कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युरोपेली च्याम्पियन्स लिग : रोनाल्डो र मेसीबिना क्वार्टरफाइनल

एएफपी

पेरिस — लिभरपुलले आरबी लाइप्जिगको चुनौती समाप्त पार्दै बुधबार युरोपेली च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल यात्रा तय गरेको छ । बुडापेस्टमा भएका दोस्रो लेग २–० ले जितेको लिभरपुल समग्रमा ४–० ले अगाडि रह्यो । पहिलो लेगको नतिजा दोहोर्‍याउन लिभरपुलबाट मोहम्मद सलाह र साडियो मानेले चार मिनेट अन्तरमा दुई गोल गरे ।

युरोपेली च्याम्पियन्स लिग : रोनाल्डो र मेसीबिना क्वार्टरफाइनल

जितपछि लिभरपुल युरोपेली सफलताको सम्भावना कायम राख्न सफल रह्यो । आफ्नो घरेलु मैदानमा लगातार ६ खेलको हार बेहोरेर खराब स्थितिमा रहेको योर्गन क्लोपको टिमले घरबाहिर भने सकारात्मक नतिजा निकालिरहेको छ ।

कोभिड–१९ कारण यातायात प्रतिबन्धका कारण लाइप्जिगले आफ्नो घरको खेल हंगेरीको बुडापेस्टस्थित पुस्कास एरिनामा खेलेको थियो । खेलपछि क्लोपले प्रतिक्रिया दिएका छन्, ‘यो प्रदर्शन उत्कृष्ट रह्यो र यत्तिको प्रदर्शन आवश्यक थियो । वास्तवमै हामीले उत्कृष्ट प्रदर्शन गरेका छौं । सम्भवतः यो खेल अझ धेरै अन्तरले जित्नुपर्ने थियो तर हामीले विशेषगरी दोस्रो हाफमा केही राम्रा अवसर गुमायौं ।’ टिमका लागि उत्कृष्ट खेलेका फाबिन्होको पनि क्लोपले खुलेर प्रशंसा गरे ।

ब्राजिली २७ वर्षीय फाबिन्होले चोटग्रस्त भर्जिल भान डाइक र जोए गोमेजको अनुपस्थितिमा सेन्ट्रल ब्याकको भूमिका निभाइरहेका छन् । आफू स्वयं पूर्णतः फिट नभएर पनि उनल टिमका लागि डिफेन्समा मुख्य भूमिका निभाइरहेका छन् । त्यसैले क्लोपले फाबिन्हो नम्बर ६ खेलाडीका रूपमा विश्व फुटबलकै सबैभन्दा उत्कृष्ट रहेको दाबी गरे ।

पीएसजी–बार्सिलोना

स्पेनी महारथी बार्सिलोना भने प्रतियोगिताबाट बाहिरिएको छ । क्याटलन क्लबलाई फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्तब्ध पार्दै अन्तिम आठको यात्रा तय गरेको छ । दोस्रो लेगमा १–१ को बराबरीमा टुंगिएपछि बार्सिलोनाको चुनौती समाप्त भएको हो । पेरिसमा भएको खेलमा पीएसजीले केलियन एमबाप्पेको गोलमा अग्रता लिएपछि बार्सिलोनाको तर्फबाट लियोनल मेसीले एक गोल फर्काएका थिए ।

मेसी पेनाल्टीमा अर्को गोल गर्न भने चुके । उनको पेनाल्टी छपल्टका गोल्डेन बल विजेता गोलकिपर केलर नाभासले रोकेका थिए । यो नतिजापछि पीएसजी समग्रमा ५–२ ले अगाडि रह्यो । बार्सिलोना पहिलो लेगमा आफ्नै भूमिमा ४–१ ले पराजित रहनु नै टिमका लागि प्रतियोगिताबाट बाहिरिनुको मुख्य कारण रह्यो । खेलपछि बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले मेसीको बार्सिलोनामा अझै पनि पर्याप्त सम्भावना भएको बताए । उनले भनेका छन्, ‘मेसी हाम्रा लागि अझै उत्तिकै महत्त्वपूर्ण खेलाडी हुन् ।’

सन् २००५ पछि पहिलोपल्ट च्याम्पियन्स लिग क्वाटरफाइनलमा मेसी र उनका निकट प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डो हुने छैनन् । रोनाल्डोको टिम युभेन्ट्स पनि मंगलबार प्रतियोगिताबाट बाहिरिइसकेको छ ।

प्रकाशित : फाल्गुन २८, २०७७ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?