कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतको नजर टेस्ट च्याम्पियनसिपको फाइनलतिर

एएफपी

अहमदाबाद — भारत र इंग्ल्यान्ड बिहीबार चौथो टेस्टका लागि मैदान उत्रँदै छन्, जहाँ भएको तेस्रो टेस्ट अझै चर्को विवादको केन्द्र रहेको छ । भारतको नजर हुनेछ, विश्व टेस्ट च्याम्पियनसिपको फाइनल पुग्ने ।

भारतको नजर टेस्ट च्याम्पियनसिपको फाइनलतिर

विश्वको सबैभन्दा ठूलो क्रिकेट मैदान रहेको नरेन्द्र मोदी स्टेडियममा सम्पन्न तेस्रो टेस्ट खेलको इतिहासमै सबैभन्दा छोटोमध्ये एक रह्यो । दुई दिनमै खेल सकिएको थियो । यो नतिजाका कारण भारत चार टेस्टको शृंखलामा २–१ ले अगाडि छ ।

त्यो हारले जहाँ इंग्ल्यान्डको फाइनल खेल्ने सम्भावना समाप्त भएको थियो, त्यहीं भारतमाथि के पनि आरोप लाग्यो भने त्यहाँको पिच स्पिनरलाई निकै मदत गर्ने खालको थियो अनि यो माथिल्लो दर्जाको पनि रहेन । त्यही पिचमा इंग्लिस कप्तान जो रुटले असाधारण ५ विकेटको प्रदर्शन गरे, त्यसमा ८ रनमात्र खर्चे । खासमा रुट पार्टटाइमर स्पिनर न हुन् । दिवारात्रि त्यो टेस्ट ८ सय ४२ बलमात्र टिकेको थियो । सन् १९३५ यता यो सबैभन्दा छोटो टेस्ट रह्यो ।

इंग्ल्यान्डका केही पुराना खेलाडीले पिचलाई लिएर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जवाफ दिनुपर्ने भनिरहेका छन् । उनीहरू के पनि भन्छन् भने भारतीय क्रिकेट बोर्ड धनी र शक्तिशाली दुवै छ, त्यसैले भारतले यस्तो खराब पिच बनायो । तर वेस्ट इन्डिजका महान् खेलाडी भिभ रिचर्डस मान्छन्, इंग्ल्यान्डले हारलाई लिएर धेरै कराइरहनु ठीक छैन, बरू इंग्ल्यान्डले स्थितिअनुसार आफूलाई ढालेको भए हुन्थ्यो ।

इंग्ल्यान्ड टिम आफैंले भने सबै विवादलाई लिएर धेरै बोलेको छैन । टिमका बलिङ प्रशिक्षक जितेन पटेलले भारतीय स्पिन आक्रमणको उत्तर दिनुपर्ने मात्र भनेका छन् । उनले पत्रकारलाई भनेका छन्, ‘यो टेस्टको पिच स्पिनमैत्री नै हुनेछ । त्यसैले हामीले यसको उत्तर खोज्नुपर्ने हुन्छ । यदि हामीले टस जित्यौं भने पहिले ब्याटिङ गरेर सम्मानजनक स्कोर खडा गर्नुपर्नेछ ।’ स्पिनर ज्याक लिचले पनि पिचबारे मिडियामा मात्र बढी चर्चा भएको दाबी गरेका छन् ।

उनी मान्छन्, यति चर्चा स्वयं इंग्ल्यान्डको ड्रेसिङ रूममा भएको छैन । उनले भने, ‘अझै शृंखलामा खेल्न बाँकी छ ।’ उनले तीन टेस्टमा १६ विकेट लिइसकेका छन् । न्युजिल्यान्डविरुद्ध हुने पहिलो विश्व टेस्ट च्याम्पियनसिप फाइनलका लागि छनोट हुन भारतलाई यो टेस्ट बराबरी गरे पुग्छ, पराजित भएन हुन्छ । इंग्ल्यान्डले यो टेस्ट जितेमा भने भारतको स्थानमा अस्ट्रेलिया फाइनल पुग्नेछ । उक्त फाइनल जुनमा लर्ड्समा हुनेछ । चौथो टेस्टमा पनि रंगशालाको पूरा क्षमताको आधा ५५ हजारले मात्र प्रवेश पाउनेछन् । गत साता मात्रै तेस्रो टेस्ट सुरु हुनुअगाडि यसको नाम भारतीय प्रधानमन्त्रीको नामबाट जुराइएको थियो ।

भारतीय स्पिनर रविचन्द्रन अश्विन मान्छन्, ‘पिच राम्रो थियो वा थिएन, त्यसको निर्णय कमेन्टेटरहरूले गर्ने होइन ।’ भर्खरै चार सय टेस्ट विकेट लिएका अश्विन प्रश्न गर्छन्, ‘राम्रो पिच कस्तो हुन्छ ? यसको परिभाषा दिने को त ?’ जेहोस् चौथो टेस्टमा लेचलाई स्पिन आक्रमणमा साथ दिन डम बेसले स्थान पाउनेछन् । उनको स्थानमा एक तीव्र गतिका बलर घट्ने छ । भारतका लागि जसप्रित बुमराहले खेल्ने छैनन् । व्यक्तिगत कारण उनलाई टिमबाट बिदा दिइएको छ ।

प्रकाशित : फाल्गुन १९, २०७७ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?