आहा ! रारा गोल्डकप शनिबारदेखि, आठ टोलीले उपाधिका लागि स्पर्धा गर्ने- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आहा ! रारा गोल्डकप शनिबारदेखि, आठ टोलीले उपाधिका लागि स्पर्धा गर्ने

रासस

पोखरा — मोफसलको प्रतिष्ठित ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता’ चैत २१ गते शनिबारदेखि सुरु हुने भएको छ । 

आयोजक सहारा क्लब पोखराले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । ‘खेलकूदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकूद पर्यटन शहरका रूपमा स्थापित गरौँ’ भन्ने उद्देश्यसहित आयोजना गरिएको प्रतितयोगितामा एक विदेशीसहित आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष केशवबहादुर थापाले बताए ।

उनका अनुसार प्रतियोगिताको उद्घाटन खेल शनिबार आयोजक सहारा क्लब पोखरा र सशस्त्र प्रहरीको एपिएफ क्लबका बीचमा हुनेछ । प्रतियोगितामा सहारा र एपिएफसहित नेपालका ‘ए’ डिभिजनका क्लबहरु मनाङ मस्र्याङदी, नेपाल पुलिस क्लब, रुस्लान थ्रीस्टार, सङ्कटा क्लब र मच्छिन्द्र क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । विदेशी टोली अफ्रिकन रुट एशोएशन, डउला क्यामरुन सहभागी हुनेछ । प्रतियोगिताको विजेता टोलीले रु १० लाख एक हजार तथा उपविजेताले रु पाँच लाख एक हजारसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी यस वर्षदेखि राजनीतिज्ञ एवं उद्योगपति सूर्यबहादुर केसीको स्मृतिमा प्रतियोगिताका उत्कृष्ट गोलकिपर, डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही रु २५ हजार नगदसहित पुरस्कृत गरिने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान अभिषेकलाई

यस वर्षको ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७७’ सम्मानबाट राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य अभिषेक रिजाललाई पुरस्कृत गरिने भएको छ । राष्ट्रिय टोलीमा रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितका माध्यमबाट देशको नाम चिनाउन सफल भएकामा उनलाई नगद ३५ हजार रुपैयाँ, प्रमाणपत्र र दोसल्लाबाट सम्मान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटनका अवसरमा रिजाललाई सो सम्मान गरिने क्लबले जनाएको छ ।

प्रतियोगिताको आकर्षकका रूपमा रहेको निर्णायक ट्रफी (रेफ्री), वेष्ट अफ फाइभ ट्रफी, मेन अफ दि म्याच ट्रफी, सर्वोत्कृष्ट खेलाडी ट्रफी, फेयर प्ले ट्रफी एवं खेलाडी मेडललगायत म्यान अफ दि म्याच नगद पुरस्कार सहारा युकेले उपलब्ध गराएको छ । पर्यटकीय शहर पोखरालाई ‘स्पोर्टस हब सिटी’का रूपमा परिचित गराउँदै, नवप्रतिभावान फुटबल खेलाडीलाई आफ्नो खेल कौशल प्रदर्शन गर्ने उचित अवसर प्रदान गर्ने लक्ष्यसहित प्रतियोगितालाई निरन्तरता दिइएको क्लबले जनाएको छ ।

क्लबले कोरोना न्यूनीकरणका लागि सरकारबाट निर्देशित मापदण्डको पूर्ण पालना गरिने र गण्डकी प्रदेश खेलकूद परिषद्को सहयोगमा प्रत्येक दिन दर्शकहरुलाई निःशुल्क मास्कको व्यवस्था गरिएको बताइन्छ । सहाराले प्रतियोगिताबाट बचत रकम क्लबबाट सञ्चालित सहारा फुटबल एकेडेमीमा खर्च गर्दै आएको छ । हाल तेस्रो ब्याचको एकेडेमीमा १४ जिल्लाका २४ बालक आश्रित छन् । एकेडेमीमा उनीहरुले निःशुल्क शिक्षा, दिक्षालगायत फुटबल प्रशिक्षण गर्दै आएका छन् ।

प्रकाशित : चैत्र १९, २०७७ १५:४४
प्रतिक्रिया
पठाउनुहोस्

माओवादी केन्द्र र जसपाको कारण नयाँ सरकार निर्माण प्रक्रिया सुरु हुन सकेन : शर्मा

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले माओवादी केन्द्र र जसपाको कारण नयाँ सरकार निर्माणको प्रक्रिया सुरु हुन नसकेको बताएका छन् ।

समसामयिक राजनीतिक घटनाक्रमको सम्बन्धमा न्यूज एजेन्सी नेपाललाई बिहीबार प्रतिक्रिया दिँदै प्रवक्ता शर्माले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता नगरेको र जसपा वर्तमान सरकारलाई विस्थापन गर्ने विषयमा ठोस निर्णयका साथ नआएकोले नयाँ सरकार गठन प्रक्रिया आरम्भ हुन नसकेको बताएका हुन् ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गरेर र जसपा गणितीय रुपमा एकढिक्का भएर उभिएमा मात्रै कांग्रेसको नेतृत्वमा अथवा अरु कसैको नेतृत्वमा सरकार बन्ने अवस्था आउने उनले बताए । उनले भने, ‘माओवादी केन्द्रले सरकारको समर्थनको सन्दर्भमा केही टुङ्गो गर्नुपर्ने हो । कि समर्थन निरन्तर छ भन्ने उहाँहरुले निर्णय गर्नुपर्ने हो । समर्थन फिर्ता छ भने सार्वजनिक मञ्चबाट होइन लिखित रुपमा संसद् सचिवालयमार्फतबाट सूचना जारी गरेर गर्नुपर्ने हो । त्यो परिस्थिति विकास भइसकेपछि स्वाभाविक रुपमा प्रधानमन्त्रीजीले विश्वासको मत लिनुपर्ने हुन्छ । नेपाली कांग्रेसले विश्वासको मत वर्तमान सरकारलाई पक्कै दिनेछैन,’ उनले भने, ‘संसद्‌मा सरकारलाई दिएको समर्थन उहाँहरुले फिर्ता गरिसकेपछि बैठक बसेरै विधिवत् रुपमा यसको निर्णयमा पुग्नेछौं । त्यसपछि विश्वासको मत प्राप्त हुने वर्तमान सरकारको अवस्था भएन भने नयाँ सरकारको लागि ढोका खुल्ने अवस्था हुन्छ ।’

प्रवक्ता शर्माले माओवादी केन्द्रले समर्थन फिर्ता नलिएको र जसपाले गणितीय रुपमा एकढिक्का भएर उभिने संकेत प्रस्ट नगरेको अवस्थामा कांग्रेस प्रधानमन्त्री पदका लागि तयार नरहेको पनि बताए ।

प्रकाशित : चैत्र १९, २०७७ १५:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×