जोकोभिचले जिते नवौंपल्ट अस्ट्रेलियन ओपन- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जोकोभिचले जिते नवौंपल्ट अस्ट्रेलियन ओपन

एएफपी

मेलबर्न — विश्व नम्बर १ खेलाडी नोभाक जोकोभिचले आइतबार कीर्तिमान नवौंपल्ट अस्ट्रेलियन ओपन जितेका छन् । यसका लागि उनले रुसी खेलाडी डानिल मेडभेडेभको चुनौतीलाई मेलबर्न पार्कमा समाप्त पारे ।

तस्बिर: रोयटर्स।

रड लेभर एरेनामा उपस्थिति ७ हजार ४ सय दर्शक अगाडि जोकोभिचले चौथो वरीयताका मेडभेडेभलाई सजिलै ७–५, ६–२ र ६–२ ले पराजित गरेका हुन् । यससँगै रुसी खेलाडीको लगातार २० खेलको जितक्रममा पनि पूर्णविराम लागेको छ ।

जोकोभिचले अस्ट्रेलियन ओपन जितेको यो लगातार तेस्रोपल्ट हो । यस्तै सर्बियाली खेलाडीले जितेको यो १८ औं ग्रान्ड स्लाम उपाधि पनि हो । अब उनी कीर्तिमानी २० ग्रान्ड स्लाम उपाधिबाट दुई सफलता मात्र टाढा छन् ।

उनका दुई प्रमुख प्रतिद्वन्द्वी रोजर फेडेरर र राफेल नाडालले समान २० ग्रान्ड स्लाम उपाधि जितेका छन् । मेडभेडेभ भने आफ्नो पहिलो ग्रान्ड स्लाम उपाधि जित्नबाट फेरि चुके ।

प्रकाशित : फाल्गुन ९, २०७७ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्

उत्तराखण्डको बाढीमा मृत्यु हुने ३१ पुगे

डेढ सयभन्दा बढी अझै बेपत्ता
एएफपी

ऋषिकेश — भारतको उत्तराखण्ड राज्यस्थित चमोली जिल्लामा आइतबार हिमनदी फुटेर आएको बाढीका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको छ । अधिकारीहरुका अनुसार अझै १ सय ५० भन्दा बढी बेपत्ता छन् ।

भारतको उत्तराखण्डस्थित चमोली जिल्लामा आएको बाढीमा परी हराइरहेकाको सोमबार खोजी गरिँदै। तस्बिर : एपी

हिमपहिरोका कारण हिमनदी फुटेपछि आइतबार धौलीगंगा, अलकनन्दालगायत नदीमा पानीको वहाव ह्वात्तै बढेपछि दुइटा विद्युत् आयोजनाका ड्याम भत्केका थिए । धौलीगंगाको बाढीले चमोली जिल्लाको रैनी र तपोवन क्षेत्रमा ठूलो मात्रामा क्षति पुर्‍याएको हो । बाढीका कारण पुल तथा सडक भत्किएका छन् । तपोवन विद्युत् आयोजनाको सुरुङभित्र कम्तीमा ३५ जना कामदार फसेका उद्धारकर्ताहरुले आशंका गरेका छन् ।

स्थानीयवासी ओम अग्रवालले तीव्र गतिको नदीको वहाव पहाड खसेजस्तै देखिएको बताउँदै नदी वरपरको जमिनमा भूकम्प गएझैं अनुभव गरिएको बताए । उत्तराखण्ड सरकारले मंलबारसम्म ३१ जनाको शव निकालिएको जनाएको छ । मृतक तथा बेपत्ता हुनेहरु सबैजसो विद्युत् गृहमा कार्यरत मजदुर भएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उत्तराखण्ड सरकारका अनुसार मंगलबार बिहानैदेखि थप उद्धारकर्मीहरु बाढी प्रभावित क्षेत्रमा खटिएका छन् । अधिकारीहरुका अनुसार तपोवनस्थित जलविद्युत् आयोजना एनटीपीसीको करिब १ हजार ९ सय मिटर लामो सुरुङमा उद्धार कार्य केन्द्रित गरिएको छ । बाढीपछि बेपत्ताहरुको खोजीका लागि सेना, प्रहरी र उद्धारकर्मी खटाइएको छ । उक्त आयोजनाको निर्माण सन् २०२३ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

विश्वव्यापी तापमान वृद्धिको प्रभावका कारण यस क्षेत्रमा हिमनदीका मुहान क्षेत्र बिस्तारै सुक्दै गएका छन् भने जलविद्युत् निर्माणले पनि हिमपहिराहरु बढी नै जान थालेको विज्ञहरुले औंल्याएका छन् । सन् २०१३ मा आएको बाढीले ६ हजार व्यक्तिको ज्यान गएको थियो । उक्त घटनापछि उत्तराखण्डका विकास परियोजनाबारे समीक्षा गरिएको थियो । वातावरणविद्हरुले पछिल्लो घटना जलवायु परिवर्तनका साथै जथाभावी भइरहेका सडक, रेलवे र विद्युत् गृह निर्माणका कारण उत्पन्न भएको बताएका छन् ।

प्रकाशित : माघ २७, २०७७ २२:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×