कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विराट गोल्डकप : संकटा सेमिफाइनलमा

विनोद भण्डारी

विराटनगर — आहा–रारा गोल्डकप विजेता संकटा क्लब मंगलबार छैटौं विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ ।

विराट गोल्डकप : संकटा सेमिफाइनलमा

अफ्रिकन रुट्स युनाइटेडविरुद्ध १–० गोलको कठिन जित निकाल्दै संकटाले अन्तिम चारको यात्रा गरेको हो । संकटाले फाइनल पुग्नका लागि बिहीबार पन्जाब पुलिस क्लब भारतको सामना गर्नेछ । १९ औं आहा–रारा गोल्डकपको फाइनलमा संकटाले अफ्रिकन युनाइटेडलाई टाइब्रेकरमा ४–२ ले हराउँदै उपाधि जितेको थियो ।

अफ्रिकनविरुद्ध मंगलबार दबेर खेलेको संकटाका लागि ६१ औं मिनेटमा बुनेको पहिलो मुभमा नै गणेश हमालले गोल गर्दा निणायक बन्यो । गणेशले ओडेज ग्लोरीको पास सदुपयोग गर्दै अफ्रिकनका गोलकिपर दा स्यालभिओलाई बिट गर्दै आकर्षक गोल गरेका थिए ।

खेलको पूरै समय संकटालाई दबाबमा राखेको अफ्रिकनले दर्जन बढी अवसर सदुपयोग गर्न नसक्दा आहा–रारा गोल्डकपमा बेहोरेको हारको बदला लिन असफल रह्यो । खेलको २४ औं मिनेटमा कुटेको कार्नर भलीमा बास्सेकले संकटाका गोलकिपर राजुबाबु थापा बिट भएको अवस्थामा गरेको हेड पोस्टमाथिबाट बाहिरिँदा अग्रता लिनबाट चुकेको थियो ।

संकटाको जितमा गोलकिपर राजुबाबु नायक बने । उनले दर्जन बढी अफ्रिकन आक्रामणलाई निस्तेज बनाउँदै टिमको हार टारेका थिए । खेलको ४७ औं मिनेटमा एमरोमोले प्रहार उनले पञ्च गरेर फर्काएको बललाई बास्सेकले पुनः प्रहार गरे । तर त्यसमा उत्कृष्ट बचाउ गर्दै अफ्रिकनलाई निराश तुल्याएका थिए ।

एक गोलले पछि परेपछि अझ आक्रामक देखिएको अफ्रिकनका एमरोमोले ६२ औं र बास्सेकले ६४ औं मिनेटमा गरेको कडा प्रहार संकटाका गोलकिपर राजुबाबुले नियन्त्रणमा लिएका थिए । खेलको ७९ औं मिनेटमा एवाकोपको कर्नरमा बास्सेकको उत्कृष्ट हेड गोलकिपर राजुबाबुले बचाउ गर्दै अफ्रिकनलाई खेलमा फर्कने अवसर दिएनन् । ८९ औं मिनेटमा अफ्रिकनका एनजीमीले गरेको प्रहार बारमा लागेर फर्किएपछि टिमको सम्भावनाको अन्त्य भएको थियो ।

लगातार दबाब खेपेको संकटाले ७८ औं मिनेटमा दोस्रो उत्कृष्ट मुभ निकाल्दै गोल थप्ने अवसर सिर्जना गर्दा अफ्रिकन डिफेन्स बाधक बन्यो । अफ्रिकाका गोलकिपर स्याभियो बिट भएको अवस्थामा गणेश हमालले गरेको प्रहार एनजीभेमोले गोललाइनबाट फर्काएका थिए । संकटाका गोलकिपर राजुबाबु थापा म्यान अफ द म्याच भए । उनले १० हजार रुपैयाँ थापे । बुधबार घरेलु टिम विराटनगर–११ र एपीएफबीच पहिलो सेमिफाइनल खेल हुनेछ । विराटनगरले सिक्किम र सिलिगुढी तथा एपीएफले नेपाल पुलिस क्लबलाई हराउँदै अन्तिम चारको यात्रा गरेका थिए ।

प्रकाशित : वैशाख १, २०७८ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?