उसुले अवार्ड गर्ने


काठमाडौँ — नेपाल उसु स्वयंसेवक प्रशिक्षक कमिटीले उसु अवार्ड कार्यक्रम गर्ने भएको छ । शनिबार भक्तपुर सूर्यविनायकमा हुने अवार्डमा सान्सौं र थाउलोतर्फ १–१ पुरुष/महिला खेलाडीसहित ४ खेलाडीलाई नगदसहित अवार्ड प्रदान गरिने छ ।
उदीयमान दुई खेलाडी (पुरुष–महिला) ले अवार्ड पाउनेछन् ।उसु अवार्डलाई नागरिक विकास बचत तथा ऋण सहकारी तथा यो–यो बैंक्वेटले प्रायोजन गर्ने भएका छन् । नागरिक विकासका अध्यक्ष नुतम सुब्बा, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा यो–यो सञ्चालक श्रीभक्त कासीछवा र अवार्ड संयोजक राजीव महर्जनले बुधबार सम्झौतापत्रमा हस्ताक्षर गरे । आठौं राष्ट्रिय खेलकुद र १३ औं सागको प्रदर्शनलाई आधार मानी खेलाडी छनोट गरिने संयोजक महर्जनले जानकारी गराए ।
उसुको विकासमा संलग्न रहेका एकजनालाई लाइफटाइम एचिभमेन्ट विधाबाट सम्मानित गरिनेछ । आयोजक कमिटीका संयोजक मन्जुर महर्जनले अवार्डपछि राष्ट्रिय उसु प्रतियोगिता आयोजना गर्ने लक्ष्य बताए ।