कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आहा रारा गोल्डकप : उपाधिमा दुवै आत्मविश्वासी

दीपक परियार

पोखरा — यसपालि आहा–रारा गोल्डकप फुटबलको उपाधि नयाँ टिमको पोल्टामा पर्ने निश्चित छ । पोखरामा जारी प्रतियोगिताको फाइनलमा पुगेका संकटा क्लब र पाहुना टोली अफ्रिकन रुट्स एसोसिएसन १९ औं संस्करण आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिन्छन् ।

आहा रारा गोल्डकप : उपाधिमा दुवै आत्मविश्वासी

शुक्रबार प्रि–म्याच कन्फ्रेन्समा दुवै टिमका प्रशिक्षक र कप्तानले आहा–रारा गोल्डकपमा नयाँ इतिहास रच्नेप्रति आफूहरू विश्वस्त भएको सुनाए ।

आयोजक सहारा क्लबलाई घरेलु मैदानमै हराएको एपीएफलाई सेमिफाइनलमा हराएर संकटा फाइनल प्रवेश गरेको हो । यसअघि पहिलो खेलमा प्रतियोगिताको सर्वाधिक छपल्टको विजेता एवं डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङदी क्लबलाई हराएर संकटाले सुखद संकेत देखाइसकेको थियो । क्यामरुनको अफ्रिकन रुट्सले पहिलो खेलमा लिग विजेता मछिन्द्रलाई हरायो । आइतबार पोखरामा खेलेर सोमबार नै मकवानपुरमा चौथो वाग्मती गोल्डकप फुटबलको फाइनल खेल्न पुग्यो । फाइनलमा थ्रीस्टार क्लबसँग पराजित भएर अफ्रिकन रुट्स पोखरा फर्कियो । थ्रीस्टार पोखरा आएर पुलिससँग पहिलो खेल खेल्यो ।

क्याराभान गोल्डकपसहित छपल्ट उपाधि जितेको पुलिस क्लब चारपल्टको उपाधि विजेता थ्रीस्टारलाई हराएर सेमिफाइनल पुग्यो । एकपछि अर्को गोल्डकपमा आफ्नो दरिलो उपस्थिति जनाएको अफ्रिकी टोलीले पोखराको मैदानमा क्लब फुटबलमा गर्विलो शाख बनाएको पुलिसलाई पराजित गरेर फाइनल सुनिश्चित गर्‍यो ।

अफ्रिकन रुट्स र संकटाबीच फुटबल मैदानमा पहिलोपल्ट भेट हुँदै छ । पुलिस जस्तो सशक्त टिमलाई पराजित गरेर फाइनल यात्रा तय गरेकाले पनि अफ्रिकी टिमका खेलाडीमा मनोबल उच्च देखिन्छ । टिम कप्तान डी सिल्भियोले आफूहरूले पोखरामा पहिलोपल्ट उपाधि उचाल्ने अवसर नगुमाउने बताउँछन् । प्रि–म्याच कन्फ्रेन्समा उनले आफ्नो रणनीतिबारे धेरै चर्चा गरेनन् । बरू मैदानमै उत्रिएपछि रणनीति तय गर्ने बताए ।

संकटाका प्रशिक्षक सल्यान खड्गी उपाधि होडमा कुनै कसर बाँकी नराख्ने दाउमा छन् । अफ्रिकी टिमको खेललाई नजिकबाट नियालेका छन् । भन्छन्, ‘अफ्रिकन रुट्स सशक्त टिम हो तर उपाधि हामी नै उचाल्छौं ।’ उपाधि जित्न आफ्नो टिमले गरेका आन्तरिक तयारी भने उनले सार्वजनिक गरेनन् । ‘अहिले नै सबै कुरा नखोलौं । फाइनलमा पोखरेली दर्शकले हाम्रो खेल प्रत्यक्ष देख्नेछन्,’ उनले भने, ‘दर्शकको साथ पाउने भएकाले पनि हामी उपाधि होडको निकै नजिक पुगेका छौं ।’ संकटाका कप्तान सरोज दाहालले पनि यो अवसर गुम्न नदिने पक्षमा बोले ।

शनिबार पोखरा रंगशालामा हुने फाइनल खेल निकै प्रतिस्पर्धात्मक हुने फुटबल विश्लेषक आनन्द रञ्जित ठान्छन् । ‘अफ्रिकन टोली शारीरिक रूपमा निकै फिट देखिन्छन्,’ उनी भन्छन्, ‘यो पहिला पोखरा आएर खेल्ने जस्तो अफ्रिकन टोली होइन । मैदानमा रणनीति बनाउन पनि निकै खप्पिस छ यो टोली ।’ उनका अनुसार मैदानको हरेक पोजिसनमा खेल्ने खेलाडीको भूमिकासमेत निकै अब्बल छ । उता, संकटा पहिलोपल्ट फाइनलमा पुगेकाले पनि खेलाडीको हौसला उच्च रहेको उनले बताए । रञ्जितले भने, ‘यदि पहिलो गोल संकटाले गर्‍यो भने पासा पल्टिन सक्छ ।’ पूर्व राष्ट्रिय खेलाडी खेम गुरुङले संकटाका लागि फाइनल खेल निकै चुनौतीपूर्ण हुने बताए । फाइनलको यात्रा तय गरेको संकटा भाग्यमानी टोली भएको उनको भनाइ छ ।

‘फाइनल जित्न संकटाको भाग्य बलियो हुनैपर्छ,’ उनी भन्छन्, ‘अफ्रिकन रुट्स धेरै बलियो टिम हो । उसले मैदानमा बनाउने रणनीति पनि निकै राम्रो छ । खेलाडीहरू पनि निकै फिट छन ।’ गोल्डकपमा अफ्रिकन रुट्स पहिलोपल्ट सहभागी हुँदा संकटाको भने छैटौं सहभागिता हो । जारी प्रतियोगितामा बलियो टिमलाई पन्छाएर संकटा फाइनलसम्म पुग्न सफल भयो । विदेशी खेलाडीसमेत समावेश टिम अहिले सन्तुलनमा छ । विदेशी र नेपाली खेलाडीबीचको सन्तुलन संकटाको बलियो पक्ष हो ।

अफ्रिकी टोलीले पोखरा आउनुअघि नारायणगढमा भएको विजय खड्गी स्मृति गोल्डकप फुटबलको फाइनलमा त्रिभुवन आर्मीलाई हराएर उपाधि जितेको थियो । पोखरामा गोल्डकपको प्रतिष्ठालाई बुझेका अफ्रिकी टिमका प्रशिक्षक सिंगे बोरिस उपाधिका लागि कडा मिहिनेत गरिरहेको बताउँछन् ।

प्रकाशित : चैत्र २८, २०७७ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?