कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

आर्मीको अग्निपरीक्षा

त्रिभुवन आर्मीले पहिलोपल्ट महादेशीय क्लब फुटबलको औपचारिक प्रतियोगिता खेल्ने अवसर पाएको छ
राजु घिसिङ

काठमाडौँ — सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन नभए पनि देशको प्रतिनिधित्व गर्दै एसियाली फुटबल महासंघ (एएफसी) को क्लब फुटबलको दोस्रो प्रतियोगिता ‘एएफसी कप’ खेल्न पाउने भाग्यमानी क्लब हो त्रिभुवन आर्मी क्लब ।

आर्मीको अग्निपरीक्षा

नेपाली सेनाको यो क्लबले एएफसी कप २०२१ प्रारम्भिक छनोटको दोस्रो चरणमा बुधबार इन्डियन सुपर लिग (आईएसएल) क्लब बेंग्लुरु एफसीविरुद्ध गोवामा प्रतिस्पर्धा गर्दै छ ।

‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबले एएफसी क्लब लाइसेन्सको मापदण्ड पूरा गर्न नसकेपछि त्रिभुवन आर्मीले पहिलोपल्ट महादेशीय क्लब फुटबलको औपचारिक प्रतियोगिता खेल्ने अवसर पाएको हो । आर्मीले गत साता दशरथ रंगशालामा श्रीलंका पुलिसलाई ५–१ ले पन्छाउँदै प्रारम्भिक छनोटको दोस्रो चरणमा बेंग्लुरुविरुद्धको भेट पक्का गरेको थियो । भारतका कीर्तिमानी गोलकर्ता सुनील क्षेत्रीको कप्तानीमा रहेको बेंग्लुरुविरुद्ध सफलता हात पार्नसके आर्मी प्लेअफमा पुग्नेछ, जहाँ माल्दिभ्सको इगल्स वा बंगलादेशको अबहानी लिमिटेड ढाकाविरुद्ध खेल्नुपर्नेछ । प्लेअफ विजेताले एएफसी कपको दक्षिण एसियाली क्षेत्रको समूह चरणमा प्रतिस्पर्धा गर्ने मौका पाउने छ ।

तर, आर्मीलाई बेंग्लुरुको चुनौती पन्छाउन सजिलो छैन । ‘ए’ डिभिजन लिगको उपविजेता आर्मी व्यावसायिक फुटबलको बाटोमा पाइला टेक्न खोजेको क्लब हो । सन् २०१३ मा स्थापित बेंग्लुरुले दुईपल्ट आई लिग र फेडेरेसन कप विजेता भएपछि चार वर्षअघि आईएसएल खेल्न थालेको हो । एएफसी कप २०१६ को उपविजेता नै भयो । आईएसएल च्याम्पियन पनि भइसकेको बेंग्लुरु छोटो समयमै भारतको लोकप्रिय क्लब भइसकेको छ । भारु ३४ करोड बढी बजार मूल्य रहेको बेंग्लुरुले पछिल्लो सिजन भने आईएसएलमा गतिलो प्रदर्शन गर्न सकेन, सातौं स्थानमा रह्यो ।

एएफसी क्लब लाइसेन्स प्राप्त गर्ने देशकै एक्लो क्लब भएपछि नै आर्मीले एएफसी कपका लागि तयारी गरेको थियो । मंसिरमै ट्रेनिङ थालेको आर्मीले गोवामा दुई दिन अभ्यास गर्ने मौका पायो । मंगलबार खेलस्थल जीएमसी रंगशालामै प्रशिक्षण गर्‍यो । आईएसएल २०१९–२० मा तेस्रो भएकाले बेंग्लुरुले यसपालि एएफसी कपमा अवसर पाएको हो । बेंग्लुरुले दुई महिनाअघि जर्मन प्रशिक्षक मार्को पेजाउओलीलाई भित्र्याएको थियो । उनको नेतृत्वमा बेंग्लुरुको पहिलो खेल नै आर्मीविरुद्ध हुन लागेको हो । गत सिजन बेंग्लुरु एफसी कपको प्लेअफमै रोकिएको थियो । उसलाई माल्दिभ्सको माजियाले सिकार बनाएको थियो । त्यसैले बलियो भए पनि बेंग्लुरु बाम्बोलिमस्थित जीएमसी रंगशालामा आर्मीविरुद्ध सचेत हुनेछ । पछिल्लो सिजन खराब भएकाले पनि आफ्नो पहिलो खेलमा सफलता चाहेको प्रशिक्षक पेजाउओलीले बताएका छन् ।

‘आर्मी उत्साही’

‘आईएसएल टिमविरुद्ध खेल्न पाउँदा हामी एकदमै उत्साही छौं र तयार पनि,’ आर्मीका प्रशिक्षक नवीन न्यौपानेले गोवाबाट कान्तिपुरसँग भने, ‘हामीले श्रीलंका पुलिसविरुद्ध आक्रामक खेलेका थियौं । निकै दबाब दिएर खेलेका थियौं । बेंग्लुरुविरुद्ध त्यस्तो प्रदर्शन नहोला । अलि डिफेन्सिभ देखिनेछ । हामी डिफेन्सलाई चुस्त र बलियो बनाएर काउन्टर अट्याकमा अगाडि बढ्ने छौं । यस्तो खेलमा एक–दुई वटा अवसर पाइन्छ, त्यसमा गोल गर्न सक्यौं भने हाम्रो जित्ने अवसर हुन्छ ।’

