फुटबलको फ्रेन्चाइज लिग वैशाखमा- खेलकुद - कान्तिपुर समाचार

फुटबलको फ्रेन्चाइज लिग वैशाखमा

कान्तिपुर संवाददाता

काठमाडौँ — वैशाखको दोस्रो साता नेपाल सुपर लिग (एनएसएल) हुने भएको छ । नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसईएम) को आयोजना र अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा नेपाली फुटबलमा पहिलो पल्ट फ्रेन्चाइज लिग हुन लागेको हो । प्रतियोगिता वैशाख ११ देखि २५ सम्म हुनेछ ।

प्रतियोगिताको पहिलो संस्करण दशरथ रंगशालमा हुनेछ र त्यसमा विभिन्न प्रदेशको सहरका फ्रेन्चाइज टिमले भाग लिनेछन् । प्रतियोगिताबारे सहभागी हुने टिम र त्यसका मालिकबारे अहिले गृहकार्य भइरहेको छ । खेलाडीको चयन भने लिलामीको माध्यमबाट गरिनेछ । त्यसमा नेपालका राष्ट्रिय, घरेलु र अन्य खेलाडीको समूह बनाएर खेलाडी लिलामी हुनेछ ।

यस्तै लिलामीमा विदेशी खेलाडीको अलगै समूहमा हुनेछ । एनएसआईएका अनुसार प्रतियोगितामा छ देखि आठ टिमसम्म हुन सक्नेछ । यस्तै प्रत्येक टिममा २० खेलाडीसम्म हुन सक्नेछ । प्रतियोगितालाई लिएर सोमबार आयोजित पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघको अध्यक्ष कर्माछिरिङ शेर्पाले फ्रेन्चाइज लिगको आयोजनाले नेपाली फुटबल अझ बढी व्यवसायिक हुने दाबी गरे ।

यस्तै आयोजक एनएसआईएमका सीईओ सुदीप शर्माले प्रतियोगिताको मुख्य उद्देश्य फुटबलमा निजी क्षेत्रलाई प्रवेश गराएर यसलाई व्यवसायिक बनाउने रहेको बताए । उनका अनुसार प्रतियोगितालाई भविष्यमा अझ व्यवस्थित र व्यवसायिक बनाइनेछ । प्रतियोगिताको सम्पूर्ण प्राविधिक पक्ष भने एन्फाले हेर्नेछ ।

प्रकाशित : फाल्गुन १०, २०७७ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्

नेकपा दाहाल-नेपाल समूहले ६८ जिल्ला कमिटीमा अध्यक्ष र सचिव टुंगो लगायो

कान्तिपुर संवाददाता

काठमाडौँ — राजनीतिक रुपमा पार्टी विभाजन भएको दुई महिनापछि नेकपाको दाहाल–नेपाल समूहले ६८ जिल्लामा अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।

फागुन १ र २ मा बसेको स्थायी कमिटी बैठकले जिल्ला अध्यक्ष र सचिवको नाम टुंगो लगाउने जिम्मा सचिवालयलाई दिएको थियो । त्यसैअनुसार फागुन ७ गते संगठनात्मक एकतासम्बन्धी आठ बुँदे मापदण्ड एवं आधार तयार पारेको थियो ।

सामान्यतया पार्टी कमिटी तथा जनवर्गिय संगठनका विभिन्न तहमा पदाधिकारी तथा सदस्यहरुमा कमिटीको कूल सदस्य संख्यामा ५०,५० प्रतिशत हुनेगरी मापदण्ड बनाएको थियो ।

त्यसैअनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालको संयुक्त हस्ताक्षरमा फागुन ७ मा जारी परिपत्रमा ६८ जिल्लाका अध्यक्ष र सचिव टुंगो लगाएका हुन् ।

बाँकी जिल्ला र अन्य पदाधिकारी भने अदालतको फैसलापछि टुंगो लगाउने तयारी यो समूहले गरेको छ । नेकपा विभाजनपछि ओली समूहमा लागेका नेताका पद अहिले रिक्त थिए। यसअघि दाहाल नेपाल समूहले पार्टी विभाजनलगत्तै प्रदेश इन्चार्ज भने तोकिसकेको छ ।

हेर्नुहोस् सूची

प्रकाशित : फाल्गुन १०, २०७७ १४:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×