१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६०

नेपाल सुपर लिग : नयाँ अध्यायको सुरुआत

महामारीले फेरि तनाव बढाइरहेकै बेला एनएसएलले गति लियो । हरेक दिन आयोजक वा फ्रेन्चाइज टिमको केही न केही कार्यक्रम भइरह्यो, जसले एनएसएलप्रतिको आशंका चिर्दै गएको थियो । अन्ततः एनएसएल आयोजनाको संघारमा आइपुगेको छ । दर्शकबिना काठमाडौं रेजर्सविरुद्ध ललितपुर सिटीको प्रतिस्पर्धासँगै दशरथ रंगशालामा शनिबार नेपाली फुटबलमा नयाँ अध्यायको सुरुआत हुँदै छ ।
राजु घिसिङ

काठमाडौँ — नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसईएम) ले फ्रेन्चाइज टिमको प्रतियोगिता आयोजना गर्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) सँग चारवर्षे सम्झौता गर्दै २०७५ पुस १७ मै नेपाल सुपर लिग (एनएसएल) घोषणा गरेको थियो, जसको पहिलो संस्करण २०७६ वैशाख–जेठमा तोकिएको थियो । त्यसको दुई वर्षसम्म एनएसईएम र एन्फा चुप बसे । एनएसएल नै नहुने हो कि भन्ने आशंका बढ्न थालेको थियो ।

नेपाल सुपर लिग : नयाँ अध्यायको सुरुआत

कोभिड–१९ को संक्रमण घटेको बेला फेरि एनएसईएमले सक्रियता देखायो र २०७७ फागुन १० मा आएर वैशाख (२०७८) मा पहिलो संस्करण गर्ने घोषणा नै गर्‍यो । सात प्रदेशका सात टिमलाई खेलाउने पूर्वघोषणाबाट पछि हट्दै चैत १ मा सात सहरका सात टिम र त्यसका मालिकहरू नै सार्वजनिक गर्‍यो । पाँचतारे होटलमा आयोजित त्यो भव्य कार्यक्रमले प्रदेश २ र कर्णालीलाई बेवास्ता गरे पनि भाटभटेनी सुपरमार्केट, यामाहा मोरङ अटो वर्क्स, आईएमई ग्रुप, लक्ष्मी ग्रुप, सेयर ब्रोकर भिजन सेक्युरिटिजजस्ता नेपालको उद्योग–व्यवसायका ठूलै खेलाडीहरूदेखि घरेलु क्रिकेटमा फ्रेन्चाइज शैली भित्र्याएका धनगढी प्रिमियर लिग (डीपीएल) का आयोजकसम्म समेट्यो ।

घरेलु फुटबल प्रतियोगिताका टिमले एकैपल्ट धेरै कर्पोरेट हाउसमा प्रवेश पाएको अर्को साता चैत ६ मै खेलाडीको लिलाम बिक्री (अक्सन) भयो, जहाँ उपलब्ध १४९ खेलाडीबाट सात टिमले ९८ खेलाडी किने । अक्सनमा खेलाडीले २० हजारदेखि २ लाख रुपैयाँसम्म (सीमा तोकिएको) बोली पाए । एउटै खेलाडीलाई ६ टिमले बोली लगाउँदा आठ खेलाडीले अधिकतम मूल्य पाए । अलि रणनीतिक खेल पनि रहेको अक्सनमा १४ खेलाडी लिन टिमलाई १० लाखदेखि १५ लाख ५० हजारसम्म खर्चसीमा तोकिएको थियो । फ्रेन्चाइज टिमले नौ लाख ६० हजारदेखि १२ लाख २५ हजारसम्म लगाए । अक्सनअघि नै सातै टिमले ‘मार्की प्लेयर’ घोषणा गरिसकेका थिए ।

