाने प्रतियोगितामा ११ विकेट लिइसके पनि केही खर्चिलो बनेका छन् । चोटबाट फर्किएकाले करण केसीले पुरानो लय समात्न सकेका छैनन् । ट्वान्टी–२० मा मुख्य आस गरिएका अविनाश बोहराले ३ खेलमा १ विकेट लिनमात्र सकेका छन् भने झन्डै प्रतिओभर ९ रन खर्चेका छन् । मलेसियासँग अन्तिम खेलमा उनको स्थानमा कमलसिंह ऐरीलाई खेलाइएको थियो । कमलले आफ्नो ट्वान्टी–२० अन्तर्राष्ट्रिय ‘डेब्यु’ लाई स्मरणीय बनाउनेक्रममा ३ विकेट लिए ।

प्रशिक्षक ह्वाटमोरले शुक्रबार इन्स्टाग्राममा अविनाशसँगको फोटो पोस्ट गर्दै भनेका छन्, ‘मेरा लागि म्यान अफ द म्याच अविनाश हुन् । आफूलाई आराममा राखेर कमलसिंह ऐरीलाई डेब्यु गर्न दिएकामा धेरै धन्यवाद दिन चाहन्छु ।’ उनको यो पोस्टले अविनाशलाई फाइनलमा फुर्तिलो बनाएर राख्न खोजेको देखिन्छ । सोमपाल कामी र करणको तीव्र गतिको बलिङ प्रतिस्पर्धामा अविनाशले योर्कर विशेषज्ञका रूपमा आफूलाई स्थापित गरेका छन् ।

नेदरल्यान्ड्सले राउन्ड रोबिनमा नेपालसँग दोस्रो खेलमा जुन प्रदर्शन देखाएको छ, त्यसले टोलीको विगत देखाउँछ । २००९ को विश्व ट्वान्टी–२० मा टोलीले १ सय ६३ रनको विजय लक्ष्य पछ्याउँदै इंग्ल्यान्डलाई लर्ड्समा हराएको थियो । २०१४ मा बंगलादेशमा आयरल्यान्डविरुद्ध नेदरल्यान्ड्सले १४ ओभरभित्र बनाएको १ सय ९४ रनको लक्ष्य ट्वान्टी–२० अन्तर्राष्ट्रियकै एक उत्कृष्ट खेलमा पर्छ । नेपाल र नेदरल्यान्ड्सको पछिल्लो खेल पनि कम सनसनी थिएन । फाइनल यस्तै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

नेदरल्यान्ड्सलाई पराजित गरेमा नेपालले ११ वर्षपछि घरेलु मैदानमा उपाधि जित्नेछ । २०१० मा नेपालले विश्व क्रिकेट लिग संरचनाको डिभिजन ५ को उपाधि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा उचाल्दा त्यसको अघिल्लो वर्ष नेदरल्यान्ड्सले इंग्ल्यान्डलाई पराजित गरिसकेको थियो । २०१४ मा मलेसियामा डिभिजन ४ जितेयता पहिलो उपाधि उचाल्ने आसमा नेपाल छ ।

नेदरल्यान्ड्सका कप्तान पिटर सिलार अलराउन्ड प्रदर्शनबाट आफैं उदाहरणीय बनेका छन् । उनले ९१ रन बनाउनुका साथै ३ विकेट लिएका छन् । म्याक्स ओ’डाड यसै शृंखलाबाट नेदरल्यान्ड्सका लागि ट्वान्टी–२० अन्तर्राष्ट्रियमा शतक बनाउने पहिलो खेलाडी बनेका छन् । उनले ३ खेलमा १ सय ५२ रन बनाइसके । बेन कुपरले १ सय २९ र बास डे लिडले १ सय २२ रन बनाइसकेका छन् ।

ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरीयतामा नेपाल १५ औं र नेदरल्यान्ड्स १७ औं स्थानमा छन् । प्रमुख खेलाडीहरूबिनै आए पनि नेदरल्यान्ड्सले नेपालविरुद्ध जुन प्रदर्शन देखाएको थियो, त्यसले डच क्रिकेट कस्तो पद्धतिबाट चलिरहेको छ भन्ने देखाएको छ । कोभिड–१९ का कारण १७ महिनापछि पहिलोपल्ट अन्तर्राष्ट्रिय खेल खेल्दा डच क्रिकेटको ब्याटिङ र बलिङको एउटै धार देखिएको छ । नेदरल्यान्ड्ससँग फाइनल खेलिरहँदा नेपालले डच क्रिकेटको व्यवस्थापन सिको गर्न पछि पर्नु हुँदैन ।

प्रकाशित : वैशाख ११, २०७८ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?