कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

आर्मीमाथि एपीएफको पुनरागमन

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं मेयर कप राष्ट्रिय एकदिवसीय क्रिकेटको उद्घाटन खेलमा एपीएफ क्लबले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मीमाथि १ विकेटको रोमाञ्चक जित हासिल गरेको छ ।

८७–६ को खराब स्थितिबाट उकासिएको एपीएफले २ सय ३६ रनको लक्ष्य पूरा गरेको हो । कीर्तिपुरस्थित त्रिवि मैदानमा शीर्षक्रमका ब्याट्सम्यान असफल रहेको एपीएफका लागि सुमित महर्जन र वसन्त रेग्मीले ठोस साझेदारीमा जितको आधार तय गरे । यी दुईले सातौं विकेटमा ७१ रनको साझेदारी गरेका थिए ।

सुमित ७८ बलमा ८ चौकासहित ६० रनको स्कोरमा आउट भएपछि आएका अमरसिंह राउटेलासँग वसन्तले आठौं विकेटमा ६५ रनको साझेदारी गरे । अमरले ३१ बलमा ४ छक्का र १ चौकासहित ३८ रन बनाए । ४९ औं ओभरको अन्तिम बलमा वसन्त (४९) आउट हुँदा एपीएफ २२९–९ को स्थितिमा थियो । अन्तिम विकेटका रूपमा क्रिजमा पुगेका अविनाश बोहराले एक छक्का र १ रन प्रहार गर्दा एपीएफले दुई बलअगावै खेल जित्यो ।

यसअघि सुरुआती ब्याट्सम्यानहरू सुवास खकुरेल ४ र आशिफ शेख १२ रनमा आउट भए । कप्तान शरद भेषावकर र युवा ब्याट्सम्यान सन्दीप जोराले खाता खोल्न नसक्दा एपीएफ सुरुमै दबाबमा आयो । शंकर रानाले ३३ रन बटुले । ‘पिच नराम्रो थिएन, रन बनिरहेको थियो । क्रिजमा गएपछि अर्को एन्डका ब्याट्सम्यानसँग संयमित खेल्न भनिरहेको थिएँ । हामीलाई जसरी पनि खेल अन्तिम ओभरसम्म पुर्‍याउनु थियो,’ एक विकेटसमेत लिएका म्यान अफ द म्याच वसन्तले भने, ‘सुरुमै धेरै विकेट जाँदा हामीलाई अप्ठेरो परेको हो । सुमित र अमरले राम्रो खेले ।’

टस हारेर ब्याटिङ गरेको आर्मीका लागि रोहित पौडेलले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ७८ बलमा ३ चौका प्रहार गरे । ओपनिङ गरेका सोमपाल कामी र लोकेश बमले पहिलो विकेटमा ६१ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिए । सोमपाल २८ र लोकेश ३० रनमा आउट भए । भीम सार्कीले १८ रन जोडे । कप्तान विनोद भण्डारीले ४२ रन बनाउनुबाहेक अन्यको प्रदर्शन उल्लेखनीय रहेन । पुछारक्रमका ब्याट्सम्यानहरू टिक्नै सकेनन् । अन्तिम ओभरमा ४ विकेट गुमाएर आर्मी २ सय ३५ रनमा अलआउट भएको हो । त्यसमध्ये तीन विकेट अविनाश बोहराको नाममा थियो । अमरसिंह र भुवन कार्कीले २–२ विकेट लिए ।

गत महिना प्रधानमन्त्री कपको फाइनलमा एपीएफलाई हराउँदै आर्मीले उपाधि जितेको थियो । जितपछि टोलीमा सकारात्मक प्रभाव परेको कप्तान शरद भेषावकरले बताए । ‘आर्मी प्रतियोगिताकै उत्कृष्टमध्ये एक हो । उनीहरूलाई जितेर हाम्रा खेलाडीमा सकारात्मक उर्जा सञ्चार भएको छ र यसले बाँकी खेलमा राम्रो गर्नेछ,’ उनले भने । आर्मीमाथिको जितलाई उनले एपीएफको उत्कृष्ट पुनरागमन भनेका छन् ।

आर्मीका कप्तान विनोद भण्डारीले बलरहरू हतारमा रहँदा जित नजिक पुगेर हार्नुपरेको बताए । ‘सुरुआती १०–१५ ओभरसम्म खेल हाम्रै नियन्त्रणमा थियो । चाँडै खेल सक्ने हतारोमा हामीले हार्नुपरे जस्तो लाग्छ,’ कप्तान विनोदले भने, ‘लिग चरणको पहिलो खेल भएकाले पनि धेरै दबाब नलिएको हुन सक्छ । बाँकी खेलहरू जित्ने प्रयास गर्नेछौं ।’

सानो लक्ष्यमा चुक्यो वाग्मती

मूलपानी मैदानमा भने नेपाल पुलिस क्लबलाई ७२ रनमा अलआउट पारेको वाग्मती प्रदेशले विजय लक्ष्य पूरा गर्न सकेन । कप्तान ज्ञानेन्द्र मल्ल, पूर्वकप्तान पारस खड्का, पृथु बाँस्कोटासम्मिलित वाग्मतीले २ रनको हार बेहोरेको छ ।

शुक्रबार वर्षाले मैदानमा पानी जमेपछि ३८ ओभरमा छोट्याएर ढिला सुरु गरिएको खेलमा पुलिसले टस जितेर ब्याटिङ गरेको थियो । युवा लेग स्पिनर आरियो पौडेल र नन्दन यादवले ७ विकेट बाँडेपछि पुलिसले एकपछि अर्को विकेट गुमाइरह्यो । पुलिसका मन्जित श्रेष्ठले सर्वाधिक १५ रन बनाए । उनीबाहेक पुलिसका तीन ब्याट्सम्यान सुनील धमला, अनिल साह र दिलीप नाथले १०–१० रन जोडे । २५.२ ओभरमै अलआउट पार्नुअघि आरियोले ४ ओभरमा १ मेडनसहित ७ रन खर्चेर ४ विकेट लिए । ६.२ ओभर बलिङ गरेका नन्दनले १ मेडन राख्दै १९ रन खर्चेर ३ विकेट लिए । सोनु देवकोटाको नाममा एक विकेट रह्यो ।

जवाफमा वाग्मती २७.२ ओभरमा ७० रनमा अलआउट भयो । ओपनर कप्तान ज्ञानेन्द्र मल्लले २२ र आदिल खानले १० रन बनाए । पारससहित चार ब्याट्सम्यानले खाता खोल्नै सकेनन् । वाग्मतीको इनिङ्स ध्वस्त पार्न म्यान अफ द म्याच पुलिसका दीपेन्द्रसिंह ऐरीले ४ र ललितनारायण राजवंशीले ३ विकेट लिए ।

प्रकाशित : फाल्गुन २३, २०७७ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?