कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हाफ म्याराथनमा अनिश च्याम्पियन

सन्जु पौडेल

तिलोत्तमा — पर्वत फलेवास–२ का अनिश थापा मगरले शनिबार काठमाडौं गेट रोटरी हाफ म्याराथनको उपाधि जितेका छन् । रोटरी क्लब अफ भैरहवाले आयोजना गरेको हाफ म्याराथन (२१ किमि) का १ सय १६ प्रतिस्पर्धीलाई उछिन्दा उनले १ घण्टा ६ मिनेट ३९ सेकेन्डको टाइमिङ निकालेका थिए । 

हाफ म्याराथनमा अनिश च्याम्पियन

३० वर्षीय अनिशको यो जित पहिलो भने होइन । ११ वर्षदेखि भारतीय सेनाको ४८ जेआर गोर्खा राइफलमा कार्यरत उनले घरबिदा आएका बेला प्रतियोगिताहरूमा भाग लिँदै आएका छन् । यसपालि पनि त्यही गरे । ‘सेना भएपछि तालिममा पनि दौडिनुपर्छ,’ उनले भने, ‘यसअघि थुप्रै म्याराथनमा भाग लिइसकेको अनुभव थियो ।’

क्याम्पमा निरन्तर दौडिरहने उनले भारतमै भएका प्रतियोगिताहरूमा भाग लिने गरेको र कुनै न कुनै स्थान हासिल गर्ने गरेको बताए । १ लाख रुपैयाँ पुरस्कार पाएका अनिशले घरपरिवारलाई त्यसैबाट उपहार किनिदिने सुनाए ।

भारतीय सेनामै कार्यरत पाँचथरका दीपक सुहाङ दोस्रो भए । उनले ७५ हजार पाए । ‘अनिश र म सँगै काम गर्छौं सँगै दौडन्छौं,’ उनले भने, ‘हामी दुईमा जो विजेता भए पनि खुसी हुन्छौं ।’

झन्डै १ घण्टा अनिशकै रफ्तारमा दौडिएका दीपकले मांसपेशी दुखाइपछि लयमा निरन्तरता दिन सकेनन् । उनले १ घण्टा ८ मिनेट २५ सेकेन्ड लगाए । ८ वर्षदेखि भारतीय सेनामा कार्यरत उनी सन् २०१७ मा भारतमा सम्पन्न अन्तर्राष्ट्रिय हाफ म्याराथनमा दोस्रो भएका थिए । विदामा घर आउँदा म्याराथनमा सहभागिता जनाउने गरेको उनले बताए ।

यी दुईभन्दा फरक धावक किरण बोगटी तेस्रो भए । १ घण्टा ९ मिनेट ९ सेकेन्डमा दौड पूरा गरेका उनी १३ औं सागमा म्याराथनका स्वर्णधारी हुन् । एपीएफका उनले दुई महिनाअघि ढाका म्याराथनमा सहभागिता जनाएका थिए । किरणले हाफ म्याराथनको अनुभव बटुल्न बुटवल आएको बताए । ‘एउटा लामो दौडपछि कम्तीमा ५ महिना आराम चाहिन्छ,’ उनले भने, ‘४२ किलोमिटर दौडने स्पिड र २१ किलोमिटरको स्पिड नै फरक हुन्छ । दौडनुअघि नै आफूभन्दा हाफ म्याराथनमा भाग लिइरहने प्रतिद्वन्दी रहेको जानकारी भएकाले हार्नुमा पीडा भएन ।’ उनी हाफ म्याराथनमा दौडिएको दोस्रो पटकमात्र हो । राजधानीमा हुने म्याराथनबारे स्थानीय र सडकमा हिँड्ने नागरिकलाई वास्तै नहुने बताएका किरणले स्थानीयको उल्लेख्य सहभागिताले अन्य सहरका म्याराथन दौडनुमा बेग्लै मजा आउने अनुभव सुनाए ।

प्रतियोगिता खुला भए पनि महिलालाई प्रोत्साहन गर्न विजेता घोषणा गरिएको थियो । कपिलवस्तु वाहिनी ५ की दैलेखकी भावना शाही विजेता भइन् । उनले १ घण्टा ३८ मिनेटमा दूरी पार गरिन् । जिल्लास्तरीय रनिङ सिल्ड, क्षेत्रीय प्रतियोगितामा सफलता पाएकी भावनाले दुई वर्षयता जागिर र दौडलाई साथसाथै अगाडि बढाइरहेको बताइन् । पाल्पा गणकी मिनिसा थापा दोस्रो भइन् । उनी यसअघि बुटवलकै हाफ म्याराथनमा तेस्रो भएकी थिइन् । ‘मलाई सानैदेखि दौडेरै नाम कमाउने इच्छा थियो,’ उनले भनिन्, ‘अहिले गणमा सबैभन्दा छिटो दौडने धाविका बनेकी छु । महिला धाविका कम भएकाले निरन्तर प्रयास गरिरहे राम्रो गर्न सक्ने विश्वास छ ।’ बर्दियाकी कल्पना थारु तेस्रो भइन् । सातौं र आठौं राष्ट्रिय खेलकुदमा चौथो र पाँचौं भएकी २२ वर्षीया कल्पनाले डाइट र प्रशिक्षण पाएमा आफूले अझै राम्रो गर्नसक्ने दाबी गरिन् ।

प्रकाशित : फाल्गुन २३, २०७७ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?