कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘बी’ डिभिजन लिग : खुमलटारको सम्भावना कायमै

कान्तिपुर संवाददाता

काठमाडौँ — खुमलटार युवा क्लबले सहिद स्मारक ‘बी’ डिभजिन लिगमा आइतबार झम्सीखेल युवा क्लबमाथि १–० को जित हात पार्दै माथिल्लो श्रेणीमा उक्ल्निे सम्भावना कायमै राखेको छ ।

‘बी’ डिभिजन लिग : खुमलटारको सम्भावना कायमै

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खुमलटारले आफ्नै क्षेत्रबाट अघि बढाएको बललाई आयुष घलानको पासमा पेनाल्टी क्षेत्रबाट महेश राईले पोस्टको दिशा दिँदै तेस्रो मिनेटमै गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले प्रयास गरे पनि थप गोल गर्न सकेनन् ।

छैटौं जितसँगै खुमलटारले शीर्षस्थानमा रहेको सातदोबाटो समान १९ अंक बनायो । यसमा खुमलटारले आठ र सातदोबाटोले सात खेल खेलेका छन् । अघिल्लो खेलमा खुमलटारमाथि ३–२ को रोमाञ्चक जित निकालेको सातदोबाटो ‘हेड टु हेड’ का आधारमा अगाडि रहेको छ । सातदोबाटो यो लिगको एकमात्र अपराजित टिम पनि हो ।

यसअघि दिनको पहिलो खेलमा मिलन लिम्बूको ह्याट्रिकसँगै ब्वाइज युनियनले नयाँबस्ती युवा क्लबलाई ३–० ले पराजित गर्‍यो ।

मिलनले डिफेन्सबाट खोस्दै अरुण लिम्बूले उपलब्ध गराएको बललाई २१ औं मिनेटमा गोलमा परिणत गर्दै ब्वाइज युनियनलाई अग्रता दिलाएका थिए । विनोद राईले ‘वान भर्सेस वान’ मा प्रहार गरेको बल गोलकिपरले रोकेपछि त्यही ‘रिबाउन्ड’ मा मिलनले पहिलो हाफको इन्ज्युरी समयमा अग्रता दोब्बर बनाए । डिफेन्सले ‘क्लियर’ गर्न नसकेको बललाई ५७ औं मिनेटमा गोलमा रूपान्तर गर्दै उनले ह्याट्रिक पूरा गरेका थिए ।

चौथो स्थानमा यथावत् रहेको ब्वाइज युनियनले चौथो जितसँगै ‘बी’ डिभिजन लिगमा १४ अंक बनायो । नयाँबस्ती ११ अंकसहित पाँचौंमा छ । दर्जन टिमले प्रतिस्पर्धा गरिरहेको लिगमा दुवैले ८–८ खेल खेलेका छन् ।

प्रकाशित : फाल्गुन १६, २०७७ २२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?