कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सन्दीपको बलमा सोमपालको ४ छक्का

काठमाडौं मेयर कप राष्ट्रिय क्रिकेट
कुशल तिमल्सिना

काठमाडौँ — सोमपाल कामीको विष्फोटक अर्धशतक सहयोगमा त्रिभुवन आर्मी क्लबले काठमाडौं मेयर कप राष्ट्रिय क्रिकेटमा पहिलो जित आत्मसाथ गरेको छ । यसअघि एपीएफसँग १ विकेटले हारेको आर्मीले काठमाडौं मेयर–११ माथि ५ विकेटको आरामदायी जितसँगै पुनरागमन गरेको छ । 

सन्दीपको बलमा सोमपालको ४ छक्का

अघिल्लो महिना राष्ट्रिय एकदिवसीय प्रधानमन्त्री कप विजेता आर्मीले सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा काठमाडौंले दिएको १ सय ५५ रनको लक्ष्य कप्तान विनोद भण्डारीको विजयी चौकासँगै २३.५ ओभरमा भेट्टायो ।

ओपनिङ गरेका सोमपालले ५१ बलमा ८० रनको सानदार इनिङ्स खेले । म्यान अफ द म्याच उनले १८ औं ओभरको अन्तिममा सन्दीप लामिछानेबाट लङअफमा क्याचआउट हुनुअघि ९ चौका र ६ छक्का प्रहार गरे । सन्दीपको बलमा मात्र सोमपालले ४ छक्का प्रहार गरेका थिए ।

‘सन्दीप निकै नै उच्चस्तरका बलर हुन् । उनको बलमा रक्षात्मक खेल्दा हामीलाई गाह्रो हुन्थ्यो । त्यसैले उनको बलमा आक्रामक खेल्ने प्रयास गरेको थिएँ, ब्याटमा बल लागिरहेको थियो, त्यसैले अन्य बलरसँग खेल्दा पनि सजिलो भयो,’ सन्दीपबारे खेल्ने रणनीति सोमपालले खेलपछि सुनाए ।

पहिलो खेलमा एपीएफसँग २८ रन बनाएका सोमपालले शीर्षक्रममा आफूलाई बलियो दाबेदारका रूपमा प्रस्तुत गरेका छन् । टिमको योजनाअनुसार नै आफूले ओपनिङ गरेको उनले बताए । ‘नयाँ प्रशिक्षक (डेभ ह्वाटमोर) आएसँगै उहाँले ब्याटिङमा केन्द्रित गर्नुभएको छ । उहाँमातहतमा मैले आफूलाई आत्मविश्वासी पाएको छु । अस्ति र आजको इनिङ्समा मेरो प्रदर्शन उहाँकै मार्गदर्शनको नतिजा हो,’ सोमपालले भने, ‘हामीले टिममा पनि सल्लाह गर्‍यौं । ओपनिङ गर्न म आफैंले चाहेको हुँ ।’ तीव्र गतिका बलरमा राष्ट्रिय टोलीमा रहेका सोमपालले आफू अलराउन्डरका रूपमा जिम्मेवारी बहन गर्ने तयारीमा रहेको स्वीकारे ।

सोमपालले एउटा एन्डबाट उत्कृष्ट ब्याटिङ गरे पनि अर्को एन्डबाट विकेट झरिरह्यो । अर्का ओपनर लोकेश बमले १ रनमात्र बनाउन सके । भीम सार्कीले १६ रन बनाउँदा रोहित पौडेल खाता खोल्न नपाउँदै अनिल खरेलको एलबीडब्लू धरापमा परे । कुशल मल्लले २३ बलमा २३ रन बनाए । कप्तान विनोद भण्डारी २० र राजेश पुलामी ८ रनमा अविजित रहे । काठमाडौंका सन्दीप र विपिन खत्रीले २–२ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको काठमाडौं मेयरले ४२.१ ओभरमा अलआउट हुँदै १ सय ५५ रनस्कोर खडा गरेको थियो । खडक बोहरा (१९) र हरिशंकर साह (१८) ले पहिलो विकेटमा ४८ रनको साझेदारी गरी राम्रो सुरुआत दिलाएका थिए । त्यसपछि लगातार विकेट झर्दा १४.४ ओभरमै काठमाडौं ६५–४ को कठिन स्थितिमा पुगिसकेको थियो । यसबीच विपिन रावल ६ रनमा आउट भए भने सिद्धान्त लोहनीले खाता खोल्न सकेनन् ।

सन्दीप रजाली र सौरभ खनालबीच पाँचौं विकेटमा ६६ रनको ठोस साझेदारी रह्यो । ३४ औं ओभरमा सौरभ ४२ रनमा आउट हुँदा काठमाडौंले १ सय ३१ रन जोडेको थियो । स्कोर बोर्डमा २४ रन थप्दा काठमाडौंले बाँकी ५ विकेट गुमायो । सम्हालिएर ब्याटिङ गरेका सन्दीप रजालीले ३७ रन बनाए । सन्दीप लामिछानेले १३ रन बनाउनुबाहेक पुछारकाले खाता खोल्नै सकेनन् । काठमाडौंका ५ ब्याट्सम्यान शून्यमै पेविलियन फर्किए ।

काठमाडौंलाई सस्तैमा समेट्नेक्रममा आर्मीका शाहब आलमको प्रदर्शन उत्कृष्ट रह्यो । उनले १० ओभरमा १ मेडन राख्दै ३९ रन खर्चेर ४ विकेट लिए । जितेन्द्र मुखियाले ३ विकेट लिए । उनले १० ओभरमा ३ मेडन राख्दै ३८ रन खर्चिए । सोमपाल कामी र विक्रम सोबले १–१ विकेट बाँडे ।

मूलपानी मैदानमा आइतबार वाग्मती प्रदेशमाथि ९४ रनको सानदार जित पाएको काठमाडौंले त्रिवि मैदानमा अपेक्षाकृत खेल्न सकेन । कप्तान सन्दीप लामिछानेले ठूलो साझेदारी हुन नसक्दा धेरै रन बनाउन नसकिएको स्वीकारे । ‘हिजोको खेलमा अन्तिमक्रमका ब्याट्सम्यानको राम्रो प्रदर्शन थियो र हामीले राम्रो स्कोर गरेका थियौं । आज ओपनिङ राम्रो हुँदा पनि मध्यक्रममा ठूलो साझेदारी हुन सकेन,’ कप्तान सन्दीपले भने, ‘सायद हाम्रो कमजोरी यहीं रह्यो कि ब्याट्सम्यानहरूले जिम्मेवारी पूरा गर्न सकेनन् ।’

प्रकाशित : फाल्गुन २५, २०७७ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?