प्रशिक्षक नवीन न्यौपाने

आर्मीले एक गोलले पछाडि परेको स्थिति उल्टाएर श्रीलंका पुलिसलाई ५–१ ले हराएको थियो । पूरा खेलमै आक्रामक प्रदर्शन गरेको आर्मीले मिडफिल्डर सन्तोष तामाङको लोभलाग्दो गोलमा बराबरी गरेको थियो । त्यसपछि नवयुग श्रेष्ठले दुई तथा टंक बस्नेत र सुदील राईले एक–एक गोल गरेका थिए । कोभिड–१९ संक्रमण भएपछि पहिलो रोजाइका गोलकिपर विकेश कुथु र फरवार्ड जर्जप्रिन्स कार्कीसँगै फिजियो आविष्कार पुडासैनीले दशरथ रंगशालाको खेल गुमाएका थिए । तेस्रो परीक्षणमा पनि पोजेटिभ देखिएपछि उनीहरूले गोवाको खेल पनि गुमाउँदै छन् ।

श्रीलंका पुलिसविरुद्ध खेलेका कप्तान भरत खवाससहित विंगर टेकबहादुर बुढाथोकी र म्यानेजर विकास मल्ल पनि कोभिड–१९ पोजिटिभ भएपछि गोवा उड्न पाएनन् । त्यसैले आर्मीलाई फरवार्ड लाइनमा अनुभवी भरतको अभाव खड्किन सक्छ । जर्जप्रिन्सको स्थान टंकले लिएका थिए भने विकेशको स्थानमा विवश चौधरीले आर्मीको पोस्ट सम्हालेका थिए । यसबारे प्रशिक्षक न्यौपानेले भने, ‘हामी उत्कृष्ट टिमविरुद्ध खेल्दैछौं । यस्तो खेलमा अनुभवले पनि काम गर्ने भएकाले विकेशको अभाव अलि देखिन्छ । किनभने उनी अनुभवी खेलाडी हुन् । तर, विवशले पनि राम्रो प्रदर्शन गर्ने आशा छ ।’ विकेश राष्ट्रिय टिमको प्रशिक्षणमा रहँदा आर्मीको पोस्ट विवशले नै सम्हाल्दै आएका थिए ।

एसियाली फुटब महासंघ (एएफसी) को प्रतियोगितामा पहिलोपल्ट सहभागी भएको त्रिभुवन आर्मी नेपाली खेलाडीले भरिएको छ । एएफसी कपमा एक एसियालीसहित चार विदेशी खेलाडीले खेल्न पाउँछन् । त्यसैले, विदेशी खेलाडी राख्न नसक्नु पनि बेंग्लुरुविरुद्ध आर्मीको कमजोरी हुनसक्छ । बेंग्लुरुका विदेशी खेलाडीबारे प्रशिक्षक न्यौपानेले भने, ‘प्रतियोगितामा अरू क्लबको हतियार नै विदेशी खेलाडी हुन् । आईएसएलको प्रदर्शन हेर्दा उनीहरूको (बेंग्लुरुका विदेशी खेलाडी) स्तर धेरै माथि छ ।’

बलियो प्रतिद्वन्द्वी

उमेर समूहका जर्मन टिमहरू हेरिसकेका प्रशिक्षक मार्को पेजाउओलीले गेबोनका डिफेन्डर यरोन्दु मुसाभु–किङलाई स्पेनी सेन्टर–ब्याक जुनान गोन्जालेजसँगै आर्मीविरुद्ध खेलाउन सक्छन् । उनले अस्ट्रेलियन मिडफिल्डर एरिक पार्तलु र ब्राजिलियन फरवार्ड क्लेटन सिल्भालाई पनि उपयोग गर्नेछन् । उनले कोभिडमुक्त भएर फर्किएका कप्तान सुनील क्षेत्रीसहितको बलियो टिम आर्मीविरुद्ध उतार्ने घोषणा गरेका छन् ।

‘पहिलो खेलको व्यग्र प्रतीक्षामा छु, जसको तयारी धेरै राम्रो गरेका छौं,’ प्रि–म्याच प्रेस कन्फ्रेन्समा प्रशिक्षक पेजाउओलीले भनेका छन्, ‘हाम्रा लागि गत वर्ष प्रतियोगिताको छनोटबाटै बाहिरिएयताको महत्त्वपूर्ण खेल हो यो । हामी समूह चरणमा प्रवेश गर्न चाहन्छौं । त्यो बाटोको पहिलो खेलमा नेपालको बलियो टिमविरुद्ध प्रतिस्पर्धा गर्दैछौं । हाम्रो हातमा कठिन खेल छ । तर, मेरो विचारमा हामी उसलाई पराजित गर्नेछौं र अर्को चरणमा पुग्नेछौं ।’

नेपाली टिमबारे बेंग्लुरुका कप्तान क्षेत्रीले भनेका छन्, ‘त्रिभुवन आर्मीले श्रीलंकाली टिमलाई पराजित गरेको हामीले देखेका छौं । उसले राम्रो खेलेको थियो । त्यसमा एकता र कसरी ट्रेनिङ गराइएको थियो भन्ने देख्न सकिन्थ्यो । उनीहरूले टिममा सँगै समय बिताएको हुनुपर्छ । त्यसैले यो (आर्मीविरुद्धको खेल) सजिलो हुने छैन ।’ बेंग्लुरुले रिजर्भ टिमका ५ खेलाडीलाई पनि एएफसी कपको टिममा समावेश गरेको छ । नेपाली क्लबले आईएसएल टिमविरुद्ध दोस्रोपल्ट खेल्न लागेको हो ।

प्रकाशित : वैशाख १, २०७८ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?