टिमले २० जनामात्रै खेलाडी राख्न पाउने भएकाले पनि हुनसक्छ, राष्ट्रिय टिमबाट पहिलो रोजाइमै खेलिरहेका केही खेलाडी पनि अक्सनमा बिक्री भएनन् । विदेशी (देशबाहिर खेलिरहेका नेपाली खेलाडीलाई ‘आइकोनिक प्लेयर’ को रूपमा ल्याउनेसहित) तीन र स्थानीय दुई खेलाडीको पारिश्रमिक बेग्लै छ, जसका लागि अक्सनलगत्तै सबै टिम लागेका थिए । यसै बेला कोभिड–१९ को संक्रमण फेरि फैलियो । आफ्नै ‘ए’ डिभिजन लिग हुँदाहुँदै एन्फाले फ्रेन्चाइज लिगलाई दिएको मान्यतामै प्रश्न तेर्सिएको छ । अक्सनका लागि खेलाडी छनोटकर्ता, राष्ट्रिय टिमकै बहालवाला प्रशिक्षक, व्यवस्थापक र एन्फाको लिगकै प्रमुखको फ्रेन्चाइज टिममा प्रत्यक्ष संलग्नताले पनि विवाद सिर्जना गर्‍यो ।

महामारीको जोखिम बढिरहँदा थुप्रै प्रश्न अनुत्तरित छँदै विदेशी खेलाडी धमाधम काठमाडौं ओर्लन थालिसकेका थिए । मोफसलमा गोल्डकप त चलिरहेकै थिए, जहाँ खेलाडीहरूलाई भ्याइनभ्याइ थियो नै । थोरै खेलाडीमात्रै लिएर भए पनि पोखरा थन्डर्सले पोखरा, विराटनगर सिटीले धरानमा ट्रेनिङ सुरु गरे भने काठमाडौं रेजर्स, एफसी चितवन, ललितपुर सिटी, बुटवल लुम्बिनी र धनगढी एफसीले

उपत्यकामै अभ्यास गर्न थाले । खेलाडीहरू आफ्नै टिमका लागि बनाइएको ट्रेनिङ किट्स लगाएर बल खेल्नमात्रै होइन, टिमको लोगो, रङ र नाराले रंगाइएको बसमा सवार गरेको देखिन थाल्यो । सोल्टी क्राउन प्लाजा, सांग्रिलाजस्ता पाँचतारे होटलमै बसेर खेलाडीले पहिलोपल्ट घरेलु प्रतियोगिताका लागि तयारी गर्न पाए ।

महामारीले फेरि तनाव बढाइरहेकै बेला एनएसएलले गति लियो । हरेक दिन आयोजक वा फ्रेन्चाइज टिमको केही न केही कार्यक्रम भइरह्यो, जसले एनएसएलप्रतिको आशंका चिर्दै गएको थियो । अन्ततः एनएसएल आयोजनाको संघारमा आइपुगेको छ । दर्शकबिना काठमाडौं रेजर्सविरुद्ध ललितपुर सिटीको प्रतिस्पर्धासँगै दशरथ रंगशालामा शनिबार नेपाली फुटबलमा नयाँ अध्यायको सुरुआत हुँदै छ ।

भारतको आई लिगहरू सम्हालिसकेका विराटनगर सिटीका प्रशिक्षक यान ल भन्छन्, ‘नयाँ खालको फ्रेन्चाइज लिग नेपाली फुटबलका लागि सुखद अवसर हो । यो अवसर सबैको लागि हो । यतिबेला प्रतियोगिता खेल्नु पनि फरक अनुभवको अवसर हो ।’ युगलकिशोर राईलाई मुख्य प्रशिक्षक नियुक्त गरेको धनगढी एफसीले पनि विदेशी प्रशिक्षक (तोपे फुजा/नाइजेरिया) भित्र्याएको छ । झन्डै डेढ महिनाका लागि आबद्ध भएका नेपाली खेलाडीहरूको एनएसएलमा पारिश्रमिक छलाङ मार्ने खालको होइन । तर, नयाँ प्रयोगको रूपमा ल्याइएको प्रतियोगितामा खेल्न उनीहरू आतुर छन् । यसलाई उनीहरूले आफ्नो कौशल देखाउने अवसरको रूपमा लिएका छन् ।

