कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विराजको भाग्यमानी सन्‍न्‍यास

हिमेश

काठमाडौँ — सबै राम्रा खेलाडीले ठीक समयमा ठीक ढंगले सन्‍न्‍यास लिन पाउँदैनन् । त्यसैले भन्ने गरिन्छ, राम्रा खेलाडीले आफ्नो खेल जीवन त कोर्न सक्छ, तर त्यसको ठीक अन्त्य गर्न सक्दैन ।

विराजको भाग्यमानी सन्‍न्‍यास

केही राम्रा खेलाडी भने केही भाग्यमानी हुन्छन्, जस्तो विराज महर्जन । उनी नेपाली फुटबलका पक्का लिजेन्ड हुन् ।

तिनै विराजले सोमबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्‍न्यास लिएका छन् । त्यसको अर्थ उनले फेरि दोहोर्‍याएर नेपाली राष्ट्रिय टिमबाट खेल्ने छैनन् । केही समय भयो, उनी राष्ट्रिय टिममा नियमित रूपमा पर्न छाडेको । टिममा परे पनि सुरुदेखि खेल्न नपाउने, यस्तोमा उनको कप्तानी पनि गुमिसकेको थियो ।

यस्तोमा विराज चाहन्थे, सन्‍न्यास । त्यो पनि ठूलो माहौलमा । त्यो सम्भावना पनि नहुने डर उत्पन्न भइसकेको थियो । तर अन्तत: भाग्यले उनलाई साथ दिएको छ र भव्य अवसरबीच उनी आफ्नो अन्तर्राष्ट्रिय खेल जीवनमा पूर्णविराम लगाएका छन् । उनी भन्छन्, ‘म अहिले जे जस्तो छु, नेपाली फुटबलकै कारण छु । नेपालका लागि खेल्न पाउनु नै मेरो लागि सबैभन्दा ठूलो उपलब्धि हो ।’

तर नेपाली फुटबलका लागि उनका उपलब्धि वास्तवमै कम्तीका छैनन् । तथ्यांकले बोल्छ, उनी नेपाली फुटबलका सबैभन्दा सफल र लामो समय खेल्ने खेलाडी हुन् । त्यसैले उनी नेपाली फुटबलका लागि लिजेन्ड हुन् । भन्न कर लाग्छ, उनको सन्‍न्‍याससँगै नेपाली फुटबलको एउटा अध्याय टुंगिएको छ ।

थ्री नेसन्स कपमा बंगलादेशविरुद्धको फाइनल खेल उनले नेपालका लागि खेलेको ७३औं प्रतिस्पर्धा रह्यो । उनी सब्स्टिच्युट खेलाडीका रूपमा ९०औं मिनेटमा मैदानमा प्रवेश गरे ।

सन् २००८ मा उनले नेपालका लागि पहिलो पल्ट खेलेका थिए, पोखरामा भएको पाकिस्तानविरुद्धको इन्टरनेसनल फ्रेन्ड्लीमा । उनले राजु शाक्यको नाममा रहेको ६८ क्यापलाई उछिनेर नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बने । उनको यो कीर्तिमान चाँडै भंग हुने छैन ।

उनी राम्रा खेलाडी थिएनन् भने यति धेरै खेल्न पाउने पनि थिएनन् । उनले कुल १८ पल्ट कप्तानी गरे । भारतको केरलमा सन् २०१५ भएको साफ च्याम्पियनसिपमा भारतविरुद्धको खेलमा उनले पहिलोपल्ट कप्तानी गरेका थिए । उनले यसपल्टको फाइनल अगाडि अन्तिम पटक सन् २०१९ मा मलेसियाविरुद्ध मैत्री खेल खेलेका थिए । एन्फा एकेडेमीको दोस्रो ब्याचका यी खेलाडीले थ्री स्टार, मनाङ मर्स्याङ्दीका लागि तीन पल्ट लिग जिते, यो पनि कम्तीको उपलब्धि होइन ।

त्योभन्दा ठूलो उपलब्धि भने नेपालले उनकै उनकै नेतृत्वमा सन् २०१६ मा बंगबन्धु गोल्डकप र सोलिडारिटी कप जित्नु हो । त्यति मात्र होइन्, उनकै नेतृत्वमा नेपालले १२ औं दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलमा स्वर्ण पनि जितेको थियो ।

यो उपलब्धि पनि सन् २०१६ मै प्राप्त भएको हो । उनी भन्छन्,‘यी उपाधि जित्दाका क्षण वास्तवमै निकै अविश्मरणीय रहे ।’ त्यसमाथि उनले अहिले उत्तिकै सम्झनलायक सन्‍न्यासको अवसर पाएका छन् । आखिरमा भाग्यमानी सावित भए, विराज ।

तस्बिरहरू : अंगद ढकाल/कान्तिपुर

प्रकाशित : चैत्र १६, २०७७ २०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?