यहाँको ‘ए’ डिभिजन लिगमा दशकयता उत्कृष्ट प्रदर्शन गरिरहेका नाइजेरियन फरवार्ड ओलावाले आफिज, जब्बर सेन्टर–ब्याक पिटर सेगुन एनएसएलका लागि फर्किएका छन् । अर्को अफ्रिकी देश इजिप्टबाट पनि खेलाडी ल्याइएको छ । अफ्रिकाबाट मात्रै होइन, स्पेन, क्रोएसिया, सर्बिया, अजरबैजानलगायत युरोपेली देशबाट पनि खेलाडी एनएसल खेल्न आइपुगेका छन् । खेलेका लिग र क्लबलाई सरसर्ती हेर्दा नै उनीहरू विगतमा नेपाल आएका विदेशी खेलाडीभन्दा उत्कृष्ट देखिन्छन् । उत्कृष्ट खेलाडीसँगै खेल्न र प्रतिस्पर्धा गर्न पाउनु नेपाली खेलाडीको कौशल वृद्धि गर्ने अवसर पनि हो ।

सबै टिमले एकसाथ ट्रेनिङ गर्ने अवसर केही दिनमात्रै पाए । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सबै प्रशिक्षकले तयारीलाई थोरै समय पाएकोमा गुनासो गरे । तैपनि सातै टिमले राम्रो खेलेर उपाधि जित्ने अभियानमा रहेको दाबी गरेका छन् । जेठ १ सम्म सञ्चालन हुने एनएसएलमा कुनै टिमलाई ६ दिनभित्र तीन खेल खेल्नुपर्ने बाध्यता पनि छ । फाइनलको बाटोमा ‘एलिमिनेटर’ बाट गुज्रिने एक टिमले त आजको भोलि नै मैदानमा उत्रिनुपर्नेछ । सबै टिमले लिग चरणमा एकअर्काविरुद्ध खेल्नेछन् । फाइनल प्रवेशका लागि हुने शीर्ष चार टिमको प्रतिस्पर्धासहित एनएसएलमा २५ खेल हुनेछ ।

नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले विश्वकप छनोटका लागि बोलाइएका ३२ खेलाडीमा एनएसएल क्लबमध्ये सबैभन्दा धेरै ६ खेलाडी धनगढी एफसीका छन् । तर, अधिकांश खेलाडी अक्सनबाट लिइएकाले एनएसएल टिमहरूवीच खासै ठूलो भिन्नता छैन । अधिकांश टिमले अग्रपंक्तिमा विदेशी खेलाडी भित्र्याएका छन् । गोलका लागि उनीहरू नै निर्णायक बन्न सक्छन् । यस्तैमा एनएसएलका खेलहरू खाली प्यारापिटमा पनि प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

पुरस्कार च्याम्पियनलाई ३५ लाख र उपविजेतालाई १५ लाख दिने आयोजकले जनाएको छ, जुन ‘ए’ डिभिजन लिगको तुलनामा निकै थोरै हो । एनएसएलका सातै टिम नेपाली फुटबलका नयाँ क्लब हुन् । नयाँ भए पनि उनीहरूले परम्परागत क्लबहरूभन्दा केही पृथक र व्यावसायिक अभ्यास गरेका छन् । उनीहरूकै बाहुबलमा एक–डेढ महिनाका लागि मात्रै भए पनि नेपाली फुटबल व्यावसायिक बन्ने भएको छ । एन्फाले ‘ए’ डिभिजन लिग नै घरेलु फुटबलको शीर्ष प्रतियोगिता भएको र यसलाई निरन्तरता दिइने भनिरहँदा एनएसएलको भविष्य भने अन्योलमै देखिन्छ । तर पनि यो नयाँ अध्यायको सुरुआत हुँदै छ ।

आजको खेल

काठमाडौं रेजर्सविरुद्ध ललितपुर सिटी

१७:३० बजे

दशरथ रंगशाला

प्रकाशित : वैशाख ११, २०७८ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?